site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नारी शक्ति र समतालाई अँगालो मार्ने कविता

सन् १९७५ देखि विश्वभर एक भाव र एक आकांक्षाका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेको ४८ वर्ष भइसकेको छ । महिला र पुरुषबीच यो संसारमा कुनै व्यवहार फरक नहोस्, महिलामाथि पुरुषबाट र पुरुषमाथि महिलाबाट अन्याय र थिचोमिचो नहोस्, समसम्बन्ध, समव्यवहार, समभाव र सहअस्तित्वका साथ ‘एक रथका दुई पांग्रा’ भन्ने साझा विश्वउक्तिलाई सार्थक बनाउन सकियोस् भन्ने चाहना नै नारी दिवसको मूल ध्येय हो । मूल आग्रह हो । यो दिवसको मूलमर्म भन्नु नै लैंगिक हिसाबले समभावीय, समकोणीय र समविकासमूलक ‘संसार’ सिर्जना गर्नु हो ।

सहअस्तित्वयुक्त समतामूलक संसार सिर्जना गर्नमा राजनीति, साहित्य, धर्म, संस्कृति, समाज विकास, प्रशासन, शिक्षा, कला, संगीत, खेलकुद, पत्रकारिता, न्याय, सुरक्षा, उद्यम–व्यापार आदि तमाम विषय र क्षेत्रमा संलग्न व्यक्तिहरूको सामूहिक सोच, सामूहिक दृष्टि र सामूहिक प्रयासको खाँचो रहने कुरामा दुई मत नहोला । यसै मेसोमा नेपाली साहित्यकारहरूले नारी अस्तित्व, नारी महिमा, नारी पीडा र नारी सम्भावनाका बारेमा लेख्न थालेको दशकौँ भएको छ ।

यस दिशामा अग्रणी नारी योगमायाको योगदान हामी सबैका लागि स्तुत्य छ । त्यसपछि पनि दर्जनौँ नारी साहित्यकारहरू आफ्ना दह्रा र तिखा कलम लिएर अघि बढे, बढ्दै छन् । त्यस्ता महामानव नारी स्रष्टाहरू कतिपय अहिले हामीमाझ हुनु हुन्न, यो धर्ती छाडेर गइसक्नुभएको छ । कतिपय उमेरका कारण जानुभएको होला, कतिपय उमेर नपुग्दै पनि जानुभयो । सयौँ नारी स्रष्टाहरू नेपाली भूमिमा अहिले पनि बडो सक्रियताका साथ साहित्य सिर्जनामा लागिरहनुभएको छ ।

त्यसमध्येकै एक हुनुहुन्छ, बहुआयामिक नारी स्रष्टा हिरण्यकुमारी पाठक । उहाँ वयका हिसाबले अहिले पचहत्तरबाट उकालो लाग्नुभएको छ । तर, उहाँको निरन्तर सक्रियता र सिर्जनशीलता प्रशंसा गर्न लायक छ । अरूका लागि अनुकरणीय छ । कविता, गीत तथा कथा लेखन र साहित्यिक संस्थाहरूको नेतृत्वमा देखिएको उहाँको क्रियाशीलताकै कारण हिरण्यकुमारी धेरै संस्थाहरूबाट पुरस्कृत तथा सम्मानित पनि भइसक्नुभएको छ । उहाँ महिला जागरणकी एक सक्रिय अभियन्ता पनि हुनुहुन्छ । 
०००
नारी दिवसको महिमा र गरिमालाई सम्मान गर्दै यसपटक हिरण्यकुमारी पाठकको ‘अव्यक्त’ शीर्षक ‘कविता–गीत संग्रह’ पढेर लेख्ने जमर्को गरेको छु । केही वर्षअघि नै प्रकाशित भएको भए पनि यो संग्रहले त्यति चर्चा नपाएको एउटा यथार्थ हो । साहित्यिक बजारमा चर्चा पाउनु र नपाउनु, पुरस्कृत हुनु र नहुनु, ‘बजार’ नै पनि पाउनु र नपाउनु, चर्चा बटुल्नु र नबटुल्नुका कहानी आ–आफ्नै छन् । व्यथा र गाथा पनि आ–आफ्नै छन् । जे होस्, जो कसैको पुस्तक प्रकाशित भएपछि केही चर्चा त यो साहित्यिक ‘बजार’मा अवश्य आउनुपर्छ ।

विचार, अनुभूति र समीक्षा पस्कनेहरूले पनि हुरीबतास र तुफानमा मात्र नकुदेर, तिनमा मात्र विश्वास नगरेर ओत र ओझेलमा परेका स्रष्टाका पनि रचना पढ्ने, भावना अभिव्यक्त गर्ने गर्नुपर्छ भन्ने लाग्छ मलाई । यो कुरा हिरण्यकुमारी पाठक दिदीमा लागु गरौँ भनेको होइन, उहाँ त त्यसै पनि स्वनामधन्य हुनुहुन्छ । चर्चित हुनुहुन्छ, पहुँच भएकै हुनुहुन्छ । तर, मैले उठाएको सन्दर्भ समग्र ‘नवीन’ तथा ‘निरन्तर’ साहित्यकारहरूका प्रसंगमा बढी लागु हुन्छ । कसैलाई रातारात चर्चाको चुलीमा पुर्याउने र कसैका बारेमा सामान्यभन्दा सामान्य चर्चामय ‘आधारशिविर’मा पनि सन्दर्भ, कृतित्व र व्यक्तित्व नल्याउने वा नडोर्याउने संस्कार र संस्कृति अवश्य राम्रो होइन भन्न मात्र खोजेको हुँ ।
०००
हिरण्यकुमारी पाठकको काव्यकृति ‘अव्यक्त’मा जम्मा ५१ कविता र १२ गीत गरी कुल ६३ वटा रचना छन् । पुस्तकको प्रकाशन वाणी प्रकाशन विराटनगरले गरेको रहेछ । वाणी प्रकाशन पूर्व क्षेत्रको प्रख्यात प्रकाशन भईकन पनि आजकाल निष्क्रिय बन्न पुगेको सुनिन्छ । आशा छ, ‘शारदा’ पत्रिका झैँ त्यो प्रकाशनलाई पनि कसैले फेरि ब्युँताउनेछ । सरस्वतीको बन्दना गर्ने संस्थाहरू यसै सुस्ताउनु हुँदैन, यसै मर्नु हुँदैन भन्ने हाम्रो हृदयी आग्रह हो ।

यस संग्रहमा रहेका ६३ वटा रचनाले नै तत्कालीन समयको सजीव चित्र उतारेका छन् । अरू धेरै कविहरूले जस्तै मायाप्रेम र स्नेहका शब्दरूपी फूलहरू पनि यहाँ बर्साइएका छन् । धर्ती, प्रकृति र मानवीय प्रवृत्तिका महिमागान पनि प्रशस्तै छ । तर, ‘अव्यक्त’भित्र पसेर हिरण्य दिदीका नारीमय गर्जन र शक्ति उपार्जनका आवाजहरू कसरी मुखरित भएका छन् भनेर ‘लैंगिक चस्मा’ लगाएर केही पर्गेल्ने प्रयास गरेको छु । नारी उत्थानको चाहनामा अभिव्यक्त गरिने साहित्यिक स्वरहरू कसरी प्रकटित भएका छन् भन्ने कुरा निफन्ने सानो प्रयास गरेको छु ।

विश्वभर नै नारी अधिकारका लागि निरन्तर लडाइँ भइरहेको बेला नेपालका नारीहरू पनि यस मामलामा पछाडि परेका छैनन् । त्यसो त नारी शक्तिको आवाज र तत्सम्बन्धी कर्म बुलन्द पार्नका लागि तमाम पुरुषहरूको पनि हात र साथ छ र हुनुपर्छ भन्नु निश्चय नै अन्यथा नठहर्ला । किनकि, यो सहकर्मको कुरा हो, सहयात्राको कुरा हो, सहमति र समबुझाइको कुरा हो । त्यसबाट मात्रै समझदारी बढ्नेछ । अनि, समभावीय यात्रा सार्थक बन्नेछ । हरेक सर्जकको चाहना पनि यही हो ।

यो आग्रह र अभिलाषा व्यक्त गर्ने क्रममा स्रष्टाका स्वर कहिले अलि कडा, तिखा र ठाडा बन्न सक्छन्, कहिले अलि नरम, भुवादार र मिजासिला, तर अन्तर्य र मर्मका दृष्टिले अझ खँदिला पनि बन्न सक्छन् । हिरण्य दिदीका रचनाभित्र पस्दा पनि त्यो अनुभूति हुन्छ । यी रचना तमाम नेपाली नारी स्रष्टाका प्रतिनिधि रचना हुन् भन्दा पनि फरक पर्दैन ।

योगमायाले लेखून्, पारिजातले लेखून्, देवकुमारी थापाले लेखून्, डा. बानीरा गिरीले लेखून् वा सुलोचना मानन्धरले नै लेखून्, समग्र नारी स्वरको भाव, भाका, भंगिमा र भित्री कुरा मिल्न नै जान्छ । गन्तव्य र चाहना एक भएपछि अभिव्यक्तिको गोरेटो पनि मिल्ने नै भयो । हरेकका रचनामा नारी सशक्तीकरणको चाह र अभीप्सा तीव्र रूपमा प्रकट भएकै हुन्छ । हिरण्यकुमारी पाठक पनि ‘अव्यक्त’मा त्यसरी नै मुखरित भएको पाइन्छ । उदाहरणका लागि, ‘आफैँलाई खोजी बसेँ’ शीर्षकको कवितामा उहाँ यसरी पोखिनुहुन्छ–
अन्धकारमा यत्रतत्र 
आफूलाई खोजी बसेँ
त्यो अन्धकार मभित्र छ
त्यो अन्धकार आफूभित्रै छ ।

उहाँले भनेजस्तै हामी तमाम व्यक्ति, चाहे नारी होस्, चाहे पुरुष होस्, आफ्नो क्षमता र बर्कत बिर्सेर आफैँभित्र अज्ञानता र अँध्यारो पालेर बसेका हुन्छौँ । आफ्नो सम्भावना खोज्दै खोज्दैनौँ, अरूलाई दोष दिन माहिर हुन्छौँ । तर, जानी–नजानी आफूभित्र अन्धकार पालेर र पोषण गरेर बसेका हुन्छौँ । यही कुरा माथिको कवितामा सरल भावमा प्रकटित र प्रतिविम्बन भएको छ ।

उहाँ ‘अठोट’ शीर्षकको कवितामा ज्यादै कडा भएर प्रस्तुत भएको पाइन्छ–
म नारी हुँ, पिछडिएकी जाति हुँ
पुरुषवर्गबाट शोषित छु र भैरहनेछु
ममता र स्नेहको पोकोलाई त्याग्न सक्तिनँ
तर,
परेको बेलामा कठोर हुन पनि पछि पर्दिनँ ! 

सायद नारीवादी आन्दोलनमा लागिरहेका व्यक्तिहरूका साझा आवाज हुन्, यी । ‘अठोट’भित्र यस्ता थुप्रै पंक्ति छन् । ती पंक्तिले नारी उन्मुक्ति र मुक्तिको चाह राखेका छन् । निरन्तर संघर्ष गर्ने उद्घोष गरेका छन् । गन्तव्यमा नपुग्दासम्म कठिन यात्रा जारी राख्ने प्रण र अठोट देखाएका छन् ।

अर्को कविता ‘चेली एड्स्मा साटिइन्’ शीर्षकमा छ, जसमा महिला समानताका नाममा चेलीबेटी बेच्नेहरूको कहानी छ । व्यथा छ । चरम निराशा छ । विदेशमा बेचिएर कोठीमा काम गर्नुपर्ने र कोसेलीस्वरूप प्राणघातक एचआईभी ‘एड्स’ लिएर मृत्युवरण गर्नुपर्ने हजारौँ चेलीको काँडामय व्यथा यसमा पोखिएको छ ।

सर्जकले खोजेको समानता निश्चय पनि त्यस्तो समानता होइन, आम–जनताले रोजेको समानता निश्चय पनि त्यस्तो समानता होइन भनेर कवितामा स्पष्टरूपमा अभिव्यक्त भएको पाइन्छ । समानताका नाममा नारी शोषण झन् बढ्ने समानता एवं स्वतन्त्रता निश्चित रूपमा कुनै पनि महिला वा पुरुषको चाहना होइन, तृष्णा होइन र अभ्यर्थना पनि होइन ।

म हिरण्य दिदीका ‘अव्यक्त’मय प्रत्येक कविता तथा गीतको चर्चा गर्ने आँट यस सानो आलेखमा कहाँ गर्न सकूँला र ! पाठकसँग पनि ती सबैको चर्चा सुन्ने फुर्सद नै कहाँ होला र ! तर, निष्कर्षमा के भन्न सकिन्छ भने ‘अव्यक्त’बाट पाठकहरूले समानतामुखी र समतारूपी नवसमाज, नवसंसार र नवविश्व तयार पार्नमा अनेक प्रेरणा, शिक्षा र ऊर्जा प्राप्त गर्न सक्छन् । नारी स्वरको समग्र अभिलाषा र गन्तव्य पहिचान गर्न सक्छन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्