site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भाइरलको चक्कर

काठमाडौं । बिहान चिया बनाउँदै मोबाइलमा भजन सुन्दै थिएँ । ‘मम्मी, एउटा गीत सुन्नु त,’ युट्युब ट्रेन्डिङमा रहेको गीत सुनाउन आइपुगिन्, छोरी । उनको प्रश्न थियो, ‘यो गीतको त दुई दिनमै यति लाख भ्युअर्स, तपाईंहरूले सुन्ने गीत राम्रो भए पनि भ्युअर्स किन हुँदैन ?’ उत्तर नदिई छोरीको प्रश्न टारिदिएँ । मसँग त्यसको जवाफै छैन ।

छोरीले भनेजस्तै मानिसको ठूलो जमात भ्युअर्स, लाइक र सेयरतर्फ आकर्षित छ । राम्रो काम गरेका छन् भने त त्यो सकारात्मक नै हो । तर, चर्चामा आउने लोभले आफ्नै बेइज्जत भएको समेत ख्याल गर्दैनन् । र, मानिसलाई चर्चामा ल्याउने माध्यम बनेका छन्, विभिन्न सामाजिक सञ्जाल ।

अहिले सामाजिक सञ्जालमा कुनै विषय छिटो र व्यापक रूपमा फैलँदा ‘भाइरल’ भन्ने गरिन्छ । पहिला–पहिला कुनै रोगको संक्रमण फैलँदा भाइरल ज्वरो, रुघाखोकीका रूपमा यो शब्द बढी प्रयोग गरिन्थ्यो ।

Dabur Nepal
NIC Asia

पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले मानिसलाई खुब सजिलो बनाएको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालले मानिसलाई धेरै कुरामा सहयोग पनि पुर्‍याएको छ । तर, दिन प्रतिदिन समाज सामाजिक सञ्जालबाट आक्रान्त बन्दै गएको छ ।

सन् २००० देखि विश्वव्यापी रूपमा सुरु भएको सोसल मिडियाको युग अर्थात् सामाजिक सञ्जाल (फेसबुक) नेपालमा २००८ देखि व्यावहारिक प्रयोगमा आयो । करिब १५ वर्षको अवधिमा युट्युब, ट्विटर, इन्स्टाग्राम हुँदै अहिले टिकटकमा बढी आकर्षण छ ।

टिकटकलगायत सामाजिक सञ्जालमा कति फलोअर्स छन् भन्नेतिर समाज लम्किरहेको छ । तर, के ‘भाइरल’ चर्चाले समाजलाई साँच्चै सकारात्मक बाटोतर्फ डोर्‍याएको छ ?

सामाजिक सञ्जालमा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म निकै सक्रिय हुने गरेका छन् । तर, आधुनिक समाजका लागि यो वरदान मात्र नभई अभिशाप पनि बनेको छ ।

विज्ञान–प्रविधिसँग समयानुकूल परिचित हुनु एकदम राम्रो कुरा हो । भाइरल हुने लोभले भने सामाजिक सञ्जालमा विकृति बढ्दो छ ।

मानिस भाइरल हुन र फलोअर्स बढाउने मनोरोगका कारण जे पनि गर्न तयार रहेको हरकत टिकटकमा देख्न सकिन्छ । पछिल्लो समय टिकटकमा भ्युज, लाइक नआएको भन्दै नितान्त व्यक्तिगत कुरा राखेर भाइरल बन्ने होड चलेको छ ।

मनोविद् सावित्री अर्याल अहिलेको डिजिटल दौडलाई समयमा रोक्न नसके र भ्युअर्स, सेयर र लाइकको पछि लागे भविष्य राम्रो नहुने बताउँछिन् । उनी भन्छिन्, “डिजिटल प्लेट फर्महरूको पछाडि यसरी दगुर्न थाल्यौँ भने न हाम्रा सन्ततिले राम्रो समाज देख्न सक्छन् न संगीत, साहित्य र चलचित्र दिन सक्छौँ । त्यसैले हामी सबै सचेत भएर राम्रो र उत्कृष्टलाई हेर्ने, सुन्ने र पढ्ने अभ्यास गर्नैपर्छ ।”

संस्कृतविद् कमला तुलाधर भन्छिन्, “सबै कुरा बिग्रिएपछि पछुताउनुभन्दा अघि नै यस्ता खालका विकृतिलाई रोक्न राज्य निर्मम बन्नुपर्दछ । मिलेर बसेको नेपाली समाजलाई खलल पार्ने अधिकार कुनै पनि व्यक्ति वा समूहलाई छैन । अश्लील शब्दको भरमार प्रयोग, बालबालिका र महिलालाई यौनवस्तुका रूपमा सम्प्रेषण, आधारहीन मानमर्दन र आक्रोश नेपाली सभ्य समाजका लागि कसरी पाच्य हुनसक्छ ? यसको अर्थ आमनागरिकको अभिव्यक्तिको यस साधनलाई रोक्नुपर्छ भन्ने होइन । त्यसो गर्नु हुन्न । तर, नियमन भने गर्नुपर्दछ ।”

विभिन्न दर्दनाक अपराधका घटनालाई पनि अतिसस्तो प्रतिक्रिया दिएर ओझेलमा पार्ने काम सामाजिक सञ्जालमा देखिन्छ । बलात्कार, हत्या, आत्महत्याजस्ता विषयलाई प्रोत्साहन गर्ने गरी मानिसले आफ्नो धारणा बनाइरहेका हुन्छन् ।

फेसबुकदेखि युट्युब हुँदै टिकटकसम्म भाइरल हुनेहरूको सूची नेपालमा लामै बनिसकेको छ । कोही टिकटकमा नाचेर मोडल बनेका छन् त कोही नेता । सामाजिक सञ्जालमार्फत धेरै भ्युज त पाउन सकिएला, तर त्यो साबुनको फोका (राम्रो देखिन्छ, तर केही बेरमा आफैँ फुट्छ)जस्तो मात्र हो । यसलाई मिडियाले अनावश्यक स्थान दिँदा त्यस्तो प्रवृत्ति ‘भाइरल’ हुन पुगेको डा. निना राईको जिकिर छ ।

वास्तवमा मिडिया समाजलाई परिवर्तन गर्न सक्ने सशक्त माध्यम हो । यो मूल्य–मान्यतालाई त्यसैगरी आत्मसात् गर्नुपर्छ भन्ने आफ्नो मत रहेको उनी सुनाउँछिन् ।

उपन्यासकार सविना काफ्ले भन्छिन्, “मानिसहरू अचेल भाइरल हुने दौडमा नैतिकता, मानवता र अरूको भावनाको सम्मान समेत गुमाउँदै छन् । हुन पनि यी तीनबिना कुनै पनि सुन्दर समाजको परिकल्पना अराजक नै हुन्छ ।”

विश्वभर ‘मिम’ र ‘ट्रोल’को अर्को दौड छ । अनेक सामग्री बनाइन्छ । जसले समाजमा भ्रामक सन्देशहरू फैलाउन समेत सहयोग पुर्‍याइरहेको छ ।

“आइकनका रूपमा रहेका व्यक्तिहरू पनि भाइरल हुन अश्लील भिडियोहरू बनाइरहेको देखिन्छ । यसले अबको जेनेरेसनले के सिक्छन् ?,” सविना प्रश्न गर्छिन्, “कसैको भावनाको, प्राइभेसीको मतलब राखेको देख्दिनँ । अरूप्रतिको आदर नभएको समाज त अनैतिक समाज नै हो नि !”

चित्त खुलोस् हृदयसँगको प्रकाशक तथा मानसिक भावनात्मक विकासमा काम गरिरहेका प्रशिक्षक मौसम शाक्य भाइरल र भाइरसलाई समाजको विषका रूपमा लिन्छन् ।

“भाइरल हुने दौडमा हामी खासमा कतै पुग्दैनौँ । मानसिक रूपमा कताकता पुगेजस्तो आभास हुन्छ, तर वास्तविकताभन्दा धेरै पर हुने हुनाले मानसिक तनाव बढ्दै जान्छ,” शाक्य भन्छन्, “तनाव कम गर्ने बहानामा झन् धेरै स्वबजारीकरणको चक्रमा फस्दै जाँदा धेरै कुरा धन, स्वास्थ्य, समय आदि गुमाउन पुग्छौँ । समाजलाई पनि भाइरल हेर्ने बानी परेको छ, यो त शिक्षाको अभाव हो ।”

विशेष गरी टिकटकमा भाइरल हुन अनेक हरकत गर्नेहरूको लामो लाइन छ । समाजमा दीर्घकालीन असर गर्ने कार्यलाई भने समयमै निरुत्साहित गर्न आवश्यक देखिन्छ । यसका लागि राज्यले नियमन गर्न जरुरी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro