काठमाडौं । चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधैँ याद राख– आनन्दको बेला वचन नदेऊ, क्रोधको बेला जवाफ नदेऊ, दुःखको बेला निर्णय नलेऊ ।’ तर, यो भनाइलाई व्यवहारमा उतार्ने कमै हुन्छन् ।
अहिलेको पुस्तामा ‘इमोसनल’, आफ्नोपन र धैर्यतामा कमी देखिन्छ । ‘डिजिटल पुस्ता’का लागि त यो विश्वव्यापी समस्या र चुनौती नै बन्दै गएको छ । डिजिटल लतले बालबालिका, किशोरकिशोरी, युवासँगै हरेक व्यक्तिहरू प्रभावित बन्दै छन् । यसले उनीहरूको पढाइ र काममा मात्र होइन, दिमागलाई पनि नराम्रोसँग असर गरिरहेको तथ्यांक छ । जसको प्रतिफल डिप्रेसनका रोगीहरू बढ्दै छन् ।
चिकित्सक तथा मनोविद् डिजिटल लत कुनै लागुपदार्थको लतभन्दा कम नभएको बताउँछन् । डिजिटल लतकै कारण धेरै बालबालिका घरमा झर्कने, अनुशासनबाट टाढिँदै गएको र पढाइतिर खासै मन नदिने गरेको कतिपय अभिभावकको गुनासो छ ।
आमाबाबुबाटै ‘स्मार्ट’ लतमा फस्दै बालबालिका
हिजोआज हरेक घरमा रोइरहेको दूधे बालक डिजिटल स्क्रिन (मोबाइल, ट्याब्लेट, ल्यापटप, टीभी) देखाउँदा शान्त हुन्छ । कुनै बालबालिकालाई खाना खुवाउन पनि डिजिटल स्क्रिन देखाएर फकाउनुपर्छ । यसले अक्षर नचिन्दै डिजिटल स्क्रिन चिन्ने पुस्ता उत्पादन भइरहेको जनाउँछ । आमाले बालबालिकालाई डिजिटल दुनियाँमा प्रवेश गराइरहेको देखाउँछ ।
डा. मेरिना श्रेष्ठले अहिले टिकटकमार्फत यस्तो कार्यको विरोध गरिरहेकी छन् । उनी भन्छिन्, “हामी आमा, बुवा नै आफ्नो सजिलोपनाको लागि बच्चालाई रंगी भिज्वेल कार्टुन, कथा, गीत देखाई फकाइरहेका छौँ । यसरी शिशु अवस्थामै डिजिटल स्क्रिनको लत बसेको शिशु वृद्धि र विकासक्रमसँगै डिजिटल दुनियाँमा आफूलाई स्थापित गर्दै जान्छ । विकसित भइरहेको नवीन पुस्ताको तथ्य यही हो ।”
यही पुस्तालाई अहिले ‘डिजिटल पुस्ता’ भन्न थालिएको छ । डिजिटल पुस्ताले सूचना प्रविधिको माध्यमबाट आफूलाई ‘स्मार्ट’ बनाउँदै लगेको छ ।
सानै उमेरमा अभूतपूर्व ज्ञान समेत हासिल गरेको छ । यही कारण उनीहरू आफूलाई पुरानोभन्दा अब्बल पुस्ता ठान्छन् । मनोचिकित्सक निना राई कोरोनापछि धेरै ‘टिनएजर’ तथा युवा डिजिटल लतका कारण डिप्रेसनको सिकार भएको बताउँछिन् ।
डिजिटल लतको प्रभाव
बीबीए पढ्न बालकुमारीमा एक होस्टेलमा बस्दै आएकी अर्विता श्रेष्ठलाई अचेल पढ्न पटक्कै मन लाग्दैन । टिकटक बनाउने, कमेन्ट हेर्ने, अरूको टिकटक हेर्ने तथा बीटीएस र ब्ल्याक पिंकको भिडियो हेर्नमै उनी समय बिताउँछिन् । सधैँ राम्रो रिजल्ट ल्याउने उनको अवस्था खस्किएपछि शिक्षकहरू झस्किए । आमाबुवालाई कलेजमा बोलाएर छोरीको बारेमा बताउँदासम्म अर्विता डिजिटल लतमा फसिसकेको अवस्था थियो ।
उनकी आमा अरुणा भन्छिन्, “केही सोध्यो कि झर्की हाल्ने, गाली गर्दा त रोएर हैरान । एक छिन बत्ती गएर इन्टरनेटको सेवा नहुँदा उनको उकुसमुकुस हेर्ने लायक थियो । त्यसपछि नै हामीले राम्रो मनोचिकित्सकलाई खोजेर काउन्सिलिङ गराइरहेका छौँ ।”
डा. निना राई डिजिटल लत लागुपदार्थको भन्दा कम नहुने बताउँदै भन्छिन्, “यसरी स्मार्ट बन्दै गएको डिजिटल पुस्ताका लागि ‘वरदान’ बनेको डिजिटल सूचना प्रविधि कतिपय अवस्थामा ‘अभिशाप’ पनि बनेको देखिन्छ । बालबालिका र युवायुवतीहरूलाई यही साइबर संसारको दुनियाँले बर्बाद पनि बनाएका घटनाहरू बाहिर आइरहेका छन् ।”
उनी थप भन्छिन्, “स्मार्टफोन, ल्यापटपलगायत ग्याजेट र डिजिटल माध्यमको सर्वसुलभतामा हुर्किरहेको पुस्ता यसको लतमा फसिरहेको छ । इन्टरनेटमा सामाजिक सञ्जालका साथै थरीथरीका एप र गेमहरूको भुलभुलैयामा रमाउने क्रममा असामाजिक हुने डिजिटल जमात बढ्दो छ । यो भुलभुलैयाले भोलिको कर्णधार हाम्रो पुस्ताको जीवन बर्बाद नहोस् भन्ने हो ।”
“अहिलेको पुस्ताका लागि इन्टरनेट अपरिहार्यजस्तै बनेको छ । यसैले विज्ञान वरदान त साबित भएको छ नै,” नेपाल प्रहरीको साइबर ब्युरोमा कार्यरत प्रहरी निरीक्षक राजकुमार खड्गी भन्छन्, “साथसाथै प्रयोगकर्ताले नजान्दा अभिशाप पनि बन्ने खतरा उत्पन्न भएको छ ।”
साइबर ब्युरोमा इन्स्टाग्राम, टिकटक, म्यासेन्जरबाट युवा हिंसामा परेको निवेदन आउने क्रम बढेको उनी बताउँछन् । १२ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरू त्यसरी हिंसामा परेको निवेदन आएको उनले जानकारी दिए ।
वीर अस्पतालमा कार्यरत एक चिकित्सक दम्पतीले जतिखेर पनि मोबाइल फोन चलाउने छोरीको लत छुटाउन घरको इन्टरनेट टुटाए । मोबाइल फोन लुकाइदिए । फोन चलाउन नपाएपछि रोइकराइ गर्ने, छटपटाउने र नाडीको नसा नै काट्ने हदसम्म पुगेकी ती २३ वर्षीया किशोरीलाई मनोविद्कहाँ लैजानुपर्यो ।
मोबाइलमा गेम खेलिरहने काठमाडौंको नागपोखरीका १७ वर्षीया एक किशोरीको लत छुटाउन उनकी आमाले पनि इन्टरनेट बन्द गराइन् । मोबाइल फोन दिन छाडिन् । ‘ए’ लेभल पढ्न बिहान कलेज जानुपर्ने छोरी दैनिक लागुऔषध सेवन गरेजस्तो शिथिल देखिएपछि उनका बुवा झस्किए– कतै छोरीले ड्रग त खान्न ?
हाल मनोविद्सँग परामर्श लिइरहेकी उनी भन्छिन्, “मोबाइलमा खेल्न नपाए छटपटीजस्तो हुन्छ । खान र बोल्न समेत मन लाग्दैन ।” परामर्श लिन थालेयता भने मोबाइल चलाउने उनको लत घट्दै गएको छ ।
स्मार्टफोन, ल्यापटपलगायत विभिन्न ग्याजेट र डिजिटल माध्यमको सर्वसुलभतामा हुर्किरहेको पुस्ता कसरी यसको लतमा फसिरहेको छ भन्ने यी केही दृष्टान्त मात्र हुन् ।
डिजिटल लतमा परेर परामर्शका लागि आउने व्यक्तिको संख्या पाँच वर्षयता उल्लेखनीय रहेको मनोविद् सुनीता कार्की बताउँछिन् । प्रविधिको सहज पहुँचले एकार्कालाई जोड्नुको साटो युवापुस्तालाई संवेदनाहीन, एकलकाँटे र अनुत्पादक बनाइरहेको उनको भनाइ छ ।
काठमाडौंकै विशालनगरकी १६ वर्षीया आर्या राई भन्छिन्, “म एउटैले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, स्न्यापच्याट, ट्विटर, टिकटक, भाइबर र ह्वाट्सएप सबै चलाउँछु ।” अहिले चल्तीमा रहेका एपहरू नचलाउँदा साथीभाइबाटै हराइने उनको बुझाइ छ । टिकटकमा त उनका तीनवटा अकाउन्ट छन् ।
विश्वजगत् जोड्ने प्रविधि र सामाजिक सञ्जाल भनिए पनि नयाँ पुस्ता यस्ता चिजको नशामा भुल्दा भविष्यमा सामाजिकीकरण प्रक्रिया नै अवरुद्ध हुन सक्ने समाजशास्त्री कमला पाण्डे बताउँछिन् ।
शारीरिक र मनोसामाजिक असर
मानिस स्मार्टफोन, ट्याब र ल्यापटपमा एकोहोरो घोत्लिएको देखिनु आज सामान्य कुरा बनिसकेको छ । परिवारका सदस्यहरू आ–आफ्ना डिभाइसमा व्यस्त भएर संवादहीनता छाउने अवस्था त घरघरको कहानी नै हो ।
डिजिटल माध्यमको लत र यिनमा उपलब्ध सामग्रीले विभिन्न शारीरिक र मानसिक समस्या बढाइरहेको चिकित्सक एवं मनोविद् बताउँछन् । स्मार्टफोनमा रमाउने बानीका कारण रातको निद्रा नै त्यागिदिने प्रवृत्तिले अनिन्द्राको समस्या बढारहेको छ । त्यसबाट थप स्वास्थ्य जटिलता निम्तिरहेको उनीहरूको भनाइ छ ।
लगातार मोबाइल फोन र कम्प्युटर चलाउँदा माइग्रेन, एङ्जाइटी, डिप्रेसनलगायत मानसिक समस्या चुलिएको मनोचिकित्सक डा. राई बताउँछिन् । उनका अनुसार धेरै समय डिजिटल सामग्रीको प्रयोग गर्नेहरूमा अनिदोपनको समस्या पनि बढी देखिन्छ ।
आँखा विशेषज्ञ डा. सविना श्रेष्ठका अनुसार स्मार्टफोन र ल्यापटप लगातार हेरिरहँदा त्यसको स्क्रिनबाट आउने निलो प्रकाशका कारण दृष्टिमा प्रत्यक्ष असर पर्छ । त्यस्ता सामग्रीको अधिक प्रयोगले आँखा चिलाउने, सुक्खा हुने, धमिलो देख्ने, टाउको दुख्नेलगायत समस्या देखिने उनी बताउँछिन् ।
मोबाइल र ल्यापटप प्रयोग गर्दा अधिकांशको गर्दन र पिठ्युँ झुक्ने हुन्छ । दैनिक घण्टौँ यस्तो आसनले शरीरका विभिन्न भागमा पीडा हुने समस्या निम्तिन्छ, जसलाई चिकित्सकीय भाषामा ‘टेक्स्ट सिन्ड्रोम’ वा ‘टेक्स्ट नेक’ भनिन्छ ।
लगातार मोबाइल र कम्प्युटर चलाउँदा बस्ने आसनले ढाडको समस्या निम्त्याउने न्युरो फिजिसियन डा. ईसा ढुंगाना बताउँछिन् । “हातका बुढीऔँला, घाँटी र कम्मरको मांसपेशी तथा नाडीको नसा च्यापिने समस्या लिएर आउनेको संख्या पछिल्लो समय बढिरहेको छ,” उनी भन्छिन् ।