site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नामकरणले अशान्त कोसी
फाइल तस्बिर।

विराटनगर । कोसी प्रदेश नाम खारेजीको माग राख्दै भएको आन्दोलनका क्रममा निधन भएका पदम लिम्बू ‘लाजेहाङ’को २९ दिनपछि अन्त्येष्टि गरिएको छ । ४२ वर्षीय उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह–कमान्डर थिए ।

शवयात्राका क्रममा झडप भएपछि प्रदेश राजधानी विराटनगर शनिबार दिनभर अशान्त रह्यो । झडपका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी गरी १० जना घाइते भए । 

पहिचानवादीले कोसी प्रदेश मान्न नसकिने जनाउँदै गत पुस १७ गते प्रदेशसभाबाट नाम पारित भएसँगै आन्दोलन चर्काउँदै आएका छन् । यही क्रममा गत चैत ५ गते विराटनगरको रोडशेष चौकमा आन्दोलनकै क्रममा लिम्बू घाइते भएका थिए । मोरङ बेलबारी नगरपालिका घर भएका लिम्बूको चैत १० गते उपचारकै क्रममा निधन भएको थियो ।

धरानस्थित बीपी प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका उनको निधन भएपछि आन्दोलनकारीले २९ दिनसम्म शव उठाएनन् । परिवारसँगकै सरसल्लाहमा शव अस्पतालमै रहेको जनाइएको थियो । आन्दोलनकारीले सहिद घोषणा नहुन्जेल शव नउठाउने अडान लिएका थिए । 

अन्ततः संघीय सरकारले सहिद घोषणा गरेपछि शनिबार कोसी प्रदेशका प्रमुख तीन सहरमा शवयात्रा र श्रद्धान्जलीसभापछि बेलबारीमै लगेर लिम्बूको शवको परम्पराअनुसार अन्त्येष्टि भएको छ ।

लिम्बूको शवयात्राका क्रममा प्रदेश राजधानीमा भने झडप र अश्रुग्यास प्रहार भएको छ । शवयात्रा लिएर राजधानी विराटनगर छिरेका आन्दोलनकारीले रोडशेष चौकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । 

किरात मोर्चाका महासचिव डिल्ली मिभकले भने, “शवयात्रा शान्तिपूर्ण थियो । तर सुरक्षाकर्मीले सडकमा पहिल्यै बेरियर खडा गरेर रोक्दै एक्कासी अश्रुग्यास हानेको हो ।” त्यसक्रममा ८१ सेल अश्रुग्यास प्रहार भएको बताइएको छ । झडप र ढुंगामुढा हुन थालेपछि रोडशेष चौक मध्यान्नपछि रणभूमि जस्तै बनेको थियो ।

बिहानैदेखि विराटनगरमा सुरक्षाव्यवस्था कडा पारिएको थियो । प्रदेशसभा सचिवालय छिर्ने पूर्वतर्फको देवकोटा चौक र पश्चिमतर्फको अस्पताल चौकमा सुरक्षाकर्मीले बेरियर खडा गरी आउजाउ पूर्णतः रोक लगाएका थिए । पहिचानवादीले शवयात्रा प्रदेशसभातर्फसमेत ल्याउने जनाउ दिएका कारण त्यहाँ पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले मुख्यमन्त्री कार्यालय नजिक निषेधाज्ञा तोडेपछि दुवै पक्षबीच झडप भएको बताएका छन् ।

त्यसअघि, आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार भएको प्रहरीको दाबी छ । झडपमा ६ जना प्रहरी र चारजना आन्दोलनकारी घाइते भएका प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको एकजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

यसैबीच, पहिचानसहितको प्रदेश नं १ पुनःनामाङ्कन अभियान समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । अभियानले वैशाख १० गते इटहरीमा विरोधसभा गर्ने र ११ गते प्रदेश राजधानी विराटनगरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तय गरेको छ । 

अभियानका अध्यक्ष डकेन्द्रसिंह थेगिमले भने, “अब हामी थप सशक्त आन्दोलन गर्ने तयारीसाथ अघि बढेका छौँ ।” आइतबार इटहरीबाट यो अभियान सुरु हुने र प्रदेश राजधानी केन्द्रित संघर्षलाई बढाइने थेगिमले बताएका छन् ।

केही दिनअघि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संवैधानिक व्यवस्था र दलहरुबीचको सहमतिकै आधारमा प्रदेश नं १ को नाम कोसी राखिएको र यसको पुनःनामाङ्कन विधि र प्रक्रियाअनुसार मात्र हुनसक्ने बताएका थिए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले भने, “जननिर्वाचित प्रतिनिधिले विधि र प्रक्रियाअनुसार नै नामकरण गरेको र लोकतन्त्रमा आफ्ना माग राख्न पाउने सबैको अधिकार छ । हामीले दलहरुको सहमति र संवैधानिक व्यवथाअनुसार नै नाम राखेका हौं ।”

नामकरणपछि मुख्यमन्त्री चढेको गाढीमाथि ओखलढुंगामा आक्रमण गर्नेदेखि स्थानीय तहका काममा समेत आन्दोलनकारीले अवरोध गर्दै आएका छन् । स्थानीय तहका बोर्ड राख्न नदिने, कालो पोतिदिने र सरकारी कामकाजसमेत पुरानै नाम प्रदेश नं १ को आधारमा गर्न पहिचानवादीले दवाव दिँदै आएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro