site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हजारौँ इमेल र वेबसाइट ‘होस्ट’ गरिएको सरकारी डाटा सेन्टर कति सुरक्षित ?

काठमाडौं । काठमाडौंको सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)भित्र सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) छ । सबै सरकारी निकायको प्रयोगका लागि उच्च ‘ग्रेड’को डाटा सेन्टरका रूपमा जीआईडीसी बनाइएको हो । यसले मन्त्रालय र विभागका लागि डाटा स्टोरेज, कम्प्युटर स्रोतको साझेदारी, इमेल र वेबसाइट होस्टिङजस्ता सुविधा उपलब्ध गराउँछ ।

यसबाहेक जीआईडीसीलेपरामर्श सेवा, डोमेन रजिस्ट्रेसन र होस्टिङ, इमेल सर्भर, इगर्भनेन्स, मानव संशाधन प्रशिक्षण, कोलोकेसन सुविधा, भर्चुलाइजेसन र क्लाउड, वेब होस्टिङ र सफ्टवेयर डेभलपमेन्टजस्ता सेवा उपलब्ध गराउँछ ।

डाटा सेन्टरमा डाटा र एप्लिकेसनको भन्डारण गरिन्छ । त्यसको प्रोसेसिङ र डाटा एवं एप्लिकेसनको सञ्चार तथा प्रसार वा त्यसमा पहुँच डाटा सेन्टरकै माध्यमबाट हुन्छ ।

Dabur Nepal

कति वेबसाइट होस्ट गरिएका छन् जीआईडीसीमा ?

राष्ट्रिय डाटा सेन्टरमा हालसम्म एक हजार ६७३ वेबसाइट होस्ट गरिएको एनआईटीसीका सूचना अधिकारी रमेशप्रशाद पोखरेलले जानकारी दिए । यी सबै मन्त्रालय, विभागलगायत सरकारी निकायका वेबसाइटहरू हुन् ।

कुनै पनि वेबसाइटको डाटा अथवा फाइल सर्भरमा राखेर इन्टरनेटको माध्यमबाट सो वेबसाइट र डाटामा पहुँच दिनु नै होस्टिङ हो । राष्ट्रिय डाटा सेन्टरले यसरी नै सरकारी वेबसाइटहरूलाई होस्ट गरेको हो ।

यस्तै, डाटा सेन्टरमा सञ्चालनमा रहेको केन्द्रीकृत इमेल प्रणालीमा १९ हजार १६७ अकाउन्ट (खाता) सञ्चालनमा छन् ।

करिब चार वर्षअघि सरकारले ‘सरकारी निकायहरूमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५’ जारी गर्दै हरेक सरकारी कार्यालय र निजामती कर्मचारीले अनिर्वाय रूपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो ।

कति सुरक्षित छ सरकारी डाटा सेन्टर ?

सबै सरकारी डाटा रहेको डाटा सेन्टरको सुरक्षा महत्त्वपूर्ण पक्ष हो । डाटा सेन्टरमा विभिन्न किसिमका आक्रमणको जोखिम रहेको सूचना अधिकारी पाखरेल बताउँछन् ।

“जति प्रविधिको विकास भयो, त्यति नै चुनौतीहरू पनि थपिँदै गएका छन् । डाटा सेन्टरमा डीओएस आक्रमण, डीएनएस आक्रमण, वेब र एप्लिकेसन आक्रमण, क्रिडेन्सल कम्प्रमाइज, ¥यानसमवेयर आक्रमण, फिसिङ आक्रमण र बाह्य पहुँचजस्ता आक्रमण हुनसक्छन्,” उनले बाह्रखरीसित भने ।

सिंहदरबारभित्र भएका कारण डाटा सेन्टरमा भौतिक सुरक्षा प्रभावकारी भएको उनको भनाइ छ । डाटा सेन्टरमा भौतिक सुरक्षाका लागि पहुँच नियन्त्रण, बायोमेट्रिक सुरक्षा, एक्सेस लग व्यवस्थापन र २४सै घण्टा सीसीटीभीबाट निगरानी हुने गर्छ ।

उनले भने, “यहाँ होस्ट भएका वेबसाइट, एप्लिकेसन र सूचना प्रविधिका पूर्वाधारहरूलाई विभिन्न तहको फायरवाल नीति र बाह्य आक्रमण हुन नदिन एवं डीडसजस्ता प्रयासबाट जोगाउन बलियो सुरक्षा नीति अवलम्बन गरिएको छ ।”

डिस्ट्र्युब्युटेड डिनायल अफ सर्भिस अथवा डीडस आक्रमण हुँदा आक्रमणमा परेको वेबसाइट वा एप्लिकेसनमा इन्टरनेट प्रयोगकर्ताको पहुँच पुग्दैन । आक्रमणकारीले चाहेको पेजमा प्रयोगकर्तालाई पुर्‍याइदिन सक्छ । गएको माघ १४ गते सरकारी डाटा सेन्टरमा यस्तै डीडस आक्रमण हुँदा सबैजसो सरकारी वेबसाइटहरू ‘डाउन’ भएका थिए ।

डाटा रिकभरी सेन्टरको काम

प्राकृतिक प्रकोप र मानवीय त्रुटिले पनि देशको सरकारी डाटा नष्ट नहोस् भन्ने उद्देश्यका साथ केन्द्रीय डाटा सेन्टरको ‘ब्याकअप’का रूपमा मकवानपुरको हेटौँडामा डाटा रिकभरी (डीआर) सेन्टर सञ्चालनमा छ । रिकभरी सेन्टमा केन्द्रीय डाटा सेन्टरमा रहेका प्रणालीको ब्याकअप र ‘रेप्लिकेसन’ गरिएर राखिएको उनले बताए ।

सबै सरकारी वेबसाइटहरू राष्ट्रिय डाटा सेन्टरमै भए पनि केहीले कोलोकेसन गरिराखेको वा सर्भर अर्कै ठाउँमा राखेको र केही निकायले बाहिर आफ्नै परिसरमा राखेको एनआईटीसीले जनाएको छ ।

रिकभरी सेन्टरमा डाटा सेन्टरमा जत्तिकै पूर्वाधारको आवश्यकता पर्ने भए पनि कतिपय हार्डवयरको अभाव रहेको उनको भनाइ छ । त्यसैले सबै वेबसाइटलाई डाटा रिकभरी सेन्टरबाट सञ्चालन गर्न सकिने अवस्था छैन ।

यसको अर्थ केन्द्रीय सेन्टरमा आक्रमण भएर सेवा अवरुद्ध हुँदा रिकभरी सेन्टरमा डाटाको ब्याकअप रहन्छ । तर, सेवा डाउन हुनबाटै रोक्न सक्ने अवस्था छैन । सबै वेबसाइटको ब्याकअप र रेप्लिकेसन गरेर राख्न सक्ने क्षमता समेत त्यहाँ नभएको सूचना अधिकारी पोखरेल बताउँछन् ।

कुनै डाटा प्रणालीको रेप्लिकेसन गरेर राख्दा एक सर्भरमा आक्रमण भए अर्काे रेप्लिकेसन गरेर राखिएको सर्भरबाट उक्त डाटा प्रणालीमा पहुँच प्राप्त हुन्छ । यसरी सेवा अवरुद्ध हुनबाट जोगिन सक्छ ।

रिकभरी सेन्टरमा पूर्वाधारको अभाव

डाटा सेन्टरका विद्युतीय प्रणालीको नियमित रेप्लिकेसन रिकभरी सेन्टरमा गर्नका लागि आवश्यक सामग्री खरिदका निम्ति यथाशीघ्र बजेट चाहिएको एनआईटीसीको भनाइ छ । केन्द्रले ब्याकअप र रेप्लिकेसन सफ्टवेयर समेत आवश्यक रहेको जनाएको छ ।

कोरियाली अनुदान सहयोगसहितको लगानीमा सन् २००८ मा सिंहदरबारमा पहिलो सरकारी डाटा सेन्टरको स्थापना गरिएको थियो । कोरियाली सहयोगमै निर्मित हेटौँडाको डाटा रिकभरी सेन्टर सन् २०१९ सञ्चालनमा आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro