site stats
अर्थ व्यवसाय
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
फाइल तस्बिर ।

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार ९४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झन्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो ।

पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले बताए । उनले भने, “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ ।”

Himalayan Bank
Agni Group

सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण समेत गरेको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि १२५ पटक एकल अनुगमन र ११६ पटक संयुक्त रूपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार ८६९ व्यापारीले नापतौल तथा नाप्ने–तौलने यन्त्र जाँच गरेका छन् । यस्तै, ४१५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल ट्यांक जाँच, पाँच हजार ७० ट्याक्सीको मिटर जाँच गरेको छ ।

Global bank

कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउँछन् । “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ,” उनले भने ।

सो कार्यालयले चालु आवको आठ महिनामा एक करोड ३५ लाख ६३ हजार ६७९ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले हाल काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्