
एक/दुई दिनको कुरा हुँदो हो त यति साह्रो क्लेश हुने थिएन । तर, यो दैनिकी नै भएपछि एक दिन बुहारीको पारा माथि चढेर गयो ।
“तपाईं आफ्नी आमासँग कुरा गर्नुस् है । उहाँकी साथी बूढीआमै दिनदिनै यहाँ बस्नखान आइपुग्छिन्, यो कुरो मलाई अलिकति पनि मन पर्दैन ।”
“तर, कविता, उहाँ आइदिँदा ओछ्यानमा अशक्त रहनुभएकी हाम्री आमाको मन त लागिरहन्छ नि !,” गृहस्वामीले सम्झाउने कोसिस गर्यो ।
“यो कस्तो कुरो हो कि मन लागिरहन्छ ! कहिलेकाहीँ आउनुजानु त ठिकै छ, तर उहाँले त डेरा नै हाम्रो घरमा जमाउनुभएको छ,’ गृहस्वामिनीको पारा झनै बढ्यो र उनी अझै भड्किइन् ।
अर्कोतिरबाट शान्त स्वरमा उत्तर आयो, “तिमीलाई थाहै छ, विचरीका छोराहरूले उहाँलाई घरबाट निकालिदिएका छन् । यस्तो चिसो मौसममा उहाँ जान पनि कहाँ जानुहोस् त ?”
“गजब गर्नुहुन्छ तपाईं पनि ! उहाँलाई घरबाट निकालेका छन् भने त्यसको ठेक्का हामीले लिएका छौँ र ! जहाँ मन लाग्छ जानुहोस् ! किन उहाँमाथि घरको रोटी खेर फाल्ने ?”
अवस्था नाजुक हुँदै गएको देखेर गृहस्वामीले भने, “ठिक छ । तिमीलाई जे उचित लाग्छ, त्यही गर । अलिक प्रेमपूर्वक कुनै बहाना बनाउनू ।”
फतफताउँदै कविता बाहिरको कोठामा आफ्नी सासूका साथमा रहेकी बूढीआमैलाई केही भन्नै भनेर त्यहाँ पुगिन् । उनले देखिन्, बूढीआमैको झुकेको कम्मर, भाग्य र बुढेसकालको बोझ एउटा लौरोमा अडेको थियो । मैलोधैलो पोको काँखीमा च्याप्दै उनी विस्तारै कोठाबाहिर निस्किँदै थिइन् ।
भित्र चलिरहेको आवाज तिनको कानसम्म नपुग्ने किसिमको ठूलो घर थिएन उनीहरूको । आँखाभरि आँसु लिएर बसेकी कविताकी असहाय सासूले आफ्नी साथीलाई रोक्न पनि सकिनन् ।
साँझपख फेरि पनि रोटी बर्बाद भयो, सासूले खानातिर हेर्दै हेरिनन् । भोकै सुतिन् ।
(‘हिन्दी समय’बाट)