काठमाडौं । स्कट म्याकटोमिनीको दुई गोलप्रेरित स्कटल्यान्डले मंगलबार राति युरो २०२४ को छनोट प्रतियोगितामा स्पेनलाई २–० ले स्तब्ध बनाएको छ ।
ह्यामडेन पार्कमा हासिल गरेको यो जितसँगै स्कटल्यान्डले छनोट प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । स्कटल्यान्डले स्पेनमाथि विजय हासिल गरेको ३९ वर्षपछि यो पहिलोपटक हो ।
पछिल्लो समय स्कटल्यान्डले स्पेनलाई १९८४ मा पराजित गरेको थियो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको स्कटल्यान्ड समूह ‘ए’को शीर्ष स्थानमा छ । पराजित स्पेन तीन अंकका साथ दोस्रो स्थानमा छ ।
स्कटल्यान्डले यसअघि साइप्रसलाई ३–० ले हराएको थियो । स्पेनले नर्वेलाई ३–० ले पराजित गरेको थियो ।

समान एक अंक जोडेका नर्वे र जर्जिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । साइप्रस अंकविहीन छ ।
स्पेन युरोकप छनोट प्रतियोगितामा पराजित भएको २०१४ पछि यो पहिलोपटक हो । त्यतिबेला स्पेन स्लोभाकियासँग पराजित भएको थियो । त्यसयता स्पेनले यस प्रतियोगिताको १९ मध्ये १७ खेलमा विजय हासिल गरेको थियो ।
गएराति म्याकटोमिनीले सातौँ मिनेटमा गरेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ५१औँ मिनेटमा म्याकटोमिनीले अर्को गोल थपेपछि स्कटल्यान्डले महत्वपूर्ण तीन अंक पक्का गरेको हो । म्याकटोमिनीले साइप्रसविरुद्ध पनि बेन्चबाट आएर दुई गोल गरेका थिए ।
‘‘हामीले धेरै राम्रो प्रदर्शन गर्यौँ,’’ म्याकटोमिनीले भने, ‘‘हामीलाई थाहा थियो की उनीहरूसँग बल पोसेसन राम्रो हुनेछ । त्यसकारण प्रशिक्षकले हामीलाई अवसर पाएको बेला गोल गर्न चुक्नु हुँदैन भनेर भन्नुभएको थियो । अन्ततः हामी विजय हासिल गर्न सफल भयौँ । स्कटल्यान्डका समर्थक र खेलाडीले यो रात २०, ३० वर्षसम्म सम्झिरहनेछन् ।’’
नयाँ प्रशिक्षक लुइस डे ला फोन्टेले नर्वेविरुद्ध खेलेको टिममा आठ खेलाडी परिवर्तन गरेका थिए ।