काठमाडौं । भनिन्छ– श्रीमान् र श्रीमती एक रथका दुई पांग्रा हुन् । सविना काफ्ले र बालेन शाह रथको एउटा पांग्रा त हुँदै हुन्, त्योभन्दा बढी सारथि हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनको चुनावी अभियानलाई मात्रै हेर्दा पनि भन्न सकिन्छ, सविनाबिना बालेनको सफलता कल्पनाबाहिरको हुन सक्थ्यो ।
बालेनको सोसल मिडिया ‘ह्यान्डलिङ’ होस् वा चुनावी प्रचार प्रसार सबै क्षेत्रमा पर्दा पछाडि बसेर सहयोग गर्ने व्यक्ति थिइन्, सविना ।
कतिसम्म भने घोषणापत्र पनि बालेन र सविनाले बिहानको ३ बजेसम्म बसेर तयार पारेका थिए ।
बालेनको चुनावको बेला वेबसाइट डिजाइन, ‘कन्टेन्ट’ सबै सविनाले नै तयार पारेकी हुन् । काठमाडौं महानगरको मेयरमा बालेन चुनाव जितेपछि चर्चामा रहनु स्वाभाविक । तर, उनलाई सफलताको टाकुरामा पुर्याउने बलियो काँध भने सविनाकै थियो ।
सविना अहिले पनि बालेनको श्रीमतीका रूपमा मात्रै परिचित छैनन् ।
मानवीय स्वभाव नै हो, हरेक व्यक्ति आफ्नै परिचयले चिनिन चाहन्छ । आफ्नै कर्मले स्थापित हुन संघर्ष गरिरहेको व्यक्तिलाई अरू कसैको परिचयबाट चिनिँदा नरमाइलो नलाग्ने कुरै भएन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)की श्रीमतीका रूपमा परिचित हुँदा सविना काफ्लेलाई पनि त्यस्तो हुनु स्वाभाविक नै होला ।
मेयर बालेनको श्रीमतीका रूपमा ठूलो जमातमा चिनिँदा आफ्नो छुट्टै पहिचान हराउँदै गएको आभास उनलाई हुन्छ । ६ वर्षयता बालेनको पत्नीका रूपमा उनी दंग छिन् । तर, ३१ वर्षीया सविना आफ्नो पहिचान गुमनाम हुँदै गएकामा भने केही दुःखी छिन् ।
उनी अचेल ‘महानगरकी भाउजू’का रूपमा समेत परिचित छिन् । आफूलाई यसरी माया गरिँदा गर्व पनि गर्छिन् ।
सविना कवि, उपन्यासकार, डिजिटल क्रिएटर र स्वास्थ्य अभियन्ता हुन् । निर्वाचनअघि उनी बिजनेस डेभलपमेन्टमा कार्यरत थिइन् । बालेनले इन्जिनियरका रूपमा कर्म गरिरहँदा उनीहरूको आय बराबरीजस्तै हुन्थ्यो ।
बालेनको चुनावी अभियानमा उनको सक्रियता उत्तिकै थियो । बालेनको सोसल मिडिया ह्यान्डलिङ, अभियान, चुनाव प्रचारदेखि घोषणापत्र लेखनमा समेत उनको उत्तिकै भूमिका थियो । घोषणापत्र दुवैजनाले बिहानको ३ बजेसम्म बसेर तयार पारेको उनी सुनाउँछिन् । उनी भन्छिन्, “चुनावका बेला बालेनको वेबसाइट डिजाइन, कन्टेन्ट सबै मेरै अग्रसरतामा भएको थियो तर साथ भने सबैको थियो ।”
त्रासमय बाल्यकाल
मोरङको उर्लाबारीमा जन्मेकी हुन्, सविना काफ्ले । मध्यमवर्गीय परिवार । बुवा प्रहरीमा जागिरे । माओवादी आन्दोलन चर्किरहेको थियो । त्यति बेला प्रहरीमा जागिरे हुँदा परिवारका लागिसमेत जीवन कठिन हुन्थ्यो । सविनाको बुवा माओवादीको गोली लागेर घाइते भए । बुवालाई गोली लाग्दा उनी १० वर्षकी थिइन् । त्यही घटनापछि उनीहरू सपरिवार बसाइँ सरेर काठमाडौं आए । मारिने डर थियो । धम्कीहरू आइरहन्थे । भाग्नुको विकल्प थिएन ।
सविनाको बुवालाई साहित्यमा पनि उत्तिकै रुचि थियो । घरमा कथा र उपन्यासका चाङ लगाइएका पुस्तकहरू पढ्दै हुर्केकी हुन्, उनी । सानैदेखि कविता कोर्थिन् । रिस, आवेग र मनमा खेलेका हरेक कुरा लेख्ने सविनाको बानी पछिसम्मै रह्यो । उनलाई नेपाली पढ्न सारै मन लाग्थ्यो । दाइहरूसँग ठूलो कक्षाका नेपाली किताब मागेरै पढ्ने गर्थिन् । ज्ञानी, अनुशासित र पढाइमा अब्बल विद्यार्थी थिइन् ।
जनआन्दोलनको समयमा उनकी आमाले बुवा प्रहरीमा जागिरे रहेको बताउन नहुने भनेकी थिइन् । त्यो कुरा उनको मनमा यसरी बस्यो कि स्नातक पढ्दासम्म पनि साथीहरूलाई बुवा लेखामा काम गर्ने बताइरहिन् । प्रेमी बालेनलाई पनि सुरुमा त्यही भनेकी थिइन् ।
उनी भन्छिन्, “बाल्यकालको प्रभाव हामीलाई कहिले नछोड्ने रहेछ । बुवाको त्यो घटनालाई अझै भुल्न सकिनँ । बालेन महानगरको मेयर भएपछि इन्द्रजात्रामा राष्ट्रपतिलाई दिएको तोप सलामीमा म नराम्रोसँग तर्सेँ ।”
काठमाडौं आएपछि भीएस निकेतनमा कक्षा–६ देखि प्लस टुसम्म पढिन् । सुरुमा काठमाडौंमा उनी भीडमा हराएजस्तै भइन् । सानो समुदायबाट ठूलो भीडमा घुलमिल हुन उनलाई सकस भयो । तर, २१ दिन मात्र पढ्दा उनी कक्षा–६ को उत्कृष्ट १० मा परिन् ।
बालेनसँग पढाइमा प्रतिस्पर्धा र प्रेम
सविना र बालेन कक्षा–११ र १२ मा सँगै पढेका साथी हुन् । संयोग नै मान्नुपर्छ, एसएलसीमा दुवैको प्रतिशत एउटै थियो– ७८.३८ । बायोलोजीमा रुचि राख्ने यी दुईबीच हरेक सेमेस्टरमा को टपर हुने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो ।
स्नातक दोस्रो वर्षमा पढ्दै गर्दा बालेनले ‘प्रपोज’ गरे । त्यसपछि उनीहरू साथीबाट प्रेमी–प्रेमिकाका रूपमा रहे । सिनामंगल क्षेत्रको रेस्टुरेन्ट उनीहरूको भेट्ने थलो हुन्थ्यो । करियर र पढाइलाई पनि उत्तिकै महत्त्व दिँदै सँगसँगै लगिरहेका थिए । उनीहरू कतिपटक एकापसमा बोलेनन् । भेटेनन् । समय–समयमा ‘ब्रेकअप’जस्तै हुन्थ्यो । तर, त्यति बेला आ–आफ्नो फेसबुक पेजको वालमा कवितात्मक स्ट्याटसमार्फत सवालजवाफ गर्थे । उनीहरूका लागि फेसबुक ‘फिलिङ्स’ पोख्ने माध्यम थियो ।
उनीहरूले स्नातकोत्तर दोस्रो वर्षमा पढ्दै गर्दा बिहे गरेका हुन् । अन्तरजातीय विवाह भएकाले आफन्तलाई सम्झाउन गाह्रो भयो । तर, परिवारमा खासै संघर्ष गर्नु परेन ।
बिहेपछि सविनालाई आम महिलालाई जस्तै जीवन के हो के हो जस्तो नलागेको होइन । फरक समुदायमा भित्रिनु चानचुने कुरा पनि होइन । तर, उनलाई खासै गाह्रो भएन ।
उपन्यासको जन्म
सविनाले फ्रिलाइन्सर डटकममा आर्टिकलहरू लेख्थिन् । उनले त्यहाँ उपन्यास लेख्न आह्वान गरिएको देखिन् । ४०० डलरको काम थियो । तर, समयसीमाभित्र लेख्न सकिनन् । पछि उनलाई लाग्यो– सिर्जनामा समयको परिबन्ध हुनु हुँदैन । बरु, आफ्नै लागि नै उपन्यास लेख्छु ।
उपन्यासको नाममै फेसबुक खोलिन्, दिपलता । चार महिनाभित्र उनले उपन्यास तयार पारिन् ।
कोठा ‘लक’ गरेर उपन्यास लेख्न बस्थिन् । धेरै समय छोरी कोठा लक गरेर बसेको देख्दा आमालाई छटपटी नहुने कुरै भएन । तर, पछि ‘दिपलता’ हातमा पर्दाको आमाको खुसी देख्दा उनी हर्षविभोर भइन् ।
अहिले अर्को उपन्यास लेखिरहेकी सविनाले ‘दिपलता’लाई परिमार्जित गरी पुनः प्रकाशित गर्ने सोच बनाएकी छन् ।
सविनाले एएनएस क्रिएसन्समा कपी राइटर्सका रूपमा पहिलो जागिर खाएकी थिइन् । पब्लिक हेल्थमा मास्टर्सपश्चात् पब्लिक हेल्थमै प्रोजेक्ट अफिसरका रूपमा काम गरिन् । उनले डिजिटल मार्केटिङ पनि सिकिन् । काम गरिन् । स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य शिविरहरूमा समेत संलग्न भइन् । सोलुखुम्बु, महेन्द्रनगरसम्म गएर शिविर र अभियान चलाइन् ।
निर्वाचनअघि म्यानेजर
महानगरको निर्वाचनताका ‘बालेनकी म्यानेजर सविना काफ्लेले जानकारी दिइन्’ भन्ने समाचार थुप्रै प्रकाशित भए । घोषणापत्र सार्वजनिक हुँदासम्म उनी बालेनकी श्रीमती भनेर टिमभित्र खासै अरूलाई थाहा थिएन । निर्वाचनको समयमा उनी बालेनको सचिवालय नक्सालमा बसेर काम गर्थिन् ।
बालेन र कुमार व्यञ्जनकारसँगै सविना हरेक भेटघाटहरूमा टिमका रूपमा पुग्थिन् । हातमा डायरी र कलम बोक्दै उनी कुराकानीको माइन्युट र रिपोर्टिङ गर्थिन् ।
कलेजदेखिकै ‘बेस्ट फ्रेन्ड’ बालेनले प्लस टुमा पढ्दाताकै ‘भविष्यमा म काठमाडौंको मेयर बन्छु’ भन्दा सविना र अरू साथीहरू ‘हावा’ भन्थे ।
श्रीमान् मेयर भएपछि...
बालेनको काममा विरोध गरिएको देख्दा, गर्न खोजेको काममा बाधा देख्दा कहिलेकाहीँ उनी दिक्क मान्छिन् । धेरैले चिनेपछि धेरै कुरामा होस गर्नुपर्ने, आफ्नो व्यक्तिगत जीवन त्यति नहुने उनको अनुभव छ । काममा तनाव, सोसल मिडियामा गालीहरू आउँदा पनि हरेक दिन उत्तिकै उत्साहका साथ अफिस जाने र तल्लीन भएर काम गरेको देख्दा उनलाई लाग्छ– ओहो, केले बनेको मान्छे होला !
मेयर भएपछि बालेनको लेख्ने र गाउने कार्य छायामा परेको उनी बताउँछिन् । सविना भन्छिन्, “यो पाँच वर्ष महानगरको मुहार फेर्न व्यस्त हुनैपर्छ । धेरैले आशा गरेर पठाएको व्यक्ति हो, काम गर्ने वातावरण बनाइदियो भने महानगरलाई काया पल्टाउन पनि सक्छ, मलाई विश्वास छ ।”