site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निराशाभन्दा आशाले नै देशलाई अघि बढाउँछ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको समृद्धिको आधार निरन्तर आशावादमा टिकेको बताएका छन् । उनले पछिल्लो समय निराशाका सन्देशलाई बढी प्राथमिकता दिइँदा त्यसले समग्र राष्ट्रिय विकासमा अवरोध पुगेको गुनासो गरे । 

नेपाल प्रज्ञा–प्रतिष्ठानले मंगलबार आयोजना गरेको प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले मुलुक अहिले कुनै पनि द्वन्द्वमा नरहेको र सबै मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध कायम रहेको बताए । 

Argakhachi Cement Island Ad

यस्ता सकारात्मक पक्षहरूले समस्या समाधानको मार्ग खोलिरहेको उनले उल्लेख गरे । “देश अब विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिसकेको छ, त्यसैले आशाको सञ्चार अत्यावश्यक छ,” मन्त्री पाण्डेले भने । 

उनले साहित्य, कला, संस्कृति तथा दर्शनजस्ता विषयले समाजको सोच परिवर्तन गर्न ठूलो भूमिका खेल्ने बताए । साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डोहोर्‍याउने संवाहकको भूमिका निर्वाह गर्दै आएको उनले बताए । 

समाज सुधारमा साहित्यिक क्षेत्रको योगदान अपरिहार्य रहेको भन्दै मन्त्री पाण्डेले यस्ता सिर्जनशील क्रियाकलापलाई प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

समारोहमा वर्ष ०७८का लागि विभिन्न ११ विधामा प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, समालोचना, दर्शन, बालसाहित्य, अनुवाद तथा अन्तरदेशीय क्षेत्रका विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गरियो ।

पुरस्कार प्राप्त गर्नेमा चूडामणि रेग्मी (भाषा), दिल सहनी (सामाजिकशास्त्र), डिक बान्तावा (संस्कृति), शारदारमण नेपाल (बालसाहित्य), जसराज किराँती (साहित्य–पद्य), कृष्ण धरावासी (साहित्य–गद्य), डा. सुधा त्रिपाठी (समालोचना), गोपीरमण उपाध्याय (दर्शन), डा. बलराम अधिकारी (अनुवाद) तथा भारतका भविलाल लामिछाने (अन्तरदेशीय) रहेका छन् ।

प्रत्येक पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष यी विधामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानस्वरूप उक्त पुरस्कारहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्