काठमाडौं । फेसन डिजाइनर आर्शिया बानुको बुटिक पुग्दा एक छिन अलमल्ल भएँ । बुटिकको लबीको भित्ता गल्फमा जितेका शिल्ड, मेडल र सम्मानपत्रहरूले सजिएका छन् । आधा दशकअगाडिसम्म उनको परिचय फेसन डिजाइनर आर्शिया बानुमा सीमित थियो । २३ वर्षअघि आर्शिया कर्टेज नामक बुटिक खोलेर फेसन दुनियाँमा स्थापित भएकी थिइन् ।
बुटिकमा आउने ग्राहक पनि मजस्तै एक छिन अलमल्ल भएर प्रश्न गर्ने रहेछन्– यो गल्फका अवार्डहरू तपाईंको श्रीमान्को ?
अनि, उनी हाँस्दै भन्छिन्– म सिंगल वुमन । यो सबै मैले जितेका शिल्ड र प्रमाणपत्रहरू हुन् ।
अहिले उनको अर्को परिचय हो, महिला गल्फर र रोयल नेपाल गल्फ क्लबको महिला क्याप्टेन । खेलाडीका रूपमा मात्र सीमित नरही उनले आफ्नो अग्रसरतामा आर्शिया अल नेपाल वुमन्स ओपन गल्फ प्रतियोगिता समेत आयोजना गरिन् ।
उनी हरेक गल्फ टुर्नामेन्टमा भाग लिन्छिन् । सन् २०२१ म बाह्रखरी गल्फ टुर्नामेन्टमा निमन्त्रणा नपाएर खेल्न नपाउँदा आफू पहिलोपटक रोएको आर्शिया सुनाउँछिन् ।
आर्शिया अर्थात् सिंहासन । उनले बुटिक, अल नेपाल वुमन्स ओपन गल्फ प्रतियोगिता, डेन्टल क्लिनिक र क्याफे पनि आर्शियाकै नामाबट सञ्चालन गरिरहेकी छन् । उनलाई धेरै क्षेत्रमा आर्शियाको ‘ब्रान्ड’ बनाउनु छ ।
नेवार समुदाय र संस्कृतिमा लगाव
काठमाडौंका वटु, इन्द्रचोकलगायत क्षेत्रमा मुस्लिम समुदायको बाक्लो उपस्थिति छ । उनीहरू धेरैले मज्जाले नेवारी बोल्छन् । उनीहरूको नेवारी लबज सुन्दा रैथाने नेवारझैँ लाग्छ । त्यही मुस्लिम बस्ती वटुमा जन्मिएकी हुन्, आर्शिया बानु । उनको परिवारको इन्द्रचोकमा पोतेको व्यापार थियो । त्यो इन्द्रचोकमा अझै छ । आर्शियाको बुवा त्यतिखेर हङकङमा पनि व्यापार गर्थे ।
वटुमै हुर्किएकी आर्शियाका धेरै नेवार साथीहरू थिए । असन, इन्द्रचोक, वसन्तपुरमा प्रायः केही न केही जात्रा–पर्वहरू भइरहन्छन् । स्कुलबाट फर्कनासाथ उनी जात्राको पछिपछि लाग्थिन् । बाजाको आवाज, लाखे नाच, रथहरूका पछिपछि लाग्दा रमाउँथिन् । नेवारीभाषा पनि मज्जाले बुझ्थिन् । लाखे नाच र त्यसको हाउभाउ, प्रस्तुति गजब लाग्थ्यो उनलाई ।
नेवार समुदायमा देवीदेवताका नाममा पनि विभिन्न नाचहरू देखाइन्छ । मुस्लिम भए पनि आर्शियालाई नेवारी संस्कृति र जात्रापर्व मन पर्छ ।
आर्शियाको मामाघर, ठूलोबुवाको घर, फुपूको घर पनि एउटै टोलमा थियो । मुस्लिम समुदायमा आफन्तबीच नै विवाह सम्बन्ध हुने हुँदा धेरै नातेदार एउटै टोलमा हुन्थे । त्यो टोलमा एउटै उमेर समूहका २० जना थिए । उनीहरू हरेक दिन जम्मा भएर गोटी, लुकामारी, छोइडुम खेल्थे ।
विश्वभरका धेरै मुस्लिम महिला टाउकामा हिजाब लगाउँछन् । आर्शियाले पनि चार÷पाँच महिना हिजाब लगाएर हिँडिन् । तर, त्यति सहज अनुभव नभएपछि छोडिन् ।
राम्रो गेटअपमा हिँड्न रोजेको करियर
आर्शियालाई सानैदेखि राम्रो लुगा लगाएर, कपाल चिटक्क मिलाएर हिँड्न मन लाग्यो । कलेज पढ्न थालेपछि त हरेक दिन कपाल रोलरले सेट गरेर मात्र हिँड्थिन् । अरूभन्दा फरक र राम्रो गेटअपमा हिँड्न मन पराउने उनलाई फेसनको विषयमा पनि पढाइ हुन्छ भन्ने थाहा थिएन । इन्टेरियर डिजाइनर बन्ने सोचमा थिइन् ।
भारतीय च्यानलमा फेसन डिजाइनिङको विज्ञापन देखेपछि मात्र यसबारेमा थाहा पाइन् । त्यसपछि खोजी गर्न थालिन् । त्यो समय नेपालमा आईआईएमपीबाट फेसन डिजाइनिङसम्बन्धी कोर्स सुरु हुँदै थियो । पछि नाम परिवर्तन भएर आईईसीबाट फेसन डिजाइनिङ कोर्स सञ्चालन हुन थाल्यो ।
उनलाई निर्णय लिन धेरै गाह्रो भएको थियो, इन्टेरियर डिजाइनर बन्ने कि फेसन डिजाइनर बन्ने ? “मलाई दुवै क्षेत्र उत्तिकै मनपर्नै । यही भएर छान्न सारै कठिन थियो । त्यति बेला सिंहदरबारको बाटोको बीचमा बसेर मैले करियरको निर्णय गरेको थिएँ,” त्यो क्षण सम्झँदै उनले भनिन्, “सिंहदरबारबाट कुपण्डोलतिर पाइला चाले फेसन डिजाइनिङ, बागबजारतिर फर्के इन्टेरियर डिजाइनिङ । मेरो पाइला कुपण्डोलतिर लागे । अनि, मैले फेसन डिजाइनिङलाई करियरको रूपमा अँगालेँ ।
आईईसीको दोस्रो ब्याचमा आर्शियासहित दुई मात्र विद्यार्थी थिए । बिहान १० देखि अपराह्न ४ बजेसम्म पढाइ हुन्थ्यो । बढीभन्दा बढी सिक्न खोज्ने बानी थियो उनको । भारतबाट आएका शिक्षकहरू थिए । सिक्न र सिकाउन कन्जुस्याइँ गरिँदैन थियो । कोर्स पूरा भएपछि सन् २००० मा आर्शियाले आफ्नै नाममा बुटिक सञ्चालन गरिन् ।
इन्डोर बल हान्दा हान्दै गल्फतिर
आर्शियाका भाइहरू गल्फ खेल्न गइरहन्थे । उनलाई पनि खेल्न कर गरिरहन्थे । तर, खासै रुचि देखाएकी थिइनन् । भाटभटेनीमा इन्डोर बल हान्ने इभेन्ट थियो । उनी त्यहाँ पुगिन् । बल हान्दा आर्शियालाई रमाइलो लाग्यो । त्यहाँ प्रो. सचिन भट्टराई ‘पार्टटाइम’ प्रशिक्षक थिए । उनले नै ‘प्रशिक्षणका लागि आउँदा हुन्छ’ भनेपछि आर्शिया रोयल नेपाल गल्फ कोर्टमा पुगिन् । उनी आफ्ना ६ भाइहरूसँगै प्रशिक्षण लिन पुगेकी थिइन् ।
