काठमाडौं । खुश्बु ओलीसँग डेढ दशकपछि भेट्दै थिएँ । भेट्ने ठाउँ थियो, खुश्बु र उनको परिवारले खोलेको कलंकीको मासु चिउरा रेस्टुरेन्ट । खुश्बुलाई मासु चिउरा सारै मन पर्ने भएकाले रेस्टुरेन्टको नाम पनि त्यही राखिएको रहेछ । डेढ दशकअघि भेट्दा उनी मिस टिनको क्राउन सम्हाल्दै थिइन् । अहिले राजनीति, समाजसेवा, व्यापारमा व्यस्त छिन् ।
झापा, सुरुंगाकी खुश्बुले ३४ वर्षे जीवनकालमा धेरै उतारचढाव भोगेकी छन् । तितामिठा अनुभव सँगालेकी छन् । प्रेम सम्बन्धदेखि राजनीतिसम्म उनको नाम जोडिएको छ । ब्युटी प्याजेन्टको अनुभव, समाजसेवा, दुई अनाथ बालकको अभिभावकत्व ग्रहण, व्यापार–व्यवसायमा केन्द्रित छन् ।
सन् २००६ मा मिस टिन भएपछि ‘नारी’ मासिकका लागि ‘कभर गर्ल’का रूपमा फोटोसुट र अन्तर्वार्ता लिने क्रममा मैले उनलाई प्रश्न गरेको थिएँ– भविष्यमा के बन्न चाहन्छौ ? त्यति बेला धेरैजसो टिनएजरको एउटैखाले उत्तर आउँथ्यो– मोडल बन्ने, मिस नेपाल हुने, गायिका, नायिका वा डाक्टर आदि । तर, खुश्बुको उत्तर बिल्कुलै फरक थियो । उनले कन्फिडेन्ट्सका साथ नेपालको पहिलो महिला प्रधानमन्त्री हुने सपना आफूले बुन्दै गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्– प्रधानमन्त्री भएर एक दिन देश चलाउनेछु ।
उनको आत्मविश्वासी उत्तर मलाई अझै याद छ । गएको आमनिर्वाचनमा खुश्बु उमेदवार बन्दा त्यो आत्मविश्वास मेरो दिमागमा ताजा भएको थियो ।
समाजसेवाप्रति बुवा श्यामसुन्दर र हजुरबुवा देवीप्रसादको लगावले उनलाई सधैँ आकर्षित गर्थ्यो । उनका हजुरबुवा झापाका तत्कालीन प्रधानपञ्च पनि हुन् । विद्यालय खोलेको, समाज परिवर्तनका लागि लागेको देख्दा खुश्बु सानैदेखि यस क्षेत्रतर्फ आकर्षित भएकी थिइन् ।
सन् २००० मा काठमाडौं जेसिसद्वारा आयोजित प्रतियोगितामा उनले ‘लिटिल लेडी’को उपाधि जितेकी थिइन् । त्यसको ६ वर्षपछि १७ वर्षको उमेरमा मिस टिनको उपाधि हासिल गरिन् । त्यति बेला मोडलिङ, एमसी, विज्ञापनबाट कमाएको रकम झापाका स्कुललाई सहयोग, एम्बुलेन्स, रिक्सा चालकलाई आर्थिक सहायतामा खर्चिएको उनी बताउँछिन् ।
उनी लन्डनमा हुँदा सन् २०१४ मा सेल्टर नेपाल नामक संस्था स्थापना गरिएको थियो । त्यसले सडक बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ । त्यहाँबाट ८०० भन्दा बढी सडक बालबालिकालाई आत्मनिर्भर बनाइएको उनको भनाइ छ ।
ओलीले ‘रिह्याबिलिटेसन अफ स्ट्रिट चिल्ड्रेन बिफोर एन्ड आफ्टर’ नामक डकुमेन्ट्री पनि बनाएकी छन् । निःशुल्क सेवा दिने सर्तमा सुरुंगाको रेडक्रस उपशाखालाई उनले एम्बुलेन्स समेत दिएकी थिइन् ।
उनका दुई ‘छोरा’ छन्, १७ र १८ वर्षका । एक छोरा उनकै मासु चिउरा रेस्टुरेन्टमा काम गर्छन् ।
१२ वर्षअघि कान्तिपुर पत्रिकामा ‘दुई बालक छोडेर बाबुआमा बेपत्ता’ भन्ने समाचार प्रकाशित भएको थियो । त्यही समाचारलाई ‘फलो’ गरेर खुश्बुले कानुनी रूपमा ती दुई बालकको अभिभावकत्व लिएकी थिइन् । अहिले उनीहरू खुश्बुसँगै बस्छन् । त्यसरी उनी २२ वर्षको उमेरमा कानुनी रूपमा आमा बनेकी थिइन् ।
उनका अनुसार अक्सफोर्ड विश्वविद्यालयमा पढ्दा त्यहीँ काम गर्ने राम्रा अफरहरू आएका थिए । तर, नेपालमा युवापुस्ताको आवश्यकता महसुस गरेर उनी फर्किइन् । अचेल भने खुश्बु केही हदसम्म निराश छिन् ।
निराश हुनुको कारण निर्वाचनमा हार पनि हो । अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनमा मास्टर्स गरेकी खुश्बु राजनीतिमा आउनु अचानकको निर्णय थिएन । युवापुस्ता राजनीतिमा आउनुपर्छ र नयाँ ढंगले देशको विकास गर्न लाग्नुपर्छ भन्ने उनलाई लाग्थ्यो । अक्सफोर्डमा पढिरहँदा नेपालमा अस्थिर सरकारका गतिविधिबाट वाक्क थिइन् उनी । नेपाल फर्केर राजनीतिमा लाग्ने उनको प्लानै थियो ।
नेपालमा एउटै अध्यक्षले लामो समय पार्टी हाँकेको उदाहरण प्रशस्तै छन् । नेतृत्वमा उही अनुहार दोहोरिरहन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा कमल थापाबाट राजेन्द्र लिङदेन अध्यक्ष भए । खुश्बुलाई त्यही घटनाले आकर्षित गर्यो । पार्टी ‘ज्वाइन’ गरिन् । कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएकी मोडल खुश्बु राप्रपामा प्रवेश गरेकी थिइन् ।
उनी निर्वाचनमा झापाको कुनै क्षेत्रबाट टिकटको दाबेदार थिइन् । तर, राप्रपाले एमालेसँग चुनावी तालमेल गर्यो । खुश्बुले टिकट पाइनन् । त्यसपछि उनले स्वतन्त्र उमदेवार बनेर प्रतिस्पर्धा गरिन् ।
“पढेलेखेको, निडर, अनुभवी महिलालाई नरुचाउने समाज रहेछ । केही नहुँदा नहुँदै पनि राजनीतिक सम्बन्ध भएका कारण आपसी उपहारको रूपमा समानुपातिक सांसदको उपहार पाएकाहरू धेरै छन्,” उनी भन्छिन्, “म राजनीतिमा कमाउनको लागि आएको होइन, कमाउनको लागि मेरो आफ्नो व्यापार, व्यवसाय छ नै । देशमा केही परिवर्तन गर्न सक्ने आवाज मात्रै बन्न पाए पनि पुग्छ ।”
खुश्बुको चुनावी नारा थियो– दिगो आर्थिक विकास । उनी भन्छिन्, “अर्थतन्त्र बलियो बनाउन हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्छ । नेपाललाई अरू क्षेत्रभन्दा कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउन सकिन्छ । यसमा बढी फोकस हुनुपर्छ ।”
उनी झापा क्षेत्र नम्बर–४ बाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यको उमेदवार बनेकी थिइन् । उनलाई निर्वाचनले धेरै सिकायो । उनी भन्छिन्, “चुनावमा करोडौँको खर्च हुने, मर्न र मार्नेसम्म पछि नहट्ने ।”
आफ्नो क्षेत्रमा पैसा र रक्सीको चलखेल बढी देखेको उनी बताउँछिन् । निर्वाचनको मौन अवधिलाई उनी ‘मनी अवधि’को संज्ञा दिन्छिन् ।
“ओहो ! मलाई चुनावमा नउठ्न अफर आयो । भोटको अफर आयो । राजनीति त सारै नै डरलाग्दो अवस्थामा पुगेको रहेछ,” उनी भन्छिन्, “अब हामीजस्ता सबै पार्टीका युवाहरू एकै आवाजमा लड्नुपर्छ ।”
चुनाव हारेर सांसद नभए पनि आफ्नो क्षेत्रमा उत्तिकै सक्रिय रहेको उनी सुनाउँछिन् । शिक्षा, स्वास्थ्य र स्वरोजगारका लागि आफूले त्यहाँ समन्वय गरिरहेको उनको भनाइ छ ।
आउँदो आमनिर्वाचनअघिका चार वर्ष आफ्नो क्षेत्रका समस्या समाधानका लागि काम गर्ने उनको प्लान छ । उनको क्षेत्रअन्तर्गतका गाउँमा अहिले पनि बालविवाहको गम्भीर समस्या छ । त्यस विषयमा प्रभावकारी काम गर्ने उनको इच्छा छ । अरू समस्या समाधानका लागि पनि पहल गर्ने उनको योजना छ ।
उनीसित द्वन्द्व व्यवस्थापन र चाइल्ड प्रोटेक्सनका विषयमा विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थामा काम गरेको अनुभव समेत छ । चुनावअघिसम्म उनी मल्टी सनेस क्रोपिन इन्डियामा कन्ट्री डाइरेक्टरका रूपमा कार्यरत थिइन् । निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि त्यो पदबाट राजीनामा दिएकी थिइन् । अहिले उनी विभिन्न व्यवसायमा संलग्न छिन् ।
तस्बिर : सुनिल प्रधान