site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तुलसी सहकारीका निक्षेपकर्ताको डेढ अर्ब जोखिममा, ठगीसम्बन्धी मुद्दामा तीनजना पक्राउ 

जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराउँदै तुलसी सहकारीका निक्षेपकर्ता ।


विराटनगर । मोरङ आसपास तीन जिल्लामा कारोबार गर्दै आएको तुलसी सहकारी संस्थाका साढे २१ हजार निक्षेपकर्ताको डेढ अर्ब रुपैयाँ जोखिममा परेको छ । सहकारी संस्थाका सदस्य तथा निक्षेपकर्ताले प्रहरीमा ठगीविरुद्धको उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सहकारीको रकम जोखिममा परेर निक्षेप फिर्ता नपाएको भन्दै १२१ जनाले उजुरी दर्ता गराएका छन् । सहकारीका सञ्चालक र कर्मचारी समेत आठजनाविरुद्ध अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एवं एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका तीनजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

तुलसी सहकारी नेपालभर कार्यक्षेत्र रहने गरी ०५२ चैत १३ गते सहकारी विभागमा दर्ता भएको थियो । उक्त सहकारीको केन्द्रीय कार्यालय विराटनगर महानगरपालिका–२ मा रहेको छ । संस्थाका देशभर २१ हजार ७१३ सदस्य छन् । तीमध्ये चार हजारभन्दा बढी सदस्य विराटनगरमा छन् ।

एसपी पोखरेलले भने, “विराटनगरसहित मोरङका चार हजार निक्षेपकर्ताको १२ करोड नौ लाख चार हजार ४८७ रुपैयाँबराबरको रकम ठगी गरेको र सो असुलउपर गराउन माग गर्दै उजुरी परेको छ ।”

सोमबार पनि जिल्ला प्रहरी कार्यालयमा सोसम्बन्धी उजुरी दर्ता गराउनेको भीड लाग्यो ।

मोरङको उर्लाबारी नगरपालिका–६ मा बस्ने संस्थाका उपाध्यक्ष अनिता गौतम, झापाको भद्रपुर नगरपालिका–३ घर भई विराटनगर–२ मा बस्ने सहकारीका सचिव सविना न्यौपाने र विराटनगर–२ मै बस्ने संस्थाका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको पुष्पलालचोककी रन्जना सुवेदीले सहकारीमा दैनिक बचत गर्ने गरेकी थिइन् । एक्कासि सहकारी बन्द भएको खबर पाएपछि उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेको उनले बताइन् । “मैले दैनिक रूपमा ७० हजार रुपैयाँ जम्मा गरेकी थिएँ । तर, फिर्ता लिन सहकारीको कार्यालय जाँदा बन्द रहेछ,” उनले भनिन् ।

विराटनगरकै पञ्चमाया तामाङ छरछिमेकीले ‘सहकारी डुब्यो’ भनेपछि संस्थाको कार्यालयमा पुगेकी थिइन् । तर, त्यहाँ कोही कर्मचारी फेला नपरेपछि प्रहरी कार्यालय आएको उनले सुनाइन् ।

हाल सहकारीको शाखा तथा सेवा केन्द्र झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा सञ्चालनमा छ । बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत खाताहरूमा बचत गर्दा र संस्थाको सेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज, बोनसलगायत आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । आफ्नो र परिवारका सदस्यको सुरक्षित भविष्यको आशामा बचतकर्ताले रकम जम्मा गरेको पाइएको छ ।

संस्थाका अध्यक्ष केदारनाथ शर्माको खोजीकार्य अघि बढाइएको प्रहरीले जनाएको छ । बचतकर्ताको रकम जोखिममा परेसँगै शर्मा फरार छन् । उजुरी परेका अरू पाँच सञ्चालक समेत सम्पर्कमा छैनन् । एसपी पोखरेलले बाह्रखरीसित भने, “हामी सबैको खोजीमा लागिरहेका छौँ ।”

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोग लिएर अनुसन्धान तथा खोजीकार्य अघि बढाइएको उनले बताए । “हालसम्मको प्रारम्भिक अनुसन्धानबाट योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्ताहरूलाई ठगी गरेको देखिएको छ,” उनले भने ।

सहकारीपीडितलाई पाँच दिनभित्र प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरिएको छ । एसपी पोखरेलका अनुसार मोरङका निक्षेपकर्ताको मात्र ६० करोड रुपैयाँ जोखिममा परेको देखिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro