
काठमाडौं । कार्यकारी निर्देशकको राजीनामासहित ६ बुँदे माग राख्दै सिभिल (निजामती कर्मचारी) अस्पतालका कर्मचारी चार दिनदेखि आन्दोलनमा छन् ।
अस्पतालका निजामती कर्मचारी संघ, प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र डाक्टर एसोसिएसनका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको चौथो दिन सोमबार उनीहरूले कार्यकारी निर्देशक, प्रशासन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।
अस्पतालको दैनिक कामकाज र सेवा प्रभावित नहुनेगरी आफूहरू दैनिक १५ मिनेट धर्नामा बसेको र मंगलबारदेखि रिले अनशन समेत सुरु गर्ने अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए ।
यस्ता छन् आन्दोलनरत कर्मचारीका मागहरू
१. कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने
२. पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर्नुपर्ने
३. अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायित्व सुनिश्चित गर्नुपर्ने
४.विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्नुपर्ने
५. रिक्त दरबन्दीमा नयाँ ओ एण्ड एम गरेर मात्रै विज्ञापन खोल्नुपर्ने
६. दैनिक ज्यालादारी र सेसनमा नयाँ नियुक्ति बन्द गर्नुपर्ने