site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हृदयको क्यानभास, चौतारीको वर र पीपल : दुई प्रसंग

मेरो गाउँको विद्यालयमा, म पढ्दाताका ‘अटोग्राफ’ बनाउने चलन थिएन (अहिले छ/छैन थाहा छैन) । तसर्थ, मैले बनाएको थिइनँ । पछि, कलेजमा पढ्दा, केही साथीभाइहरूले अरुचि कै कारणले होला, मेरा केही साथीहरूले मात्र मलाई अटोग्राफ लेख्न दिए । त्यसमध्ये ‘अटो’ आदानप्रदान गर्ने गरेको भए पनि मलाई अटोसङ्ग्रहले त्यति आकर्षित गरेन । मेरो पनि जो साथीहरू बढी नजिकका लाग्दथे, मन लगाएर लेखिन्थ्यो, अरूमा औपचारिकता । थाहा छैन, त्यसबेला अटो संकलन गर्ने साथीहरूले कहिलेसम्म सँगै राखे होलान् !

मेरो दुईजना परिचित मित्रहरूको अटोग्राफमा मेहनत गरेर, मैले पढेका, मलाई प्रिय लाग्ने कविताहरू सारेको थिएँ, ती भावुकताका अन्त्य कहाँ भए होलान् भन्ने चैँ बेलाबेलामा सम्झना आउँछ । पछि, स्नातक तहमा पढ्दा म र मेरा एक मित्रले नेपाली वाङ्मयका मूर्धन्य स्रष्टाहरूसँग भेटघाट गरेर हस्ताक्षर संकलन गर्ने शौख बनायौँ ।

हालै कामविशेषले पुराना कागजातहरू केलाउने क्रममा प्राप्त भएदेखि उक्त अटोग्राफ मेरो कार्यालय आउने ब्यागमा रहिरहेको छ । आज झन्डै २५ वर्षपछि ती पानाहरू पल्टाउँदा मलाई एउटा युगको पुनः स्मरण भइरहेछ । पुराना बितेका दिनका आ–आफै केही विवशता थिए होलान्, पीडा र वेदना थिए होलान्, केही आनन्द र आल्हाद पनि थिए होलान् । ती सबै मिश्रित भएर आउँदा, बिताई सकिएका ती दिनहरूप्रति पुनः सरर फर्किएर जाँदा, म अहिले पनि भावुक भएको महसुस गर्दछु ।

ती दिनहरूमा विचरण गर्दा रमाएको छु, दुःखी भएको छु आफ्ना सपना सम्झिएर, घरीघरी निराश र घरीघरी लाजले भुतुक्क भएको छु । मेरा सफलता/असफलता, निराशा/कुन्ठा, प्राप्ति/खुसी र वेदना सम्पूर्णमा, म सायद तिनै विगतका दिनहरूको आधारमा उभिएको छु । जग कसरी बस्यो, त्यसैमा म निर्माण भएको छु ।

यी सोचाइले मलाई कताकता स्कुले जीवनका र कलेजका साथीहरूको अटो संकलन नगरेकोमा केही गुमाएको जस्तो महसुस भइरहेछ । ती सबै मेरा मित्रहरू अहिले कहाँ, कसरी हुनुहोला ? बाल्यावस्था र किशोरावस्थामा रहेका उमंग, आकांक्षा, सपना र उत्साहले कसकसलाई कहाँ पुरÞ्यायो होला ? अटोग्राफमा त्यसबेला कोरिने भावुक शब्दले अहिले कति रमाइलो गराउँदथ्यो होला ?

Global Ime bank

अनि, त्यसका साथै दिइने विवरणले मलाई उहाँहरूको सपनाको बारेमा, आकांक्षाको बारेमा, अनि त्यसबेला सोचेको आदर्शको बारेमा बताउँथ्यो होला । जीवनका यी यावत् वर्षहरूमा भोगिएका मीठा/नमीठा, तीता/स्वादिला उतार/चढाव, आकर्षक/भयावह अनुभव र अनुभूतिले अहिले के कस्तो बनायो होला भनेर तुलना गर्न कति मीठो हुन्थ्यो होला भन्ने लागिरहेछ । कसका कति सपनाहरू यथार्थ भए होलान् ? कति सपना अझै सपना होलान् ?

अनि, कति सपनाले अझै पछ्याइरहेका होलान् ? कुनैकुनै सपनाले त सपना पूरा नहुने मात्र हैन, फेरि सपना मात्रै हेर्न बाध्य तुल्याइरहेका होलान् । किशोरावस्थाका अभिव्यक्ति संकलन गरेर राख्न सकेको भए विगत तीन दशकको थपेडाले ल्याएको परिवर्तन अध्ययन गर्न एउटा रमाइलो सूचकांक हुन्थ्यो होला ।

म सबैलाई सोध्ने थिएँ, ती अभिव्यक्तिलाई आधार बनाएर जीवनलाई ग्राफमा ढाल्दा कस्तो देखिइरहेछ ? भूगोल पढाउन प्रयोग गरिने ग्लोबमा देखिने अक्षांश र देशान्तरजस्ता वा माथि उँचाइबाट फोटो खिच्दा देखिने हिमाल/पहाडको उकाली/ओहाली, उच्च विन्दु र ढलानजस्तो ।

यस्तो लेख्दा मलाई केही मित्रहरूको सम्झना अत्यन्त तीव्र रूपमा आइरहेछ, सोध्न मन लागिरहेछ– ती सपना कहाँ गए, वाचाहरू के भए ?

‘कुहिनाले पहाड फोड्छु’, ‘उडेर चन्द्रमा छुन्छु’ भन्ने उत्साहको उमेरमा देखेका सत्यतामा, अनुभूतिमा पर्दा केले हाल्यो ? यो जीवनमा मन नै नलागी नलागी, गरिएका सम्झौताहरूले के दिए ? अनि, समग्रमा के प्राप्ति भयो त ?

एउटा भेट एउटा मुस्कान नै हृदयका क्यानभासमा लेखिने एउटा रमाइलो विषय मलाई लागिरहेछ । लैनसिंह बाङदेल ३/९/०३०— अटो पल्टाउँदै जाँदा साह्रै सुन्दर, कलाकारकै अक्षर भन्न सुहाउने, अनि प्रत्येक अक्षरबाट लेखकका व्यक्तित्वप्रति आश्वस्त हुन सकिने अक्षर र यी अभिव्यक्तिहरूले आज मलाई सोच्ने र लिपिबद्ध गर्ने थुप्रै सोचाइका तरंग र प्रेरणाहरू दिइरहेछन् ।

मानवीय संवेदना अभिव्यक्त गर्ने सबैभन्दा परिष्कृत माध्यम नै मुस्कान हो जस्तो लाग्दछ । मुस्कान मानवीयता सम्वद्र्धन गर्ने, मानव–मानवबीचको सम्बन्धलाई सेतुको रूपमा जोड्ने तथा मानवीय स्वभावको सबैभन्दा परिचायक तत्त्व नै हो भन्नमा मलाई द्विविधा छैन ।

मान्छेलाई मान्छेको मुस्कानले जति सजिलै परिवर्तन गर्दछ, सायद अन्य कुनै पनि इशारा वा हावभावले त्यो सम्भव हुँदैन । भाषा नबुझिने ठाउँमा पनि मुस्कानले नै सायद फरकै नपर्ने गरी चिनजान र संवादको बाटो खोल्दछ ।

मलाई थाहा छैन, अटो संकलनको क्रममा पुगेका हामी दुई विद्यार्थीका अनुहारमा उहाँले के देख्नुभएको थियो होला, त्यस बखत । हाम्रा मुस्कानलाई हृदयको क्यानभासमा नै राख्नुपर्ने के थियो होला र ? हालै विभिन्न कार्यक्रमको सन्दर्भमा खिचिएका बाङदेलजीका तस्बिरहरूमा व्याप्त निश्चल र स्निग्ध मुस्कानले मलाई मनमा कताकता उक्त भेटको मीठो सम्झना निकै भावुक रूपमा आइरह्यो ।

मैले त्यस दिन, त्यसताका मैले पढेको एक अमेरिकी लेखकको नेपालको पैगोडा मन्दिरको बारेमा लेखिएको पुस्तकको बारेमा चर्चा उठाएँ । कुमायु क्षेत्रदेखि नेपालसम्ममा भएको पैगोडा मन्दिरको वास्तुकला, निर्माणकलाको वैज्ञानिक आधारको बारेमा लेखिएको त्यो पुस्तकको बारेमा उक्त लेखकसित पत्राचार गर्दा नेपालमा कलाकृतिको वैज्ञानिक अध्ययन र मूल्यांकनको अभावको बारेमा आफ्नो चिन्ता पोखेको थिएँ ।

उहाँबाट व्यक्त भएका आशावादी अभिव्यक्तिले मलाई धेरै लामो समयसम्म सन्तोषको सास फेर्ने मौका प्रदान गरेको थियो । आज आ–आफ्ना कलाकृतिहरू विदेशबाट फिर्ता ल्याउने गम्भीर कोसिसहरू, करिबकरिब सबै देशहरूले गरिरहेको सन्दर्भमा नेपालका बहुमूल्य, कलाकृतिहरू वैज्ञानिक अध्ययनको आधारमा फिर्ता माग्न सके कति उपयोगी हुन्थ्यो होला भन्ने लागिरहेछ ।

कति प्रामाणिक ढंगले हाम्रा कुराहरू राखिन्थ्यो होला, अनि सशक्त ढंगले राखेका मागहरूमा विश्व जनमतसंग्रह सिर्जना गर्ने काम कति प्रभावकारी हुन्थ्यो होला । म अहिले झलझली सम्झिरहेछु भारतका प्रख्यात पुरातत्वविद् जो पछि भारतको संसद्को माथिल्लो सदनमा मनोनीत सांसद भएका थिए, उनले मलाई बडो सरल भाषामा भने, ‘मैले तिमीहरूको देशमा भएको ऐतिहासिक, बहुमूल्य, कलाकृतिको रूपमा रहेको मूर्तिहरूको बारेमा लेख्दा जति पनि उल्लेख गरेको थिएँ, ती सबै जसोको फोटो पनि आफ्नो किताबमा राखेको छु । आज ती अधिकांश मूर्ति, विदेशी (उनले एक राष्ट्रको नाम लिएर भनेका थिए, त्यो नाम म अहिले उल्लेख गर्न चाहन्नँ) म्युजियममा देख्दा साहै्र नरमाइलो लागेको छ ।

यो १९८३ को कुरो हो, म एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदा दिल्लीमा भनेका यी वाक्य जहिले सम्झँदा पनि मुटुमा सुइरो रोपेको जस्तो पीडा हुन्छ । हालै एउटा मूर्ति नेपालमा फर्काइएको समाचार छापाहरूमा आउँदा मैले ती भारतीय विद्वान्लाई निकै सम्झिरहेँ । कसरी प्रयत्न गर्ने होला ? कतै उल्लेख नभएका को त कुरै छोडौँ, सप्रमाण पुस्तकमा उल्लेख भइसकेका कलाकृति फिर्ता गर्न प्रयत्न गर्न सके पनि ठूलो उपलब्धि हुन्थ्यो ।

यस विषयमा सायद उच्चस्तरीय प्रयास हुनुपर्छ होला, अन्तर्राष्ट्रिय क्षेत्रमा नै सप्रमाण आफ्नो पक्ष प्रस्तुत गर्न सक्ने विद्वान् र मनीषीहरूको नेतृत्वमा । बाङदेलजीको साहित्यसितको परिचय सायद स्कुलमा पढ्नुपर्ने ‘लंगडाको साथी’को पाठ्यांशबाट भएको हो । त्यसपछि, ‘मुलुक बाहिर’ र ‘माइतीघर’हरूबाट उहाँको मीठो रचनाको स्वाद पाइएको थियो । पछि उहाँको चित्रकलाको बारेमा थुप्रै चर्चा परिचर्चाहरू पढ्न पाइयो । उहाँका चित्रहरूको स्वाद पूर्ण रूपमा लिन सक्ने स्तरको अध्ययन नभए तापनि विभिन्न विश्लेषणात्मक लेखहरूको माध्यमबाट उहाँको चित्रकलाका प्रवृत्तिहरू चैँ बुझ्न थालिएको महसुस हुन्थ्यो ।

हाम्रो अवैज्ञानिक शिक्षा प्रणालीले, हामीलाई, अन्धाले हात्ती छामेर हात्ती चिन्न सिकाउने स्तरको बनाएजस्तै, सिलसिलाबद्ध, प्रणालीयुक्त अध्ययन अपनाउन नसकेको कारणले चित्रकलाको अध्ययन पनि भ्यागुताकै उफ्राइजस्तै अर्थ न वर्थको हुन पुग्यो । कलेज जीवनका आफ्नै बाध्यतायुक्त जीवनबाट, विभिन्न जिजीविषाले भरिएको जागिरे जीवनमा प्रवेश गरेपछि त झनै, न त जाँगर रहन गयो न त उत्साह नै ।

तथापि, कहिलेकाहीँ साहित्य र कलाका चर्चा चल्दा आफ्ना अनुभवहरू बताउन भने छोडिएन । बाङदेलका कुरा निस्कँदा उहाँसितको भेटको प्रसंग आफ्नो हृदयको क्यानभासमा पल्टाएर हेर्न छाडिएन । हालै उहाँका चर्चा, परिचर्चा, मन्तव्यहरू अखबार र छापाहरूमा छापिँदा क्यानभासमा ती स्मृतिहरू अझ ताजा, सफा र स्पष्ट भएर आएको महसुस भइरह्यो । उहाँको हँसिला अनुहार अखबारमा आउँदा उक्त दिनको भेटघाट र सम्झना हिजो आजकै हो कि जस्तो लागिरहेछ ।

यो मीठो भेटको शीतल स्मृतिको कुरा गर्दा गर्दै मलाई मेरो अटोमा प्रयोग भएको अर्को भेटघाटको शीतलताको उल्लेख नगरी यो चर्चा सिध्याउनै मन लागेन ।

‘चौतारीको वर र पीपल, तिम्रो हाम्रो भेट कति शीतल’

यी शब्दहरू पढेरै पाठकहरूले ठम्याइसक्नुभयो होला, यी अभिव्यक्तिहरू कसका हुन् भनेर । यी शब्दहरूमा उहाँको व्यक्तित्वको स्पष्ट छाप छ । पूर्व मेचीदेखि पश्चिम महाकालीका सीमालाई पनि नाघेर परपरसम्म, साह्रै साधारणदेखि साह्रै उच्च व्यक्तित्वसम्मले सजिलै ठम्याउने यी शब्दहरू जनकवि केशरी धर्मराज थापाजीका हुन् ।

हरफ लेखिसकेपछि मैले सायद परिचय दिइराख्नु पर्दैन थियो होला, यी हरफहरूमा उहाँको व्यक्तित्व स्पष्ट अंकित छन् जस्तो लाग्दछ । बाल्यकालदेखि उहाँको साह्रै मीठो छाप मनमा रहेको अनुभव गरेको छु । उहाँका करिब करिब सबै गीतबाट मुग्ध भएको छु । उहाँले प्रयोग गर्नु भएको भाका, भाषा र मिठास विभिन्न अवसरमा विभिन्न कार्यक्रममा विभिन्न रूपमा प्रयोग गरेको छु ।

साँच्चिकै रमाएको छु, उहाँका गीतहरूमा । आफू जत्तिकै औधी रमाउने थुप्रै व्यक्तिहरू चिनेको छु । नेपाली संगीतको प्रसंगमा उहाँको उच्च उपस्थिति सायद मजस्ता सबैको लागि उत्साहकै विषय हो । उहाँका गीतमा प्रयोग भएका कतिपय शब्दहरू मैले कण्ठ पारेको छु । आत्मसात् गरेको छु । धेरैपटक दोहरÞ्याएको छु । अहिले पनि ती शब्दहरूको प्रयोग गर्दा मनमा एउटा आनन्दको संचार हुने, रोमाञ्चित महसुस गर्ने गरेको छु ।

ती गीत सुन्दा मोहित र टोलाउने गरेको छु । ती गीत र ती शब्दहरूको सन्दर्भ उल्लेख गर्दा साहै लामो सूची बन्ने डरले मैले संकेत मात्रै गरेको हुँ । यो लेख्दा पनि मन रमाइलो भइरहेछ । सायद अनुहारमा मुस्कान छाइरहेको छ । ओठ स्मित मुस्कानको लागि हल्लिरहेको महसुस गरिरहेछु । मनको यो मिठासलाई कसरी व्यक्त गरूँ ?

केही साहित्यिक जमघटमा उहाँका प्रवचन सुन्ने मौका परेको छ । त्यस्तै स–साना समूहमा उहाँका गफगाफहरू सुनेको छु । उहाँका प्रवचनमा कुरा गराइमा व्यक्त हुने भावहरू, शब्दहरू अनि अभिव्यक्तिहरूबाट धेरैपटक रमाएको छु । प्रभावित भएको छु ।

यसै सन्दर्भमा एउटा प्रसंग भने आज नदोहोरÞ्याई रहन सकिनँ । २०३३/३४ सालको कुरो हो । त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय विकास कार्यक्रमको छात्रको रूपमा सुर्खेत र दैलेखको सिमाना पर्ने गरपन गाउँमा कार्यरत (वा सहभागी भनौँ कि ?) थियौँ । दैलेखमा हामीजस्तै खटिनुभएका साथीहरूलाई भेट्ने र ऐतिहासिक स्थान दुल्लु हेर्ने इच्छाले दैलेखतिर हिँडियो । संयोगले दैलेखबाट दुल्लु जाने क्रममा बाटो हराएर राउतकोट भन्ने ठाउँमा झमक्क साँझ परेपछि वास बस्न पुगियो ।

त्यसबेला वास बस्न र खाने बन्दोबस्त गर्ने सिलसिलामा पाएका अनुभव आफैँमा एउटा नौलो अनुभव र नेपालको परिचय अझ गम्भीर रूपमा पाउने क्रमकै रूपमा अझै पनि त्यस यात्राका सहभागी, साथीमाझ कहिलेकाहीँ चर्चा हुने गर्दछ । बडो मुस्किलले पेट भर्ने खानेकुराको बन्दाबवस्त गरेपछि अगेनाका डिलमा बसेर घरका पाका मान्छेसित दैनिक जीवनका कुराकानी साटिरहेका बखत अनायासै लोकगीतको सन्दर्भ निस्कन पुग्यो ।

त्यसैबेला वास बसिएको घरका ती पाका व्यक्तिले धेरै वर्षअघि धर्मराज थापाले त्यस क्षेत्रको भ्रमण गरेर लोकगीतका गेडा र भाका टिपेका कुराहरू सुनाउनुभयो । यस प्रसंगले मलाई जनकवि केशरीप्रतिको आस्था अझ हलक्क बढेको महसुस भयो । कोठामा बसेर शब्दकोशबाट शब्द चयन गरेर लोकगीतका जामा भिराउने, अनि विदेशी धुनको कमजोर नक्कलबाट लोकधुन भनेर स्याबासी लुट्ने आजको परिवेशमा मलाई त्यो प्रसंंगको सम्झनाले भावुक बनाइरहेको महसुस भइरहेछ ।

उहाँका गीत सुन्दा गीतका तालमा पूरै शरीर तलदेखि माथिसम्म हल्लाउनेमा बालबालिका, युवायुवती, प्रौढप्रौढा सबै संलग्न हुने गर्नुका कारण समाजको जरैदेखि प्रतिनिधित्व भएको भाका र बोलहरू हुन् भन्ने अनुभूति सायद उहाँको व्यक्तित्वलाई चिन्ने सबैको अनुभूति हुनुपर्दछ भन्ने मेरो धारणा रहेको छ । उहाँको मेहनत, लगन र तपस्याले नेपाली लोकगीतको बोटलाई अमर तुल्याएको छ जस्तो लाग्छ ।

उहाँको गीत आम नेपालीको अभिव्यक्ति हो, मुटुको धड्कन हो, मस्तिष्कको खुराक हो जस्तो लाग्दछ । अनि, उहाँसित भेटको शीतलता मात्रै हैन, शीतलताको त्यस प्रसंगले पनि हम्मेहम्मे गरेर उकाली चढिसकेपछिको चौतारीमा प्राप्त हुने मिठास र शीतलता प्रदान गरिरहेछ ।

(बरालको ‘यात्रा जारी छ’ बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu