
जनकपुरधाम । जनकपुरधाममा 'मेयर कप' टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र धनुषा जिल्ला क्रिकेट संघको संयोजनमा आउँदो चैत्र २३ गतेदेखि पहिलो पटक मेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता निर्माणाधीन रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।
लिग प्रणालीमा खेलाइने यस प्रतियोगितामा मधेस प्रदेशको आठै जिल्लाको टिम र चारवटा अन्य प्रदेशको गरी १२ वटा टिम सहभागी हुनेछन् । प्रतियोगितामा कुल ३७ लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाले अनुमान गरेका छन् ।
जसको लागि आयोजक संस्था जनकपुरधाम उपमहानगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दश लाख दिने घोषणा गरेका छन् । बाँकी अपुग रकम सहयोगको लागि अनुरोध गरिएको छ ।