site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
व्यापार–व्यवसायबाट ‘डेलिभरी’ राजनीतितर्फ लिमा

डिपार्टमेन्टल स्टोरबाहिर घाममा उभिन्थिन् । पर्चा बाँड्थिन् । १५ दिनमा मोटोपना घटाइदिने भन्दै सेवाग्राही खोज्न तल्लीन रहन्थिन् ।

तिनै लिमा अधिकारी अहिले सफल व्यवसायीका रूपमा परिचित छन् । ६ सेपअप स्लिमिङ र झम्सीखेलमा वेलनेस थेरापी चलाइरहेकी छन् । ५० हजारभन्दा बढी व्यक्तिलाई फिटनेस र मानसिक स्वास्थ्य सेवा दिइसकेकी छन् । उनी निफ्रा बैंकको डाइरेक्टर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पनि हुन् ।

२२ वर्षदेखि व्यापार–व्यवसायमा संलग्न लिमासँग व्यावसायिक तथा राजनीतिक पृष्ठभूमि बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ ।  

Dabur Nepal
NIC Asia

उनी तत्कालीन उपप्रधान एवं अर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी सुपुत्री र तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीकी भतिजी हुन् ।

प्रतिष्ठित उद्योगपति एवम् पूर्वसांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदीप आचार्यकी श्रीमती हुन् ।

लिमा राजनीतिक घरानामा हुर्किइन् । आचार्यसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यावसायिक क्षेत्रमा जोडिइन् । उनी नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य पनि हुन् ।

कम्युनिस्ट माहोलमा बाल्यकाल

भरतमोहन अधिकारी र सविता अधिकारीकी माइली छोरी हुन्, लिमा । उनका एक दिदी र बहिनी छन् । आफू सानो हुँदा बुवाले विराटनगरमा राजनीतिसँगै वकालत पनि गर्ने गरेको उनलाई सम्झना छ । आमा शिक्षिका थिइन् । त्यति बेला राजनीति गरेर पैसा कमाउने सोच हुँदैन थियो । त्यसैले तीन छोरी हुर्काउन भरतमोहनले वकालतको कामलाई निरन्तरता दिएका थिए ।

वाम मोर्चा गठन गर्ने क्रममा ‘अन्डरग्राउन्ड’ कम्युनिस्ट नेताहरूलाई भेट्न भरतमोहन सिलगुढी, सिक्किमसम्म जाने गरेको लिमालाई अझै याद छ । त्यो समय आमाले गरेको दुःख र काम पनि उनले भुलेकी छैनन् । बिहान स्कुलमा पढाउँथिन् ।

८५ वर्षीया हजुरआमा, छोरीहरूका साथमा घरमै व्यावसायिक कुखुरापालन पनि गरेकी थिइन् । घरको सबै जिम्मा उनकी आमा सविताकै थियो ।

०४६ साल फागुन ७ देखि चैत २६ गतेसम्म चलेको आन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली भयो । त्यसपछि लिमाका बुवा र ठूलोबुवा (मनमोहन अधिकारी) गाउँमा चुनाव लड्न गए । जनताले उनीहरूको खुब श्रद्धा गर्थे । उनी अहिलेको राजनीतिक संस्कारबाट भने वाक्कदिक्क भएकी छन् ।

“राजनीति संस्कार बिग्रियो, खाली कमाउ धन्धा मात्रै भयो । पहिलाजस्तो नेताहरूको देश र जनताप्रतिको समर्पण  खोइ त ?,” उनी प्रश्न गर्छिन् । उनी आफैँ भने एमाले त्यागेर रास्वपामा आबद्ध छिन् ।

सानैदेखि व्यापार !

काठमाडौं आएपछि वनस्थली स्कुलमा पढ्न थालिन् । स्कुलकै होस्टेलमा बस्थिन् । दसैँको लामो बिदामा दिदीबहिनीसँगै विराटनगर घरमा जाने मौका जुर्थ्यो । उनीहरू विराटनगरस्थित कालीको मन्दिरमा बिहान ३ बजे नै पुग्थे । त्यहाँ दसैँभरि मेला लाग्थ्यो । किशोरावस्थाकी लिमाको ध्यान मन्दिरबाहिर बेच्न राखिएका खेलौना, पटाकामा हुन्थ्यो ।

उनी दुई रुपैयाँमा ती खेलौना किनेर घर फर्किन्थिन् । घरनजिकै बोरा ओछ्याउँथिन् र ग्राहक बोलाउन थाल्थिन् । दुई रुपैयाँमा किनेर ल्याएको सामान ५० पैसा नाफा खाएर बेच्थिन् ।

५/६ कक्षामा पढ्दा नै व्यापार गरेर पैसा कमाउन सकिन्छ भन्ने सोच आफूमा विकास भइसकेको उनी बताउँछिन् । त्यस बेलाका उनका साथीहरू अहिले भेट्दा भन्छन्, ‘लिमा, तिमी सानैदेखि व्यापारी थियौ है !’ हुन पनि सानैदेखि व्यापारी बन्ने सोच थियो ।

सिद्धार्थ वनस्थलीमा अध्ययन

तीन छोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सोचले नै भरतमोहन र सविताले वनस्थलीमा पढ्न पठाएका थिए । लिमाले छात्रवृत्ति पनि पाइन् । त्यहीँबाट उनले एसएलसी उत्तीर्ण गरिन् ।

“घरबाट टाढा बस्दा जिम्मेवारी महसुस मात्रै होइन, राम्रो परिणाम पनि दिनुपर्छ भन्ने आत्मबल पनि आउने रहेछ,” उनी भन्छिन् ।

भूमिगत कम्युनिस्ट राजनीति गरिरहेका भरतमोहनलाई छोरीहरूको जति माया लागे पनि बर्सौँसम्म भेट हुँदैन थियो । श्रीमान् सँग  सविताले पनि घरपरिवार र दैनिक गुजाराका लागि कहिल्यै गुनासो गरिनन् । आफ्नै सुरमा लागिरहिन् । बुवाआमाको यही संघर्षपूर्ण जीवन देख्दा लिमालाई लाग्थ्यो– राजनीति गर्दिनँ ।

चीनबाट एमबीए

एमबीए पढ्नका लागि छात्रवृत्ति पाएर चीन गइन् । वुहानमा उनी पढ्ने विश्वविद्यालयमा विदेशी विद्यार्थी बस्नका लागि एउटा ठूलो भवन छुट्ट्याइएको थियो ।

त्यो भवनमा उनी एक मात्र केटीमान्छे थिइन् । त्यसमाथि चिनियाँ भाषाको राम्रो ज्ञान नलिईकन जाँदा धेरै गाह्रो भएको अनुभव उनमा छ । त्यहीँ उनले चिनियाँ भाषा सिकिन् । सन् २००२ मा एमबीए सकाएर नेपाल फर्किइन् । लगत्तै उनले नेपाली व्यापारीलाई चिनियाँ भाषा पढाउन थालिन् ।

नेपालमा पहिलोपटक स्लिमिङ सेन्टर

चीनमा प्रायः व्यक्तिहरू ‘स्लिम’ नै हुन्थे । तैपनि, त्यहाँ थुप्रै वेट म्यानेजमेन्ट सेन्टरहरू थिए । चीनमा यो व्यवसाय निकै चलेको देखेर उनले नेपालमा वेट म्यानेजमेन्ट सेन्टर खोलिन् ।

चिनियाँ र एक नेपालीलाई पार्टनर बनाइन् । उनीहरूले काठमाडौं प्लाजामा नेपालमै पहिलोपटक स्लिमिङ सेन्टर खोले । जसलाई सेप अप नाम दिए । अहिले नेपालमा सेप अपका पाँच शाखा छन् ।

सेपअपका सुरुआती दिनहरूमा ग्राहकलाई कन्भिन्स गराउन धेरै गाह्रो भएको अनुभव उनले सुनाइन् । उनी भन्छिन्, “सुरुमा मान्छेलाई सेन्टरभित्र छिराउनै गाह्रो, प्रविधिले घटाउने हुँदा समय लाग्ने । भाटभटेनी, ब्लुबर्डको गेटमा उभिएर सेपअपको पोस्टरहरू बोक्दै १५ दिनमा मोटोपना घटाइदिन्छु भन्दै ग्राहक जम्मा गर्थेँ ।” त्यति बेला पाँच लाख रुपैयाँ लगानी गरेर सेप अप सुरु गरेकी थिइन् ।

अमेरिका पलायन

चीनबाट नेपाल फर्किएको केही महिनामै लिमाको विवाह भयो । वेट लस स्लिम सेन्टर पनि सुरु गरिन् । तर, बिहेलगत्तै पारिवारिक कारणले श्रीमान्सँग अमेरिका जानुपर्‍यो ।

गएको केही समयभित्रै ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले नेपालमा ‘कू’ गरे । अरू नेताहरूसँगै भरतमोहन पनि नजरबन्दमा परे ।

