
बुटवल । बुटवलमा जारी २२औँ संस्करणको तिलोत्तमा गोल्डकपको दोस्रो खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।
शनिबारदेखि सुरु भएको गोल्डकमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दे थ्री स्टार विजयी भएको हो । जितसँगै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको छ ।
दोस्रो हाफको ३८ मिनेटमा १८ नम्बर जर्सीका खेलाडी दिपेश गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । यसअघि शनिबार भएको खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ ।
रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, प्रत्येक खेलमा 'म्यान अफ द म्याच'लाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।