
काठमाडौं । टिकटक र यसको मुख्य कम्पनी बाइटडान्सका कर्मचारीहरुले सधैंजसो चाहेको भिडियोमा निकै धेरै भ्युज पुर्याउन ‘हिटिङ’को प्रयोग गरिरहेको पाइएको छ ।
टिकटकका ६ जना वर्तमान र पूर्वकर्मचारी एवं फेला परेका कम्पनीका आन्तरिक कागजातलाई उद्धृत गर्दै फोब्र्सले एल्गोरिदमबाहेक चाहेका भिडियोलाई बढीभन्दा बढी भ्युज दिन कम्पनीले आन्तरिकरुपमा हिटिङ भनिने यस्तो अभ्यास गर्ने गरेको खुलासा गरेको हो ।
एमआईएनटी हिटिङ प्लेबुक शीर्षकको टिकटकको आन्तरिक कागजातमा भनिएको छ, “हिटिङ फिचरले कुनै पनि भिडियोमा निश्चित भ्युज पुर्याउन फर यू पेजको फिडमा बुस्टिङको गर्ने भन्ने बुझाउँछ ।”
टिकटकले यो अभ्यास गर्ने गरेको कुरा कहिल्यै सार्वजनिक गरेको थिएन । सामाजिक सञ्जालका अन्य कम्पनीहरुले पनि यस्तो गर्ने गर्छन् । तर, उक्त पोस्टमा बुस्ट गरिएको जानकारी भने राखिएको हुन्छ ।
हिटिङ क–कसले र कसरी प्रयोग गर्ने भन्नेबारे फोर्ब्सले सोधेको प्रश्नहरुको जवाफमा टिकटककी प्रवक्ता जेमिफा भाजाले भनेकी छन्, “हामी कन्टेन्टको अनुभवलाई विविधीकरण गर्न र टिकटक कम्युनिटीमा सेलिब्रेटहीरु र क्रिएटरहरुलाई सहयोग गर्न केही भिडियो प्रमोट गर्छौँ । अमेरिकामा केही प्रयोगकर्ताहरुलाई मात्रै कन्टेन्ट प्रमोसन गर्न सक्ने अनुमति छ र त्यसरी प्रमोट गरिएका कन्टेन्ट फर यू फिडको करिब ०.००२ प्रतिशतमात्रै हुनजान्छ ।”
चीनमा भने टिकटकले सरकारी निर्देशनअनुरुप चाहेका भिडियोहरुमा यसरी धेरै भ्युज पुर्याउन यसको प्रयोग गरिरहेको हुनसक्ने आशंका गरिएको छ ।
टिकटकले प्रयोगकर्ताको तथ्यांक चिनियाँ सरकारलाई उपलब्ध गराउन सक्ने भन्दै राष्ट्रिय सुरक्षाको विषयलाई लिएर अमेरिका, क्यानडा, बेलायतलगायतका देशले सरकारी उपकरणहरुमा यसको प्रयोग प्रतिबन्ध गरेको छ ।
अमेरिकाले टिकटक बिक्री गर्न अन्यथा अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने भन्दै चेतावनी दिएको छ ।