
पृथ्वीलाई तारिख
एक दिन, एक किसानले मुद्दा हाले–
पृथ्वीको ज्यादतिविरुद्ध ।
सोधियो उनलाई,
‘किन उभियौ तिमी पृथ्वीको विरुद्धमा ?’
तर्क/वितर्कको सँघारमा उभिएर बताए उनले,
‘पृथ्वीको उत्पत्ति नभएको भए
हिमाल, तराई, मरुभूमि, समुद्र र टापुहरू हुँदैनथे
न त उभिन्थे यी पहाडहरू नै
नभएपछि यी पहाडहरू, कहाँ उम्रिन्थे बोटबिरुवा ?
बोटबिरुवा नउम्रिए बस्दैनथे चराचुरुंगीहरू आएर त्यसका पात–डालीहरूमा
(चराहरूमा सबभन्दा जब्बर र अटेरी त सुगा रहेछ)
बोटबिरुवामा सुगा बस्न नपाएपछि
खाँदैनथ्यो उसले मेरो मकै
हुदिँनथेँ म भोकभोकै ।’
फेरि सोधियो किसानलाई,
‘आफैँले गर्नुपर्थ्यो नि मकैको सुरक्षा
के दोष छ यो बिचरा पृथ्वीको,
फिर्ता लेऊ आफ्नो मुद्दा
यसरी धाउन नलाऊ पृथ्वीलाई तारिख ।’
किसान आफ्नै तर्कमा रहे अडिग÷अविचल
उनले चलाएरै छाडे पृथ्वीलाई मुद्दा
उभ्याउन चाहे पूर्ण इजलासको कठघरामा
र, तिराउन चाहे मकैको क्षतिपूर्ति
(अझै पनि पाउन सकेका छैनन् उनले क्षतिपूर्ति !)
पृथ्वीले तारिख धाउन थालेको बितिसक्यो जुगौँजुग
तारिख धाउन थालेको दिनदेखि नै
आउन थालेको छ ऊ हाम्रो आँगनमा हरेक बिहान सूर्यलाई साक्षी लिएर
आइरहेको छ हरेक साँझ, गर्दै चन्द्रमासँग बकम्फुसे भलाकुसारी
र, दास–उदास प्रवृत्तिका कार्यकर्ताहरूझैँ
अनगिन्ती तारामण्डललाई उभ्याएर आफ्नो छेउछाउमा ।
०००
थोरै मानिस
थोरै मानिस मात्र निद्रामा बर्बराउँछन्
थोरै मानिस मात्र निद्रामा घुर्छन्
थोरै,
अत्यन्त थोरै मानिस मात्र
हिँड्छन् निद्रामै उठेर ।
मलाई
निद्रामा बर्बराउने, घुर्ने वा निद्रामै हिँड्ने मानिसप्रति
कुनै विद्वेष जाग्दैन अचेल ।
मेरा वरपर
धेरै मानिस ब्युँझिएकै बेला बर्बराउँछन्
ब्युँझिएकै समयमा घुर्छन्
र, ब्युँझाइको सदुपयोग गरेर अचाक्ली छट्पटाउँछन्
केवल,
आफूभित्र बासी ऐँठनहरू च्यापेर ।