त्यति बेला परिवारले उनीहरूलाई नेपाल आउन रोक्यो । उनले उतै बच्चा जन्माइन् । अमेरिकामै सुदीपले नेपाली कार्पेटको व्यापार थाले । केही वर्ष उनीहरू अमेरिकामै व्यापार–व्यवसाय गरेर बसे ।

नेपाल फर्किएपछि...
माओवादी जनआन्दोलनपछिको चुनावको समयमा दुई छोरीहरू लिएर नेपाल फर्किएका थिए, लिमा र सुदीप । सासूससुराले नेपालमै बस्न भनेपछि उनीहरूले अमेरिका फर्कने मुड बनाएनन् ।

छोटो समयमै उनीहरूको व्यावसायिक यात्राले गति लियो । सुदीपले डिसहोम, कामना सेवा बैंकको जिम्मेवारी सम्हाले । लिमाले पनि सेप अप ट्रेनिङ सेन्टरको शाखा विस्तार गरिन् ।

चेम्बर प्रवेशको कथा

०७४ तिर लिमाको भेट डा. अञ्जना शाक्यसँग भयो । डा. अञ्जना महिला चेम्बरको सभापति भइन् । त्यही रात उनले लिमालाई म्यासेज गरिन्, ‘म महिला चेम्बरको सभापति भएँ, तपाईं पनि चेम्बरमा आबद्ध हुनुपर्‍यो ।’

लिमाले महिला चेम्बरको सदस्यता लिइन् । त्यही क्रममा उनी सचिव हुँदै महासचिव भइन् । महासचिव भएपछि सक्रियता बढ्यो ।

उनको सक्रियतामा महिला चेम्बरको शाखा विकट जिल्लामा पनि विस्तार भयो । महिला उद्यमीका समस्या बुझेर उनीहरूलाई उकास्न चेम्बर लागिपर्‍यो ।

चित्त दुखाइ

लिमा एमालेसम्बद्ध संस्था अखिल नेपाल महिला संघमा आबद्ध थिइन् । पार्टीको सदस्यता पहिले नै लिएकी थिइन् ।

उनी भन्छिन्, “नेपाली जनताले हरेक आन्दोलनमा साथ दिए । कहाँ त्रुटि भयो भने, हरेक आन्दोलनले प्राप्त गरेको उपलब्धि सीमित नेतामा केन्द्रित भए । ठूलो जमातले उपलब्धि उपभोग गर्न पाएन । नेताहरूले ठूलो जमातलाई समेटेर लैजान सकेनन् । राज्य सञ्चालनमा ठूलो तप्का र क्षेत्रको सही प्रतिनिधित्व हुन नसकेको अवस्था छ । फेरि, अहिले राजनीतिलाई नै कमाउने भाँडो बनाइएको छ । परम्परागत पार्टीहरूले आफूले उठाउँदै आएको आवाज आफैँले बन्द गरिदिए ।”

त्यसैले परम्परागत पार्टीमा बसेर सोचेजस्तो काम गर्न नसकिने देखेपछि पार्टी त्यागेको उनी बताउँछिन् ।

भरतमोहन प्रतिष्ठान

०७५ सालमा भरतमोहनको निधन भयो । लिमाले बुवाको स्मृतिमा भरतमोहन प्रतिष्ठान दर्ता गरिन् । त्यहाँबाट ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकी छन् ।

प्रतिष्ठानमा सबै खर्च लिमाले नै व्यहोर्छिन् । अब युवा र महिलालाई पनि सीपमूलक तालिम दिएर प्रतिष्ठानलाई अगाडि बढाउने उनको ‘प्लान’ छ ।

रास्वपामा प्रवेश

सबै सामान आयात गरेर, छोराछोरीलाई विदेश ‘निर्यात’ गरेर देश बन्दैन भन्ने लिमा ठान्छिन् । अर्थतन्त्रलाई ठिक बनाउन बूढा नेताहरूबाट सम्भव पनि देख्दिनन्, उनी । त्यसैले ‘डेलिभरी’ राजनीति गर्नुपर्छ भन्ने सोचका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको लिमा बताउँछिन् ।

प्रवेश गर्नासाथ उनले केन्द्रीय सदस्यको भूमिका पाइन् । परम्परागतबाट आस नभएरै युवा जमात रहेको पार्टीमा संलग्न भएको उनी सुनाउँछिन् ।

लिमा भन्छिन्, “सकेसम्म त बुवा, ठूलोबुवा लागेकै पार्टीबाट केही गरौँ भनेर सोचेको हो । तर, त्यो सम्भावना मैले देखिनँ । त्यही भएर रास्वपा प्रवेश गरेको हुँ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro