एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म
(नियात्रासंग्रह : शरद निरोला)
शरद निरोला मूलतः आख्यानकार हुन् । तीसको दशकअघि नै उनका केही जासुसी उपन्यासहरू प्रकाशित भइसकेका छन् । हिन्दी, अंग्रेजी जासुसी उपन्यासको जालोले पाठकलाई जकडेको समय थियो त्यो । त्यति नै बेला नेपाली जासुसी उपन्यासले पाठकको मन जितेको थियो । तिनै लेखकमा पर्थे निरोला ।
पाताल प्रवेशपछि.उनले जासुसी उपन्यास लेख्न छाडे । कहिले कविता त कहिले अरू केही भने लेखिरहे । त्यसैको परिणाम हो, उनको पछिल्लो नियात्राकृति ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’ ।
कृतिभित्र भूमिकामा नियात्राकार पवन आलोक लेख्छन्, “नियात्राकार शरद निरोलाको प्रस्तुत कृतिका नियात्राहरू बडो रोचक छन् । आफ्ना निजात्मक अनुभूतिहरूको सरल र रोचक प्रस्तुतिले उनको सिर्जनात्मक क्षमताको राम्रै परिचय दिन्छ । पढ्न सुरु गरेपछि नसिध्याइ छाड्न मन लाग्दैन ।...।”
कृतिकार निरोला आफ्ना कुरामा लेख्छन्, “उनन्तीस वर्षको अमेरिका बसाइको दौरानमा मैले यस देशका धेरै राज्य (हाम्रोतिर प्रदेश) हरूको भ्रमण गरेँ । प्रत्येक भ्रमणमा भ्रमणित स्थानको सौन्दर्य एवम् वैशिष्ट्यले मनमा गहिरो छाप पारे । ती भ्रमणसम्बन्धी आफ्ना गहन अनुभूतिहरू कविताका रूपमा व्यक्त गर्न असम्भव नभए पनि कठिन थियो । त्यसैले सोचेँ– सुषुप्त रहेको मेरो औपन्यासिक क्षमता नियात्रात्मक लेखनका रूपमा किन उजागर नगर्ने ?...।”
नेपालमा रहँदा पत्रकारितामा समेत क्रियाशील निरोला विभिन्न अंगे्रजी पत्रिकाहरूमा आबद्ध थिए ।
यस कृतिमा निरोलाका १६ नियात्रा समेटिएको छ । ‘हनुमानजी र स्यान्टा फेको सेरोफेरो’मा उनले लेखेका छन्, “भोलिपल्ट बे्रकफास्ट गर्दैगर्दा मदन दाइले भने— अब यो ग्यालपमा दर्शनीय स्थल भनेको केही छैन । बरु राजधानी स्यान्टा फे पो जाने हो कि ! बाटोमा ताओस भन्ने ठाउँ पर्छ जहाँ हनुमानजीको प्रसिद्ध मन्दिर छ । त्यो पनि हेर्दै जान सकिन्छ ।” (पृष्ठ—१२६)
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित १६४+४ पृष्ठको यस पुस्तकको मूल्य ४५०– रुपैयाँ राखिएको छ ।
०००
नारायणमान श्रेष्ठ इतिवृत्त
(जीवनी : बसन्त श्रेष्ठ)
कवि बसन्त श्रेष्ठले अमेरिकामा बसेर कविता, संस्मरण विधामा निरन्तर कलम चलाइरहेका छन् । मूलतः कविता लेख्ने उनका यसअघि चार कवितासंग्रह प्रकाशति छन् । उनै कवि श्रेष्ठको पछिल्लो कृति हो, ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ ।
तेह्रथुमको म्याङलुङ बजारको उत्थान र त्यहाँको शैक्षिक विकासमा जीवन सुम्पिएका नारायणमान श्रेष्ठ कवि बसन्तका पिता हुन् । उनले आफ्ना पिताले समाजसेवाका माध्यमबाट फैलाएको सुकीर्तिलाई यस कृतिमा प्रस्तुत गरेका छन् ।
बसन्त पुस्तकभित्र ‘मेरो भन्नुपर्ने कुरा’मा लेख्छन्, “यस पुस्तकमा समावेश गरिएका अधिकांश कागजात र दस्तावेजहरू करिब ७० वर्षभन्दा पहिलेको भएको कारणले धेरैजसो धमिराले खाएको र पढ्न असुविधा हुनजाने कुरामा दुईमत भएन । तर, ऐतिहासिक दस्तावेज भएका कारणले र त्यसले भन्न चाहेको र खोजेको आशय र कारण बुझ्न सकिने भएकाले पनि यहाँ राख्न उचित ठहर्याएँ ।”
पुस्तक प्रकाशन संस्थाका तर्फबाट कवि विश्वविमोहन श्रेष्ठ कृतिभित्र लेख्छन्, “...यस कृतिमा उहाँले आफ्ना समादरणीय पिताजीले आफ्नो जीवनकालमा म्याङलुङ बजारको विकास र समृद्धिका लागि गर्नुभएको यावत् सुकार्यहरूको सप्रमाण विवेचना गर्नुभएको छ । यस हिसाबले यस कृतिलाई ‘ग्रन्थ’को रूपमा स्वीकार गर्दै निकै लामो खोज र संकलनपछि तयार गर्नुभएको एक संग्रहणीय दस्तावेज अर्थात् इतिहास पनि मान्न सकिन्छ ।”
यस ग्रन्थभित्र एघार अध्यायमा नारायणमान श्रेष्ठका कर्मगाथा प्रस्तुत गरिएको छ ।
कृतिभित्र लेखक लेख्छन्, “करिब दुई वर्ष राजधानी काठमाडौं सहर मात्र होइन आफ्नो ससुराली सहर अनि अरू सरकारी कामको उच्च सम्भावना हुँदाहुँदै पनि विकट गाउँमा गएर आफूले स्थापना गरेको स्कुलमा नै अध्यापन गर्न तेह्रथुम फर्कनु भयो ।...।” (पृष्ठ—५३)
एपेक नेपालद्वारा प्रकाशित २५८+४ पृष्ठको यस ग्रन्थको मूल्य ५००– रुपैयाँ राखिएको छ ।
०००
मृतसागरमा तैरिँदा
(नियात्रासंग्रह : डा. सदानन्द कडेल)
डा. सदानन्द कडेलको पहिलो कृतिका रूपमा पाठकमाझ आएको पुस्तक हो, ‘मृतसागरमा तैरिँदा’ । केही महिनाअघि सार्वजनिक यस कृतिमा लेखक डा. कडेलले स्वदेश तथा विदेशमा गरेका भ्रमणहरूलाई नियात्राका रूपमा लिपिबद्ध गरेका छन् ।
लेखकीयमा डा. कडेल लेख्छन्, “घनघस्याको उकालो’ले आफूमा अमिट छाप त पारेकै थियो । नियात्राप्रतिको बढ्दो पाठकमोह पनि देखेपछि मैले एउटा नियात्रा लेखेँ— ‘प्रशान्त महासागरको डुबुल्की’ । नियात्रा नै बन्यो कि अर्कै केही भयो, त्यो पनि मलाई यकिन थिएन ।...।”
नियात्राकार पवन आलोक कृतिको भूमिकामा लेख्छन्, “यसरी हेर्दा सदानन्दजीका प्रस्तुत नियात्राहरूमा यात्रा विवरण मात्र नभएर उहाँका भावना र अनुभूतिहरू प्रशस्तै पाइन्छन् । उहाँका यी रचनामा प्रस्तुत बडो सरल र सुन्दर प्रस्तुतिले पाठकहरूलाई मज्जाले तान्छन् र नियात्राकारसँगै आफू पनि यात्रा गरिरहेको अनुभव गर्दछन् ।...।”
कृतिभित्र डा. कडेलका स्वदेशमा गरिएका नौ र विदेशका बाह्र गरी कुल २१ नियात्रा समावेश छ ।
‘प्रशान्त महासागरको डुबुल्की’मा उनी लेख्छन्, “अहिलेजस्तो भिडियो खिच्न मिल्ने मोबाइल फोन थिएन त्यति बेला । साथमा भएको एउटा फुच्चे क्यामेराले तस्बिर पनि राम्रो खिच्न सकेन । त्यसैले कतिपय कुराहरूलाई नजरले कैद गरेर स्मृतिको ‘हार्ड डिस्क’मा पठाउनु तथा डायरीको पानामा पनि लिपिबद्ध गर्नुबाहेक मसँग अरू कुनै उपाय बाँकी थिएन ।...।” (पृष्ठ—१३३)
नेपाल स्रष्टा समाजद्वारा प्रकाशित २२२+४ पृष्ठको यस नियात्रा कृतिको मूल्य २५१– रुपैयाँ राखिएको छ ।