
काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी हुन कुनै पनि देशबाट सरकार प्रमुख तथा राष्ट्राध्यक्ष नआउने भएका छन् । सहभागिता जनाउने केही देशले मन्त्रीस्तरीय प्रतिनिधिमण्डल, केहीले विशेष प्रतिनिधि र केहीले राजदूतलाई सगरमाथा संवादमा पठाउने भएका छन् ।
सरकारले ३५० जनाभन्दा बढी विदेशी पाहुनालाई निमन्त्रणा पठाएको थियो । त्यसमा थुप्रै देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख पनि थिए । तर सगरमाथा संवादमा कुनै एक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले हालसम्म सहभागी हुने भनेर ‘कन्फरमेसन’ पठाएका छैनन् ।
“सगरमाथा संवादमा करिब १७५ जना विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी गरी जम्मा करिब ३५० जना सहभागीहरूले भाग लिनुहुनेछ,” परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन्, “जसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डल सहभागी हुनुहुनेछ ।”
सगरमाथा संवादमा ६१ देशका अन्तर्राष्ट्रिय संघसंस्था पनि सहभागी हुनेछन् । चीनबाट १४औँ राष्ट्रिय जन कांग्रेस (एनपीसी)का स्थायी कमिटी उपाध्यक्ष सियाओ जी सहभागी हुनेछन् । उनी चीनका पूर्वस्टेटा काउन्सिलर र पूर्वअर्थमन्त्री पनि हुन् ।
भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवको नेतृत्वमा एक प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछ ।
“जसले जलवायु परिवर्तनका मुद्दा बुझेको छ, सम्बन्धित देशले त्यही मन्त्रीलाई सगरमाथा संवादमा सहभागी हुन पठाउँदै छन्,” परराष्ट्रमन्त्री राणाले भनिन् ।
अजरबैजानबाट कोप २९ का अध्यक्षसमेत रहेका पर्यावरण तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुनेछ ।
बंगलादेशबाट समाज कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयकी सल्लाहकार शर्मिन सोनेया मुर्शिद सगरमाथा संवादमा सहभागी हुनेछिन् । भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छेरिङको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सगरमाथा संवादमा सहभागी जनाउनेछ ।
यस्तै, माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम, जापानबाट उप–विदेशमन्त्री इकुइना अकिको, युनाइटेड अरब इमिरेट्सबाट ऊर्जा तथा दिगोपन सहायक विदेशमन्त्री अब्दुल्ला बालाला, बेलायतबाट उप–विदेशमन्त्री ब्यारोनेस सुसान हेमन र कतारबाट विशेषदूत तथा जलवायु परिवतनसम्बन्धी उप–विदेशमन्त्री बहर उमर अल दाफा सगरमाथा संवादमा सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री राणाका अनुसार किर्गिजस्तानबाट पर्वतीय क्षेत्र विकासका लागि पाँच वर्षको कार्ययोजना कार्यान्वयनका लागि राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमेलोभा, ओमानबाट राजदूत इस्सा बिन सालेह अल शिबानी, ब्राजिलबाट कार्लोस अल्बर्टो, इजिप्टबाट राजदूत नोहा हम्दी अहमद एलगेबाली, सार्कका महासचिव मोहम्मद गोलम सरवर, बिमस्टेकका महासचिव इन्द्रामणि पाण्डे, संयुक्त राष्ट्रसंघ (यूएनसीआर नेपाल)को तर्फबाट हाना सिंगर हम्दी, विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रायसर र एसियाली विकास बैंक (एडीबी)का क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिन सगरमाथा संवादमा सहभागी हुनेछन् ।
बहराइन र पाकिस्तानबाट प्रतिनिधिमण्डल आउने भए पनि हालसम्म को आउने स्पष्ट हुन सकेको छैन ।