site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर सुरु

काठमाडौं । सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारको आयोजनामा तेस्रो स्पार्क एड्भेञ्चर सुरु भएको छ । शुक्रबार काठमाडौंबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० भन्दा बढी सहभागी टोली सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरी टाप र ओखलढुंगाको रुम्झाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टेन विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाल लगायतका कलाकार सहभागी छन् ।

"दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो,” स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने, “सहभागीहरू विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।” काठमाडौंबाट सडकमार्फत एकैदिनमा पुग्न सकिने गौरीटाप सगरमाथा लगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो ।

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौंबाट २३० किलोमिटरको दुरीमा रहेको गौरी टाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ ।

चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगा लगायतका हिमाल तथा चुचुराहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

घनाजंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।

स्पार्क एड्भेञ्चरको दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिने छ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा सांगीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् । सो दिन सहभागीहरू स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुंगाको रुम्झाटारको होमस्टेमा रात बिताउनेछन् । यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराईले बताए ।

यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरि रुम्झाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ । गुरुङ समुदायको बाहुल्य रहेको रुम्झाटार कुनै समय भेडापालन र राडीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडी रुम्झाटार विमानस्थलबाट काठमाडौंसम्म पुर्‍याइन्थ्यो । तेस्रो दिन सहभागीहरू विद्युतीय सवारीमै काठमाडौं फर्कने तालिका छ ।

प्रत्येक वर्ष प्रचुर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह सिकार अवलोकनलाई प्रवर्द्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवर्द्धन गरेको थियो ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro