काठमाडौं । मिस नेपाल श्रीच्छा प्रधान जो भेटे पनि भनिरहेकी हुन्छिन्– बाहिर जानुस् र लामो सास फेर्नुस् । चराचुरुंगी, जनावर र नदीनालालाई सुनिदिनुस् । “हामी जे गरिरहेका हुन्छौँ, त्यो हामीले होइन, हामी त मात्रै माध्यम हो । सृष्टिको इच्छाविना केही कुरा पनि सम्भव हुँदैन,” उनी भन्छिन् ।
२३ वर्षीया श्रीच्छा जलवायु अभियन्ता समेत हुन् । मिस नेपाल हुनु केही महिनाअघि पढाइ सकेर अमेरिकाबाट नेपाल फर्किएकी हुन् । उनी हँसाउने, जीवजन्तुलाई बुझ्ने र समर्पित तीन शब्दले आफूलाई परिभाषित गर्न रुचाउँछिन् ।
कालीमाटीमा जन्मिएकी श्रीच्छाको बाल्यकाल घरपालुवा कुकुर, खरायो, गाई, चराचुरुंगीको सामीप्यमा बित्यो । घरवरिपरि रुख–बिरुवा पनि टन्नै थिए । श्रीच्छा घरकी एक्लो सन्तान । तर, प्रकृति र जीवजन्तुको सानिध्यले कहिल्यै एक्लो महसुस गरिनन् ।
घर आसपास सानो जंगलजस्तै थियो । मनोरम थियो । सँगैको खोला फोहर देख्दा दिक्क मान्थिन् । बालमानसपटलमा खोलालाई कसरी सफा पार्ने होला भन्ने कौतूहल भइरहन्थ्यो । हजुरबुवा, बुवाले सानोमा त्यही खोलामा पौडी खेलेको बताउँदा श्रीच्छालाई अचम्म लाग्थ्यो ।
आमा–बुवासँग हाइकिङ गइरहन्थिन् । सोही क्रममा विष्णुमतीको विष्णुद्वारमा खोला सफा देख्दा अचम्म भएको उनले स्मरण गरिन् । “ओहो, नदीको पानी पनि सफा हुनेरहेछ ! पौडी खेल्न मिल्ने हुने पहिलोपटक त्यहीँ देखेँ,” उनी भन्छिन् ।
अमेरिकामा खोलानदी सफा देखेकी थिइन् । पौडी खेलेकी थिइन् । नेपालका खोलानालामा भएको फोहरले उनलाई सताउँथ्यो । त्यहाँ चार वर्ष अध्ययन गर्दा हरेक दिन नेपालका नदीनाला सफा बनाउने बारे सोचिरहिन् । थेसिसको विषय नै नदीनालाको अधिकारलाई छानिन् ।
उनका हजुरबुवा वन विभागमा कार्यरत थिए । घरको वातावरण पनि सोही खालको थियो । हजुरबुवा (बाजे)सँगको निकटताले उनी वातावरणप्रति बढी संवेदनशील भइन् ।
श्रीच्छा भन्छिन्, “म बाजेबज्यैसँग बढी नै क्लोज थिएँ । रुख–बिरुवा, खोलानाला, पशुपक्षीका कथाहरू, अवस्थाहरू र प्रकारहरू सुन्दै हुर्केँ । मेरो सबैभन्दा नजिकको व्यक्ति पनि बाजे र बज्यै नै हो ।”
श्रीच्छा आठ वर्षकै उमेरमा नेपाल टेलिभिजनमा आबद्ध भइन् । त्यहाँ दुई वर्ष चाइल्ड एंकरका रूपमा काम गरिन् । पढ्नमा अब्बल थिइन् । जे काममा हात हाले पनि शतप्रतिशत गर्ने उनको बानी सानैदेखि थियो ।
बूढानीलकण्ठ स्कुलमा होस्टेलमा बसेर पढेकी उनले प्लस टु सकाएर ट्राभल राइडरका रूपमा काम थालिन् । अमेरिका जानुअघिसम्म त्यहाँ काम गरिन् । त्यति बेलासम्म पनि आफूले मेकअप गर्न, हिल जुत्ता लगाउन नजानेको उनी बताउँछिन् ।
अमेरिकामा इन्भाइरोमेन्ट स्टडी एन्ड कम्युनिटी एक्सन विषय लिएर पढिन् । सन् २०२२ मा ब्याचलर सकाएर नेपाल फर्किइन् ।
अमेरिकाको चारवर्षे अनुभव कस्तो रह्यो त ? उनी भन्छिन्, “पहिलोपटक खोलामा पौडी खेल्न पाएँ । अमेरिका बसे पनि मैले सधैँ नेपालकै बारे सोचिरहन्थे । नेपालको संस्कृति र वातावरणका पक्ष समेटेर काठमाडौं पोस्टमा पनि लेखहरू लेख्थेँ । सानैदेखि सफा खोलाको कल्पनालाई नै मैले थेसिसको विषय बनाएँ । पशुपक्षीको हक–अधिकारमा धेरैले बोलेका छन्, तर खोलानालाको अधिकार पनि छ । त्यसको बारेमा जनचेतनाकै लागि थेसिस लेखेँ ।”
८७ वर्षका हजुरबुवाको आग्रहमा उनी मिस नेपालसँग जोडिइन् । “मेरो हजुरबुवाले पत्रिकाको विज्ञापन देखाउनुभयो । मैले पनि काम गरेर देखाउनुपर्ने धेरै थियो । तर, मैले तुरुन्तै भाग लिन्छु भन्न सकिनँ,” उनी भन्छिन्, “मैले अन्तिम दिन मात्रै निवेदन दिएको थिएँ । हजुरबुवाको सल्लाहमा अप्लाई गरेँ ।”
मिस नेपाल भएपछि रातारात सबैले चिन्ने र आफ्नो आवाजलाई धेरैले सुन्ने हुँदा उनले यो अवसर छोड्न चाहिनन् ।
श्रीच्छालाई लाग्छ– सौन्दर्य प्रतियोगिता भनेको शरीरको आकार र तौलको मापन मात्र होइन । ज्ञान, अध्यात्म र करुणाको संगम पनि हो ।
मिस नेपालको प्लेटफर्ममार्फत अहिलेको पुस्तामाझ जलवायुबारे चेतना जगाउने उनको उद्देश्य छ । उनले जीवनशैलीमा पनि वातावरणमैत्री भावलाई अँगालेको देखिन्छ । प्लास्टिकको प्रयोग कसरी कम गर्नेदेखि लुगाहरूको पुनः प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारे उनी सचेत छिन् ।
उनी पूर्वमिस नेपाल शृंखला खतिवडालाई आफ्नो ‘आइडल’ मान्छिन् । शृंखलाको अघिल्ला सामाजिक प्रोजेक्टबाट आफू प्रभावित भएको उनी बताउँछिन् ।
सन् २०१९ देखि दिगो प्रणाली नामक परियोजना चलाइरहेकी छन् । वातावरण संरक्षण, बालशिक्षा, उद्यमशीलतालगायत पक्षलाई जोडेर उनले यो अभियान चलाएकी हुन् । आर्थिक पुनर्संरचनासँगै वातावरणीय संरक्षण गर्ने भन्दै योजना बनाइएको प्रोजेक्ट हो यो ।
“यसमार्फत महिला उद्यमशीलताको विकास, वातावरणीय शिक्षा, अल्पसंख्यक, बालबालिका शिक्षा, सबैको सामूहिक प्रभावबारे काम गर्न खोजेको छु,” उनी भन्छिन् ।
उनको जीवनको लक्ष्य नै जनस्तरमा वातावरणसम्बन्धी काम गर्ने हो । यसबाहेक उनको रुचि गीत लेख्नु र गाउनु पनि हो । मिस नेपालको ट्यालेन्ट राउन्डमा पनि गीत गाएर उनले सबैको मन जितेकी थिइन् ।
मिस नेपालमा भाग लिएपछि आफूमा धेरै परिवर्तन आएको उनको अनुभव । श्रीच्छा भन्छिन्, “पहिला धेरैमाझ बोल्न डराउने, आफ्नो कुरा पनि राख्न असहज हुन्थ्यो । प्रशिक्षणको पहिलो दिन आ–आफ्ना कथाहरू सुनाउने थियो, मलाई डर लागेर पछाडि बस्न गएँ । मिस नेपालले ममा आत्मविश्वास, निडर बनायो । साथै, टाइम म्यानेजमेन्ट पनि सिकेँ । मेकअप, हिल र एलिजेन्ट देखिने आइडिया भयो । मेरो जीवनमा मिस नेपालले धेरै कुरा सिकायो ।”
मिस नेपाल भएपछि उनी अर्को वर्षको मिस वर्ल्डको तयारीमा जुटिसकेकी छन् । फोहरलाई मोहर बनाउने आफ्नो प्रोजेक्टलाई पनि अगाडि बढाउने उनको सोच छ ।
“नेपाल खासमा धेरै महत्त्वपूर्ण देश हो । यहाँ हिमाल, पहाड र धेरै पानीको मुहान छ,” उनी भन्छिन् ।
अमेरिकामा पढ्दा उनका शिक्षक साल्सगोरवतीले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्नका लागि नेपाल सबैभन्दा उपयुक्त देश भएको बताएका थिए । यसतर्फ युवापुस्ताले काम गर्नुपर्नेमा उनी जोड दिन्छिन् । “म त जलवायुबारेको सचेतना धेरैमाझ पुर्याउने सपनाले नै मिस नेपालमा भाग लिएको हुँ,” उनले सुनाइन् ।