संयोग यी पंक्ति २०७९ सालको अन्तिम दिन र नयाँ वर्ष थालनीको पूर्वसन्ध्यामा लेख्ने अवसर जुरेको छ । विक्रम संवतको पात्रोअनुसार आज बिहीवार यस वर्षको अन्तिम रात र भोलि शुक्रबार २०८० सालको नयाँ बिहानी आरम्भ हुनेछ । यस वर्ष जुरेजस्तो ठ्याक्कै अवसर जुरेर त्यही विषयमा लेख्ने निश्चित तिथिमिति चाहिँ कमै प्राप्त हुने रहेछ ।
सधैँ झैँ बितेको वर्षको समीक्षा हुने नै छ । सञ्चार माध्यमहरुले देशमा प्राप्त उपलब्धि र भोगेका अप्ठ्याराहरुको वार्षिक फेहरिस्त पुनः सम्झना गराउने त चलनै छ ।
बितेको वर्षले पनि केही उत्साह र सम्भावना देखाएको छ । केही निराशा र भद्रगोल समेत विम्बित गरेको छ ।
राजनीतिक प्रक्रियाका दृष्टिले वर्ष २०७९ उत्साहप्रद नै रह्यो । नेपालको संविधान, (२०७२) ले अनुसारको स्थानीय तहको चुनाव, प्रदेश र संघीय संसद्को निर्वाचन यही वर्ष सम्पन्न भएको छ । यसले आगामी सम्भावना पनि देखाएको छ ।
गणतन्त्र नेपालको संविधान क्रियान्वित गर्ने सन्दर्भमा सम्पन्न दोस्रोपटकको चुनावले राजनीतिक प्रक्रियालाई दुई कदम अघि बढाएको छ । यसको अर्थ संविधान र संविधानले व्यवस्थित गरेको राजनीतिक प्रक्रिया स्थिर गतिमा अघि बढ्यो वा सुस्थिर भएको प्रत्याभूति दियो भन्ने चाहिँ होइन । अहिले पनि अनपेक्षित अस्थिरताका सूचक छरपस्ट छन् ।
त्यसो त राजनीति नै गतिशील स्थिरता हो । जहाँ आरोह अवरोह आउँछन् नै । संविधान पनि संशोधनीय शासकीय मूल दस्तावेज हो । यिनको स्थिरता र अस्थिरताको पहिचान वा व्याख्या स्थूलभन्दा सूक्ष्मतामा बढी यथार्थ हुनसक्छ । यिनको गतिशीलता अपेक्षित र यही नै सर्वग्राह्य स्थिरता पनि हो – गतिशील स्थिरता ।
निर्वाचन प्रक्रियामा व्यक्त मत गणनाले बन्ने संरचना बनाइएका छन् । बाँकी बन्ने क्रममा छन् । राजनीतिमा प्रक्रिया र प्रवृत्ति महत्वपूर्ण अंश हुने रहेछन् । प्रक्रिया दुई कदम अगाडि बढ्दा यसवीच प्रवृत्ति चाहिँ भने दुई कदमले पछाडि धकेलिएको दृश्य असत्य होइन । यसमा सामाजिक समीक्षा भएकै र हुनेछ । सञ्चारका अनुसन्धान आवृत्तिमा पनि विशद् समीक्षा भेटिन सक्छन् ।
राजनीति दुरुह कर्म हो । कर्म दुरुह । पात्र, प्रवृत्ति दुत्कारिने भएका छन् । अर्थात्, हाम्रो सन्दर्भमा राजनीतिलाई गाली गर्ने तारो बनाइएको छ । दलीय प्रणालीका सञ्चालक दल, तिनका नेता वा संरचना हास्य, आलोच्य पात्र भएका छन् । के दुनियाँभर यस्तै हुन्छ ? हामी कहाँ किन यस्तो भयो ?
नयाँ वर्ष आउँछन्, दिनका पत्रपत्रसँगै थोत्रिएर जान्छन् । हरेक नयाँसँग नयाँ अपेक्षा जन्मिन्छ । जब बित्छ, बितेको भन्दा पनि ‘बदतर’ भएको तस्वीर दिएर जान्छ । हाम्रा वर्षहरु यसरी नै इतिहास भएका छन् । उमेरमा गाभिएका छन् । यो कसीमा असी साल चौबीस क्यारेटको रंग लिएर आएको होला त ? पक्कै छैन । एकासीलाई हेर्दा चन्द्रमै किन नहोस् जब बित्छ यसमा पनि खोट देखिने नै छ ।
राजनीति दैनन्दिन भोगाइ हो । यसको प्रक्रिया, परिणाम र प्रवृत्ति सबै नागरिक जीवनमा पर्ने प्रतिच्छाया हो । राजनीति बिग्रियो । अनि त, अन्तै बिग्रिसकेकाहरुले पनि बाक्लो खरानी धसेर आउन राजनीतिक मैदान पाए । हल्लामा बहकिनेहरुलाई बटुल्ने नारा बनाए, लगाए । आशा गरेको राजनीति बिग्रिएपछि हुने त यस्तै हल्लाखोर तमासा नै हो । आज अन्तिम दिनमा हिँडेको वर्षले राजनीतिमा अनेक भाउँतो बोकाएर रातपछि पूर्णविराम हुदैछ ।
कसैले अर्थ बलको सत्ता राजनीति गरे । व्यवसाय बनाए । क्रय, विक्रयको माध्यम बनाइयो राजनीतिक दायित्वलाई । कसैले पढेको अन्तर्राष्ट्रिय डिग्रीलाई नेपाली राजनीतिमा उच्चासीन हुन पाउने दाबा ठोके ।
राजनीति वर्षाको भुल्का होइन । भदौरे झरीको पानीको फोका पनि होइन । टाउकोमाथि उडेको छिचिमिराको बथान नै राजनीति हो, मानियो भने क्षणमा बिलाउने प्वाँख झरेको अस्तुमात्र भेटिनेछ । अर्थात्, राजनीति कठोर कर्म र लामो अभ्यासको उत्पादन हो । लहड होइन ।
नेता बिग्रिए वा यिनले बिगारे । आरोप यही हो । चुनावी खर्च जुटाउन वा मन्त्री पद किन्न कार्यकर्ता खटाउने हिले आहालमा चुर्लुम्मले पनि यही आरोप उछालेर दूधले धोएको देखिने तमासा यस वर्षको दुःख हो । राजनीतिक मैदानमा जे देखियो अधिक तमासा यस वर्ष देखियो । तमासाको भाउँतो कति लामो होला ? बेहोर्दै जानु छ । संघीय राजधानीका मेयर बालेन शाह राजनीतिको पोखरीमा आहाल उछित्तो गर्दैछन् ।
राजनीति जति डाँबाडोल देखियो त्यसभन्दा बढी अर्थनीति हल्लिएको भनिदैछ । धन्न दोष कोरोना महामारीले बोकी दिएको छ । रुसले युक्रेनमाथि हानेको युद्धलाई ठग नेपाली अर्थतन्त्रले मुन्टो लुकाउने उपमेय बनाएको छ । कोरोना र रुस युद्धको अतिरिक्त पनि नेपाली अर्थतन्त्र छैन ? अर्थ संरचना छैन ?
नेपाली अर्थतन्त्रमा महामारी र युद्धको दुष्प्रभाव भने विश्वव्यापी जस्तै रह्यो । यसभन्दा बढी भ्रष्टाचारको महामारीले नेपाली अर्थतन्त्र थलिएको हो कि ? नीतिगत र वित्तीय भ्रष्टाचारले असह्य सास्ती पाएका नागरिक सँगसँगै मुलुकले समेत जीवन धान्न धौधौ भइसकेको छ । अहिले त यस्तो देखियो– सबै कुनै न कुनै प्रकारको भ्रष्टाचारी, खै को छ सदाचारी ? बितेका अरु वर्षजस्तै भ्रष्टाचारको खातमा थप उचाइ गाभेर उनासी साल पनि मर्दैछ ।
प्रक्रिया यही हो । प्रवृत्ति पनि यही हो । पात्र पनि यिनै हुन् । आउने पात्र पनि यिनैले प्रशिक्षित गरेका शिष्य हुन् । यतिले मात्र कहाँ टुँगियो र ? तमासाहरु थपिँदै छन् । भाउँतोहरु लम्बिदै छन् । के असीसाल पूर्ववती सालहरुको कालो ‘लिगेसी’ बोक्न अभिशप्त छ कि छैन ?
अर्थ, राजनीतिसमेत प्रकृति, वातावरण,संस्कृति, समाज र सृष्टिको यावत् नेपाली पाटोमा मूल्यांकन गर्ने छायाछवि छोडेकै होला यो वर्षले ? कस्तो रह्यो यो वर्ष ? केही खुसी, केही ‘गम ?’
उनासी सालको आखिरी दिनसँगै अन्तिम रातको भोगाइमा आशावादी नेपाली समाज घुर्दैछ । बिदाइ अन्तिम रातको । बधाई नयाँ बिहानीलाई ।