
गुवाहाटी । यहाँको बोरागाउँ क्षेत्रका एकजना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटर खरिद गरेका छन् । सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत ६ वर्षदेखि १, २, ५ र १० रुपैयाँका सिक्का जम्मा गरेर नयाँ स्कुटर खरिद गरेका हुन् ।
आर्थिक अभावका कारण स्कुटर किन्न नसेकेका हकले लामो समयदेखिको आफ्नो सपना साकार पार्न सिक्का संकलन थालेका थिए । उनको यो प्रयासलाई प्रेरणादायी अभ्यास भन्दै स्कुटर सोरूमका बिक्रेता मनिष पोद्दारले हकलाई यसैगरी एकदिन चारपांग्रे सवारी साधन किन्ने अवस्थामा पुर्याउन बताएका छन् ।
एक बोरा सिक्का लिएर सोरूममा आएका हकलाई देख्दा प्रारम्भमा आश्चर्य मानेका ती बिक्रेताले बोराका सिक्का गन्दा ९० हजार रुपैयाँ रहेको बताइएको छ । बिक्रेताले हकको चाहनाअनुसारको स्कुटर उनलाई हस्तान्तरण गरे । एक बोरा सिक्का जम्मा गरेर स्कुटर किन्न सकेकोमा हर्षित उनले आफ्नो सपना पूरा भएको बताएका छन् ।
पोद्दारले बोरामा सिक्का बोकेर आएका हक र उनले आफ्नो पसलबाट स्कुटर खरिद गरेको समाचार स्थानीय टेलिभिजनमा देख्दा तथा पत्रपत्रिकामा पढ्दा आफूलाई ज्यादै खुसी लागेको बताएका छन् । (रासस/एएनआई)