
जनक साहुकहाँ जन्ती आएको थियो, त्यसमा एक जना वकिल पनि थिए । उनी दार्जिलिङ जिल्लामा आफ्नो प्य्राक्टिस गर्थे । अग्लो, रङ कालो त होइन तर गोरो पनि भन्न नसकिने, उमेर अन्दाजी पैतालिस भइसके तापनि आफ्नो शिक्षा, सामाजिकता र स्वास्थ्यका भरमा नवयुवक र प्रौढ मजलिसमा राम्ररी भाग लिन सक्ने क्षमता राख्तथे ।
साहुकहाँ राति बस्नेहरूमध्ये उनी पनि थिए । एउटा लामो कोठामा एकातिर पाँच–सात जना सिगरेट खाइरहेका हुनाले धुवाँको गन्ध सहन नसकेर तिनी नजिकैको एउटा खुला झ्यालमा बसिरहेका थिए । अनेकौं प्रकारका कुरा भइरहेथे ।
यस्तैमा एक जनाले आसामतिर भएकी कुन्नि कसकी स्वास्नीको कुरा चलायो, जसको प्रेम बिहा हुनुभन्दा अगाडि नै अर्कैसित भइसकेको थियो । बिहापछाडि त्यस स्त्रीको आचरण सर्वथा आफ्नो गृहस्थीभित्रै सीमित थियो भन्ने कुरा सबैले माने पनि दुई–एक जना उसको विरुद्धमा र दुई–एक जना उसको पक्षमा कुरा गर्न लागे ।
आखिर एक जनाले भने, ‘लौ, प्रेमै छ र त्यो अझसम्म छ, तर उसको आफ्नो जीवनमा दाम्पत्य र गृहस्थी यतिको सुखद छ भने प्रेमलाई पाप भन्नु नै कसरी ?’ उनको विरुद्धमा बोल्ने अर्कोले भन्यो, ‘आखिर आत्मिक पवित्रता पनि त कुनै वस्तु हो ? सांसारिक सफलता नै मान्छेको अन्तिम कुरा होइन ।’
एक जनाले उत्तरमा भने, ‘आत्माभित्र शुद्धता र शान्ति नभए सांसारिक सफलता मिल्नै सक्तैन । शान्ति नै त पुण्य हो, सुखको पद्धति नै पुण्य हो । उस स्त्रीमा सुख छ भने पापले उसलाई छोएकै रहेनछ ।’
पहिलो सज्जनले पुनः थपे, ‘जसको नाउँ नै ‘प्रेम’ हो, उसको सज्ञा ‘पाप’ कताबाट हुन आयो, मैले बुझ्न सकिनँ ।’
कुरा यसै गरी चलिरहेको थियो । एक जनाको सिगरेटको आफआफैं सल्किरहेको पिरो धुवाँ वकिलको आँखामा लागेको हुनाले उनले ‘उफ्’ भनेर रुमालले आफ्ना आँखा पुछ्न लागे । जसको सिगरेटको धुवाँ थियो उसले आफ्नो सिगरेट फाल्दै क्षमाप्रार्थना गर्यो ।
अनि फेरि त्यही कुरा सुरु हुँदा उसले भन्यो, ‘लौन वकिलसाहेब ! तपाईं त धेरै कुरामा बहस गर्ने अभ्यास राख्नुहुन्छ, यस कुराको निर्णय त गर्नुस् ।’
उसको यस कुरामा सबैले ‘हो’ भने । आखिरमा वकिलसाहेब भन्न लागे, ‘प्रेम पाप हो या पुण्य, यो त म भन्न सक्तिनँ, भन्न पनि चाहन्नँ, तर आफ्नो व्यक्तिगत अनुभवले म यही कुरा भन्न चाहन्छु कि तपाईंहरूले यस कुरामा विवाद गरेर निरूपण गर्न खोज्नु नै सायद ठुलो पाप भइरहेछ ।’
कुरा सुन्नेबित्तिकै सबैको कान तातेर आयो । एक जनाले अलि टर्रो स्वरमा भने पनि, ‘यस हिसाबले त हामी नै पापी भयौँ ।’
तर वकिलले त्यतातिर विचारै नगरी भन्दै गए, ‘प्रेमलाई चलाउनु हुँदैन । त्यो वृत्ति हो । ‘वृत्ति’ प्रकृतिको गुण हो । मान्छेले त्यसमा आफ्नो कुनै दम्भ आरोपित गर्यो भने वृत्ति बिग्रेर विकृति हुन जान्छ, अनि हामी सबै पापको दर्शन पाउन थाल्छौँ ।’
कुरा अलि गम्भीरजस्तो हुन गयो । वकिलको भनाइमा निर्लिप्तताको ध्वनि भएको हुनाले कसैले भविष्यवाणी गर्न लागेको सुनेझैँ सबै अलि चुप भएर अगाडिका कुराको प्रतीक्षा गर्न लागे ।