बल हान्दा हान्दै उनलाई गल्फ लतजस्तै बन्यो । जीवनको नभई नहुने एउटा पार्टजस्तै बन्यो । उनले खेल्न सुरु गर्दा महिला गल्फ खेलाडीमा प्रतिमा शेर्पाको मात्र नाम सुनेकी थिइन् । प्रशिक्षण लिँदा अरू महिला गल्फ खेलाडी थिएनन् ।
उनका अनुसार गल्फले जिउने कला सिकायो । बिहान साढे ६ देखि साढे ९ बजेसम्म गल्फ खेल्दा शारीरिक र मानसिक रूपमा धेरै परिवर्तन महसुस गरिन् । त्यसले दिनभरि ‘रिल्याक्स’, काममा जाँगर र फिटनेस ‘मेन्टेन’ गरेको उनलाई अनुभूति भएको छ ।
गल्फ खेल्ने क्रममा प्रशिक्षकले प्रतिमासँग चिनजान गराइदिए । दुवैजना सँगै खेल्न थाले । आर्शियाले गल्फका प्रतियोगितामा भाग लिन थालिन् । पहिलोपटक ‘टुनामेन्ट’ जितेपछि उनमा खेल्ने हुटहुटी झनै बढ्यो । जस्तै काम भए पनि टुनामेन्टमा भाग लिन छोड्दिनन् । विभिन्न प्रतियोगितामा प्राप्त गरेका उनीसित ४२ कप छन् ।
हरेक गल्फको टुनामेन्टका लागि निमन्त्रणा आउँथ्यो । खेल्न पुग्थिन् । र, जितेर कप पनि ल्याउँथिन् ।
आर्शिया गल्फ टुर्नामेन्ट
हरेक दिन गल्फ खेल्न पुग्ने आर्शियालाई महिला गल्फर कम देख्दा सारै नमज्जा लाग्थ्यो । त्यसमाथि गल्फ महँगो र धनीहरूको खेल भन्ने ट्याग त छँदै थियो । त्यो ट्यागलाई हटाई धेरै महिलालाई गल्फमा आकर्षित गर्नेबारे सोच्न थालिन् । महिला गल्फर बढाउनका लागि आफ्नै नाममा आर्शिया गल्फ टुर्नामेन्टको आयोजना गरिन् । त्यसका लागि विभिन्न जिल्लाका इच्छुक ५० महिलालाई बोलाएर प्रशिक्षण दिइन् । र, प्रतियोगिता खेलाइन् । प्रतियोगिता सम्पन्न गर्न आर्शियालाई प्रतिमा शेर्पा र सरिता ज्ञवालीले टिमका रूपमा साथ दिए ।
उनले सन् २०२२ जुलाई २ मा देशभरका गल्फ क्लबबाट प्रतिभावान्, आर्थिक रूपमा विपन्न महिलाईलाई समावेश गराएर ‘आर्शिया अल नेपाल वुमन्स ओपन गल्फ’ प्रतियोगिता सञ्चालन गरिन् । यो प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने ‘प्लान’मा छिन् ।
नमाज पढेर दिनको सुरुआत
मुस्लिम समुदायमा नमाज पढ्नु एउटा नित्यकर्म नै हो । बिहान ३ बजे उठ्ने आर्शियाको दिनको सुरुआत नमाज पढेरै हुन्छ । त्यसबाट उनलाई ऊर्जा र आत्मबल मिल्छ ।
उनलाई लाग्छ, एकाग्रताका साथ गरिने पाठमा सकारात्मक ऊर्जा हुन्छ । आफ्नो सफलताको सूत्रबारे उनी भन्छिन्, “ग्याजेटमा कम समय, मस्त निन्द्रा, नियमित दैनिकी, बिहानी समय नमाज पाठ, गल्फ, राति ७ बजे पछाडि जिम । समयलाई म्यानेज गर्न जान्यौँ भने हरेक कुरा सम्भव छ ।”