
काठमाडौं । पोल्यान्डले युक्रेनलाई सोभियतकालीन चार मिग लडाकु विमान सहयोग गर्ने भएको छ । योसँगै पोल्यान्ड गत वर्ष रूसले आक्रमण गरेयता किभमा लडाकु विमान पठाउने पहिलो नेटो मुलुक बन्नेछ ।
पोल्यान्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले आउँदा दिनमा यी विमान पठाइने र भविष्यमा थप हस्तान्तरण गरिने बताएका छन् ।
यो कदम युक्रेनको हवाई प्रतिरक्षाका लागि स्वागतयोग्य भए पनि अतिरिक्त जेट विमानहरू युद्धमा निर्णायक हुने अपेक्षा भने गरिएको छैन ।
युक्रेनको संसद्की उपसभामुख ओलेना कोन्ड्राट्युकले थप देशहरूले पनि पोल्यान्डको कदम पछ्याउने आशा व्यक्त गरेकी छन् ।
युक्रेनले यसअघि पश्चिमी देशहरूसित एफ–१६ जस्ता आधुनिक लडाकु विमानहरू उपलब्ध गराउन आग्रह गरेको थियो ।

बेलायतले युक्रेनी पाइलटहरूलाई नेटोस्तरका विमानको प्रशिक्षण दिइरहेको छ । तर, प्रशिक्षणमा लाग्ने लामो समयका कारण यो दीर्घकालीन विकल्प मात्र हुन सक्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि अमेरिकाबाट युक्रेनमा विमानहरू पठाउने विषय अस्वीकार गरेका थिए ।
रूसले गत वर्ष आक्रमण सुरु गर्ने बेला युक्रेनसँग सोभियतकालीन करिब १२० मिग–२९ र एसयू–२७ एस लडाकु विमान भएको अनुमान गरिएको थियो ।
पोल्यान्डका राष्ट्रपति डुडाले आफ्नो देशसँग अझै एक दर्जनजति सोभियत युगको मिग–२९ विमान सञ्चालनमा रहेको बताएका छन् । बीबीसीबाट ।