एकछिनसम्म सबैको मुखतिर यस्सो हेरिरहेर उनले भने, ‘मेरो सम्पर्कमा एउटा केटो छ, जसको नाउँ म बताउन चाहन्नँ । तर उसलाई ‘वीरे’ भनेर मैले आफ्नो मनमनै बोलाइरहने उसको नाउँ हो । संसारमा उसको अर्कै नाउँ छ, त्यो बताएर उसको अपमान गर्न चाहन्नँ ।
त्यो प्रेमको प्रतीक हुन सक्थ्यो, तर अफसोस, प्रेमलाई चलाइदिएको हुनाले त्यो पापको उदाहरण हुन गयो । संसारमा ऊसित सम्बन्धित चार जनाको जीवन अत्यन्त कटु र दुःखपूर्ण भई उनीहरूको दुःखको तिखोपना व्यर्थै वायुमण्डलमा सञ्चित भई त्यही प्रकारका दुःखको सृजनमा आध्यात्मिक रीतिले जोर पुरÞ्याउने भइरहेकै छ ।’
सिगरेट कसैको हातमा थिएन । राति एक बज्न लागेको समय, सम्पूर्ण शान्ति हुन गएर वकिलकै कुराको शान्त गम्भीर तर सानो ध्वनि कोठाभित्रको वायुमा गुन्जिरहेको थियो । कुरा सुन्दासुन्दै सबै अज्ञात भावले वकिललाई घेरेर बस्न गएका थिए ।
झ्यालमा बसिरहेका वकिल भन्दै गए, ‘म दार्जिलिङमा आउन लागेको बेलामै वीरेलाई पाएँ र उसको व्यवस्था गर्नुपर्यो । उसकी आमा एउटा सम्पन्न परिवारकी छोरी थिइन् । एक दिन राति आएर वीरेलाई मलाई शान्ति सुम्पिँदै उनले आफ्नो जुन कथा भनेकी थिइन्, त्यही कुरा उनकै शब्द, वाक्यमा भनिदिनाले नै तपाईंहरूको आलोचनाको धेरै अंशमा टुंगो लाग्ला जस्तो देखिन्छ ।’
एक जनाले नम्रतापूर्वक कुरा काटेर सोधे, ‘वीरेकी आमा अहिले अब कहाँ छिन् ? के तिनी मरिन् ?’
‘मलाई त्यो थाहा छैन, थाहा पाउने चेष्टा पनि गरिनँ । किनभने उनको कथा सुन्दा–नसुन्दै मलाई विश्वास भइसक्यो– प्रेमको रहस्य जान्ने चेष्टा गर्नु हुँदैन । उसलाई चलाउनु त झन् हुँदैन । त्यसो गर्दा मानिसमा अपकारबाहेक उपकार आउन सक्तैन ।’
उनी अलि थामिएर फेरि भन्न लागे, ‘राति एघार बजे आएर तीन बजेसम्म आफ्नो कथा सुनाई गोमती —त्यही वीरेकी आमा— प्रकृतिको अन्धकारमा विलीन भएदेखि उनको पत्ता मैले पाइनँ, यद्यपि उनको प्रति मेरो मनमा अपार सहानुभूतिको दुःख अझ पनि छ । उनले आफ्नो कथा भनेकी थिइन्, ‘वकिलसाहेब ! मेरो तेह्र वर्षको उमेरदेखि नै मानसिंहसित बन्धुत्व र लेखापढी भयो । पारस्परिक आत्मीयता अत्यन्त मोह–ममताभित्र बढिरहेर उहाँसम्म फल्दैफुल्दै आयो जहाँ मलाई सबैले तरुणी भन्न लागे र मसित पुरुष मात्रको कुनै प्रकारको सम्पर्कलाई ‘गर्न नहुने’ कुरा निरूपण गर्न लागे ।’
‘मेरी आमालाई विश्वासै भइसकेको थियो— मेरो र मानसिंहको पत्र–व्यवहार साधारणै होइन कि हामीमा पारस्परिक आन्तरिक माया पनि छ । यसैले खुलस्त गरेर त होइन तर अनेक प्रकारका यताउतिका अन्य उपकरण, उदाहरण लिएर उनी लगातार यही संकेत गर्थिन्— यस्तो माया–ममता हामीलाई उचित छैन, कुलमा कलंक लाग्छ, दुनियाँले खिल्ली उडाउँछ, इत्यादि । म केही भन्न पाउन्नथेँ ।
तर मनमा एउटा विरोध भावना के उम्लन्थ्यो भने आखिर म गरी नै के रहेछु जसका निम्ति, आमा भएर पनि, यस्तो अपमानपूर्ण संकेत गरिरहेकी छिन् ! हरे, संसारमा फेरि आफ्नो को छ र ? कल्ले मेरो समस्त विश्वास गरेर मलाई यस्तो माया दिन सक्ला, मेरो गुणको त के कुरा मेरो अवगुणपर्यन्त आफ्नो छातीमा टाँसेर यो भन्न सक्छ कि– अब यो मेरो हो भने यसलाई फालूँ कता ?’
‘गाह्रो त के थियो भने जब उनी संकेत गरेर मलाई सम्झाउने चेष्टा गर्थिन् उस बखत उनको अनुहारमा त्यो पवित्रता र निश्छलताको दर्शनै पाइँदैनथ्यो जसलाई पाउने मेरो केटाकेटीदेखिको नै बानी थियो । उनको संकेत गराइमा एउटा चालबाजी, एउटा नीति र कुनै कुत्सित भावको दर्शन मात्र मलाई मिल्थ्यो र मेरो अन्तर चिच्च्याउन थाल्यो, ‘हरे, यिनी मेरी ‘आमा’ हुन् !’
‘केटाकेटीदेखि नै पर्म दोष–विराम गरे पनि आमाको काखमा जाँदा त्यो दोष अपराधको सट्टा गुण हुन जाने र आमाबाट त्यही दोषै अपराधतिर मेरो पक्ष लिएर अरूहरूसित झगडा, कुरा गर्ने आमाको चिरपरिचित मेरो पुरानो परिचयमा एउटा ठूलो धक्का जस्तो पर्न जान्थ्यो र मेरो अन्तरभित्रको कोमल अनुभूतिमा एउटा हलचल उठ्थ्यो, मानो केटाकेटीदेखि नै लिएर अझसम्म मलाई धोका, छल र नीति मात्रै मिलिरहेको थियो । मलाई ठगिरहेको कुरा मात्र हो ।’
‘तैपनि यस्ता कुराहरू धेरै बेरसम्म मेरो अन्तरमा अड्न सक्तैनथे र कुन्नि कुन शक्तिले मलाई कस्तो सन्तुष्ट पारिदिन्थ्यो भने, ‘जे भने पनि आखिर आमा हुन्, कहाँ जालिन् ? कुर्न मर्म परेदेखि उनीबाट मेरै पक्षको समर्थन पाउनु नै त मेरी आमा हुन् !’
