
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले एन्फाबाट आएको तलब राष्ट्रिय टिमका खेलाडीले उपचार खर्च नपाएको स्थानमा सहयोग गर्ने बताएका छन् ।
यसअघि फागुनमा बसेको एन्फा कार्यसमितिको बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई ९९ हजार पारिश्रमिक दिने निर्णय गरेको थियो ।
तर, स्वयम्सेवकको रूपमा रहने गरी एन्फामा आए पनि पारिश्रमिक लिने निर्णय गरेको भन्दै खड्काको चर्को विरोध भएको थियो । चौतर्फी विरोध भएपछि वरिष्ठ उपाध्यक्ष खड्काले सोमबार ‘राष्ट्रिय टिमको कुनै खेलाडी घाइते हुँदा उपचार खर्च नपाए सेवा सुविधाबाट आएको पैसा सहयोग गर्ने’ घोषणा गरेका हुन् ।
“एन्फा पदाधिकारीले विशेष दिनमा ३५ सय रुपैयाँ भत्ता पाउने एन्फाको विधानमा छ । तर, अब चार महिना दैनिक ३५ सय भत्ता लिनुभन्दा सेवासुविधाबापत ९९ हजार रुपैयाँ लिँदा एन्फाको आर्थिक भार कम हुने भएकाले यो लिने निर्णय गरेका हुँ । तर, यो पैसा पनि कतै दुःख परेका खेलाडी छन् भने त्यहाँ खर्च गर्नेछु । राष्ट्रका लागि खेल्ने खेलाडीले दुःख पाएका छन् र मैले थाहा पाए भने म यो पैसा उसलाई सहयोग गर्नेछु,” खड्काले भने ।
खड्काले आफूले तलब नभई एन्फाबाट प्राप्त हुने सेवा सुविधाको प्रयोग गरेको र यो यसअघिका एन्फा नेतृत्वले पनि गर्दै आएको बताए ।
एन्फाले वरिष्ठ उपाध्यक्ष खड्काले सहिद स्मारक ए, बी र सी डिभिजन लिग र प्रधानमन्त्री थ्री नेसन कप र महिला ओलम्पिक क्वालिफायरमा पूर्णकालीन समय दिनुपर्ने भएकाले फागुन १ गतेदेखि जेठ मसान्तसम्म मासिक ९९,००० उपलब्ध गराउने निर्णय गरेको थियो ।