
काठमाडौं । अलिबाबा ग्रुपले आफ्नो व्यवसायलाई विभिन्न ६ एकाइ अथवा युनिटमा विभाजन गर्ने भएको छ ।
आफ्नो २४ वर्षे इतिहासको पहिलो ठूलो फेरबदलमा यसले ईकमर्सदेखि क्लाउडसम्मलाई समेट्ने र यीमध्ये पाँचवटा एकाइले आईपीओसमेत जारी गर्ने बताइएको छ ।
यी ६ एकाइहरू क्लाउड इन्टेलिजेन्स गुप्र, ताओबाओ तमलकमर्स गुप्र, लोकल सर्भिस गुप्र, कैनियाओ स्मार्ट लजिस्टिक गुप्र, ग्लोबल डिजिटल कमर्स गुप्र र डिजिटल मिडिया एण्ड इन्टरटेनमेन्ट गुप्र हुने अलिबाबाले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
६ वटै कम्पनीको व्यवस्थापन यसको आफ्नै सीईओ र बोर्डले गर्नेछ । हाल अलिबाबाका सीईओ रहेको डेनियल झाङ अलिबाबा गुप्रको अध्यक्ष र सीईओ कायम नै रहनेछन् ।
यसले होल्डिङ कम्पनी व्यवस्थापन मोडेलमा काम गर्नेछ र डेनियल झाङ क्लाउड इन्टेलिजेन्स गुप्रको पनि सीईओ रहनेछन् । सबै एकाइ वा कम्पनीहरू पुँजी उठाउन र आईपीओ जारी गर्न सक्ने अलिबाबाले जनाएको छ ।
यो समाचारपछि अमेरिकी सूचीकरणमा कम्पनीको सेयर आठ प्रतिशतले बढेको छ । झाङले रोयटर्सलाई “यस सुधारको मूल र मौलिक उद्देश्य भनेको हाम्रो संगठनलाई अझ चुस्त बनाउनु, निर्णय लिने लिंकहरू छोटो पार्नु र छिटो प्रतिक्रिया दिनु हो,” भन्दै प्रतिक्रिया दिएका छन् ।