‘किन्तु उनीप्रति यत्तिको श्रद्धालुताको पनि परबाह उनीले कहिल्यै गरिनन्, कहिल्यै चिनिनन् । कहिलेकाहीँ उनीप्रतिको मेरो उपर्युक्त श्रद्धालुताको करुण र अथाह विश्वासको प्रवाह उम्लन लागेको बेलामा कुनै, दुई–एक दिनभित्रै आएको, मानसिंहको चिठी ल्याएर आमालाई म आफैं सुनाउँथे र उनले आमालाई प्रणाम, अभिवादन इत्यादि लेखेको कुरा पढ्थेँ । पढिसकेपछि उनको एउटा प्रसन्न अनुहार र ममाथि विश्वासपूर्ण भावको दर्शन पाउने आशामा टाउको उठाउँदा उनको जुन प्रकारको मौन दर्शन म पाउँथेँ त्यसबाट मेरो उन्नतिको बाटो खोज्ने आत्मा सय हात तल खस्न जान्थ्यो ।’
‘यति मात्रै होइन कि— मानसिंहको चिठी आएछ भनेर मबाटै सुनी– उनको कहिलेकाहीँ यस्तो अवस्था हुन जान्थ्यो जसलाई ‘प्रतिहिंसा’सम्म पनि भन्न सकिन्छ । म प्रस्टै देख्थेँ कि त्यस दिन उनको अवस्था अत्यन्त कठिन र विषम हुन जान्थ्यो, जसलाई सहनुमा उनीलाई एउटा प्रवञ्चनाले भरिएका धैर्यको उपयोग गर्नुपर्थ्यो ।
म उनको यो अवस्था देख्न सक्तिनथेँ । मलाई आफैं लाज लाग्न थाल्थ्यो । मेरी आमा, मेरी अझसम्मकी मानसिक पूजाको आधारको या दर्शन मलाई नर्क–यन्त्रणा दिन थाल्थ्यो । म प्रस्ट देख्थेँ कि त्यस दिन, दिनभरि एउटा निस्कन नपाएको कुनै भीषणता, कुनै अज्ञात तिखोपना र क्रोधले उनको मुटु खाइरहेछ ।
अवश्यै उनको यो अवस्था ‘कष्ट’को थिएन कि कुनै भीषण प्रतिरोधको उत्कटता जस्तो देखा पथ्र्यो । उनले मसित केही नभने, केही नगरे पनि म भित्रभित्रै काम्न थाल्थेँ, मेरा आँखाअगाडि मेरो बालक–काल र म बसेकी मेरी आमाको काखको चित्र उदाउँथ्यो जसमा अनन्त कल्याणबाहेक अरू कुनै कुराको परिचयै मलाई थिएन ।
अनि म रुन थाल्थेँ र कुन्नि कुन चिसोपनाले भित्र भन्थ्यो— हरे, आज मेरी आमा..?’
एकछिनसम्म चुप लागी झ्यालको बाहिरतिर हेरिसकेर वकिलले भने, ‘कथा अब थोरै छ र अझसम्म तपाईंहरूको तर्कको टुंगो लाग्ने छेउ नदेखिए पनि गोमतीको भनाइ समाप्त हुँदाहुँदै तपाईं सबैको भित्रको प्रश्न आफैं शान्त हुन जाला । अगाडिको कथामा गोमतीले भनेकी थिइन् ।’
‘अन्तमा एक दिन सहनै नसकेर मेरै आमा त्यो काम गर्न तत्पर भइन् जसलाई कुनै अर्कै नाउँ दिनुको सट्टा ‘अपकार’ भन्नु नै उचित होला र जसबाट नै उनको आफ्नै काखमा हुर्केकी छोरीको सच्चा जीवनको त्यो हबिगत हुने भयो जसलाई हत्या भन्नु पनि अनुचित होओइन । उनीलाई थाहा नभए पनि निश्चय नै त्यो उनको अज्ञात प्रतिहिंसै थियो, जसको सुन्दर मनोहर रूप र पवित्र भनिएको तुष्टि पाउने लोभलाई उनीले छोड्न सकेकी थिइनन् ।’
‘एक दिन बेलुकी आठ बजेतिर मेरो बा बाहिरबाट आएर आफ्नो कोठामा बस्दा आमा पनि त्यहीँ गइन् र एकैछिनपछि घरमा काम गर्ने एउटा केटो ‘बा डाक्दै हुनुहुन्छ’ भनेर मलाई माथि भन्न आयो । सहज भावले बाको कोठामा पुग्दा आमा पनि थिइन् र कोठाको वातावरणमा एउटा विषादको झल्का मेरो अन्तर्चक्षुमा बिझ्न गयो ।’
‘वकिलसाहेब ! त्यस बखत जुन अज्ञात आशंका, छलले भरिएको अकारणको भय मेरो मस्तिष्कमा, त्यस कोठामा पुग्दा–नपुग्दै, पस्यो त्यसको प्रभाव आजन्म निस्कनै सकेन ।’
‘बाको हातमा एउटा चिठी जस्तो कागत थियो र अगाडि त्यसैको एउटा खाम परिरहेको थियो । बाले भन्नुभो, हेर, यो मानसिंहको चिठी ! उसले यसमा तिमीलाई लेखेका आत्मीयताका कुराहरू एउटा बाबुबाहेक अरू कसैले पनि लेख्न सक्तैन । म मान्दछु, तिमी उमेरमा त्यसभन्दा सानी र तिमीलाई ऊ केटाकेटी बेलादेखि नै माया गर्छ । तर यत्तिकैले अब उमेर पुगिसकेकी तिमीलाई यस्तो चिठी लेख्न सक्तैन ।’
‘मेरो आँखा तिरमिर्याउउन लाग्यो । मानसिंह मलाई जुन कुरा सधैं लेखिराख्थे त्यसमा, कुनै आफ्नो व्यक्तिगत दुश्चेष्टा नथपे, कुन आरोपणको ठाउँ नै आउन नसक्ने विश्वास जमिराखेको हुनाले पत्र र बाको कुनै कुरो मेरो अन्तस्करणमा बिझ्न सकेन । किन्तु एउटा अज्ञात घृणा, युगयुगान्तरदेखि नारी–हृदयमा सञ्चित भइराखेको एउटा महाप्रतिरोध मेरो नसा–नसामा दगुर्न थाल्यो, मेरो आँखाअगाडि एकछिनका निम्ति अन्धकार जस्तो हुन गयो ।’
‘आमाले पनि नम्र शब्दमा मसित विनय गरेको जस्तो भावमा मलाई केही बुझाउने चेष्टा गरिन् । तर त्यसमा जुन कुत्सित दम्भको दर्शन मलाई मिल्यो उसले अन्तरैमा नचिच्च्याई मानेन, ‘हरे ! स्त्री भएर पनि एउटी स्त्री–आफ्नै छोरी–सित यत्तिको प्रवञ्चना !’
बामाथि मेरो अपार श्रद्धा थियो । तर उनले मेरो –छोरीको– चिठी खोलेर पढेछन्, फेरि त्यसमा मुख फोरेर मलाई कुन्नि के–के भने भन्ने भावद्वारा उनको जुन रूप एकैछिनमा मभित्र प्रतिष्ठित हुन गयो, त्यो अझसम्म लाख चेष्टा गरे पनि मैल हटाउन सकिनँ ।
मेरो भित्रको द्वन्द्व अभूतपूर्व थियो । मेरो कोमल मुट, मेरो आँखा चारैतिर कुनै यस्तो सत्यको दर्शन पाउन खोजिरहेथ्यो जसमा मलाई सम्पूर्णतः चिनेको सच्चाइ होओस्, किनभने त्यसमा मेरो प्रति दया र सहानुभूति अवश्य रहने छ भन्ने मलाई अज्ञात निर्भरता थियो ।’
‘केही नबोली चुप लागेर म बसी नै रहेँ । एकछिनसम्म सबै चुप भएर बसे, फेरि दुई–एक प्रकारको भूमिका जस्तो बाँधेर बाले प्रस्ट र आमाले कुरा चपाउँदै आज्ञा दिइन्, ‘अब उप्रान्त मानसिंहसित लेखापढी नगर्नू, उसैसित मात्र किन कसैसित पनि के काम ?’
‘हवस्’ भनेर म त्यहाँबाट उठेर गएँ र ‘वकिलसाहेब ! (आँसु पुछ्तै गोमतीले भनिन्) त्यही दिनदेखि मेरै आमा–बाबुले मैले कहिल्यै नचिनेको एउटा अज्ञात पतनको बाटोतिर संकेत गरिदिएकाले मलाई पनि त्यो बाटो नचिनी छुट्टी मिलेन ।’
‘मानसिंहसितको लेखापढी बन्द गरेर मैले आफ्नो समस्त हासख्याल र मनको प्रसन्नता समेत बन्द गरिदिएँ । मलाई केही रुच्तैनथ्यो । खानु, लाउनुसम्म यस्तो भारस्वरूप हुन गयो मानो त्यसो गर्न मेरो अधिकार थिएन, त्यसो बस्न मेरो निम्ति अपराध थियो । अवश्यै म मानसिंहलाई माया गर्थे, तर तिनी नभई मेरो सास लिनुपर्यन्त थाम्नेजस्तो होला भन्ने कुराको ममा विचारपर्यन्त अझसम्म नआएकोमा पनि, त्यस दिनको घटनाले मलाई कस्तो अनुभव हुन लाग्यो भने मानो मेरो आत्मा नै कुनै शक्तिद्वारा मानसिंहतिर प्रेरित हुन गएको छ र अब उनी नभई मेरो कुनै तारतम्यै बस्तैन ।
सबभन्दा ठूलो कुरा के त आमाबाबुहरूप्रति श्रद्धा, माया, ममता र मानसिंहप्रति मेरो आदर गर्नलायकको प्रेम, बन्धुत्वले नै अझसम्म ममा भएका सबै प्रकारका वृत्तिहरूलाई आच्छादित पारिराखेका थिए, तर ती सबै खोस्सिएर म एकदम यस्ती शून्य हुन गएँ कि त्यस शून्यतामा जस्तै राम्रा–नराम्रा कुरा पनि सजिलैसित मेरो अवलम्ब हुन सक्थे र भए पनि ।’
‘अब मेरो जीवनमा जुन अकल्पनीय नयाँ हेरफेर हुन आयो त्यसलाई अलिकति पनि फेरफार नगरी म भन्न लागेँ, सुन्नुहोस्— आफूभित्र प्रसन्नताको एक झल्कासमेत पाउने आशा नरहेको बेलामा एक दिन भाइटिकाको त्यो चाड आयो जुन दिन हामी हिन्दू स्त्रीहरूका निम्ति बन्धुत्व, आत्मीयता र उनको सधैँको निर्बल, निराश जीवनलाई एउटा अवलम्बपूर्ण आशाको दर्शन मिल्दो रहेछ ।
यथाविधि मलाई पनि तयार हुनुपरेको थियो र कुन्नि के पाउने लोभले सधैंको उदासीनता हटाएर त्यस दिन अलि तत्परताका साथ मैले पनि आफूलाई तयार पार्न योग दिएँ । मेरा आफ्ना दाजुभाइ कोही पनि थिएनन्, तर मेरा मामाको ‘गोपाल’ भन्ने एउटा छोरो थियो, जसलाई म टीका लाउने गर्थे । उसलाई म अत्यन्त माया गर्थे र उमेरमा दुई–एक महिनाको जेठो भए पनि उसको मानसिक विकास मजत्तिको नभएको हुनाले उसमाथि म आफ्नो आज्ञा पनि चलाउँथेँ, उसको नाउँ काटेर काम अराउँथेँ र ऊसित खेल्थेँ । यस्तरी दाजुभन्दा बढ्ता त्यो मेरो त्यस्तो साथी थियो, जसलाई मैले अझसम्म आफ्नो अनुग्रह दिइराखेकी थिएँ ।’
‘म प्रस्टै भन्न चाहन्छु कि कुन्नि के भएर टीका लाउने बेलामा त्यसपालि मेरो हात सधैंको झैं निःशंक भएर उठेन र कामिरहेका औंलाले मलाई टीका लाउनुपर्यो । यता कैयौं महिनादेखि ऊ मकहाँ आएको थिएन र आफ्नो अविराम मानसिक व्यथाभित्रै रहिरहेको हुनाले गोपाललाई मैले एक तवरले बिर्सी नै सकेको थिएँ । तर भाइटीका आउन लागेको थाहा पाएर उसको सम्झनाका साथै उसको उत्कट प्रतीक्षा पनि म गर्न थालेँ र उसलाई देख्नेबित्तिकै ममा एउटा यस्तो उद्वेगपूर्ण भावको लहर दगुर्यो जसलाई मैले बुझ्न त सकिनँ, तर त्यसबाट मेरो सञ्चित भइरहेको धेरै दुःख हलुङ्गो हुन जाला कि भन्ने एकतमासको मनोरम अनुभूति मलाई मिल्यो । टीका लाएर त्यो जान चाहन्थ्यो, तर आफैं भनेर र आमाबाट पनि भन्न लाएर उसलाई मैले जान दिइनँ ।’
वकिलले भने, ‘यहाँसम्म भनिसकेपछि एकछिनका निम्ति गोमती आकाशतिर हेरिरहेर चुप लागिन्, फेरि मानो कुनै ठूलो कष्ट सहननिम्ति साहस बटुलेझैं गरेर उनीले अलि चाँच्चाँडै र आवेगपूर्ण स्वरमा भन्न लागिन्, ‘यद्यपि मान्छे अजेय होइन र उसभित्र विकारको बीउ त जन्मैदेखि रोपिदिएर भगवान्ले उसलाई मनुष्य भन्ने नाउँ दिएका हुन् । तर मेरो दीर्घ अनुभव के छ भने अभाव र कमीभित्रै विकारको कुत्सित विजय मान्छेमाथि प्राप्त हुँदो रहेछ ।
मानसिंहसितको सम्बन्ध, आत्मिक सोझो बन्धुत्व बलजफ्तीसित बन्द गरिदिँदा, पहिलो पटक जब मैले आफूलाई एउटा कमीभित्र पाएँ, त्यस दिन पहिलो पटक ‘विकार क्या हो’ भन्ने कुराको परिचय पाउने दुर्भाग्यले पनि मलाई नछोई रहेन ।’
‘सफा कुरा के त, गोपाललाई लिएर मनमा एउटा वासनात्मक जस्तो द्वन्द्व मच्चिरहेको थियो, तर यो पनि पक्का कुरा हो कि त्यो द्वन्द्व मेरो कुनै कामुकताले उत्पन्न भएको थिएन । गत कैयौं दिन गोपालका साथमा रहनुपर्दा मलाई एउटा साथी नभएको कमीको पूर्ति त भयो, तर गोपाललाई नै लिएर म मानसिंहलाई बराबर सम्झन थालेँ । मलाई कस्तो भास हुन्थ्यो भने मानसिंहको एउटा सानो पत्र पाएर र उनीलाई केही लेखेर मेरो नारी–हृदयको धेरैजसो कुराहरूको साम्य हुन सक्थ्यो अथवा मानसिंहलाई एकदम विशुद्ध माया गर्न दिएको भए आफआफैंमा निश्चय नै म त्यति पूर्ण र सम्पन्न रहन सक्थेँ कि संसारका कुनै प्रकारको लोभले मलाई छुन सक्तैनथ्यो ।
‘तर मेरो यस्तो प्राप्तिलाई, मलाई माथि उठाउने शक्ति मेरो सोझो आत्मालाई मेरै आमा–बाबुले कुल्चिदिए’, यसै धारणाले ममित्र आमा–बाबुप्रति एउटा सहन नसकिने ईष्र्याको यस्तो प्रादुर्भाव गर्यो जसले मेरो आत्मालाई नखाई छोडेन ।’
‘गोपाललाई लिएर क्रमशः मभित्र एउटा भयानक संग्राम चल्न लाग्यो, जसलाई म ‘सुख’ त कसरी भन्न सकूँला, हो, ‘ईष्र्या–द्वेष र विनाश पार्ने एउटा व्यर्थको पागलपनको आवेगपूर्ण आग्रह’ भने उसको साँचो परिभाषा हुन सक्छ । म फेरि भन्न चाहन्छु— निश्चय त्यो कामवासना पनि थिएन, त्यो भएको भए पनि म यत्तिको पीडा र दुःख, परिताप पाउन सक्तिनथेँ, किनभने त्यो एउटा मनुष्यको स्वाभाविक गति हुन्थ्यो ।
तर यहाँ त्यो सारै नै टाढा थियो । गोपाललाई देख्नेबित्तिकै आफूभित्रै म बलपूर्वक कराउँथेँ, ‘गोपाल, मेरो दाइ’, तर यही भन्नु नै त उसलाई नाश पार्ने मेरो अदम्य आग्रहको द्योतक थियो !’
‘उसलाई लिएर अक्सर म बाहिर डुल्न जान लागेँ । पर्व–पर्वमा देउताहरूको दर्शन गर्न जाँदा भीडबाट बचाउने उसैलाई आफ्नो रक्षक बनाउन लागेँ र भीडमा आग्रहपूर्वक जाने बेलामा उसकै बाहुपाशमा सुरक्षित भएर म अरू देव–दर्शकहरूबाट बच्चेँ । तर... ओहो ! यही गर्दागर्दै उसको अंकको स्पर्शको परिचयले मलाई छोयो । बिस्तार–बिस्तारै उसलाई लिएर म बढ्दै गएँ र एक दिन आफूलाई नाश पनि नपारी मलाई आफैंबाट छुट्टी मिलेन ।’
यहाँ एकछिनसम्म निस्तब्ध चुप रहेपछि एकदम मन्द, मसिनो थाकेको स्वर जस्तो आवाजमा शान्तिपूर्वक गोमती फेरि भन्न लागिन्, ‘यहाँ तीन कुरा संक्षेपमा के प्रस्ट गरिदिन चाहन्छु भने, पहिलो त ‘गोपाल यस कुरामा दोषी थिएन । निकै दिनसम्म त उसलाई म पतित पार्छु भन्ने उसलाई त के, मलाई नै आभास थिएन, बरु अलिअलि आभास पाएकै दिनदेखि उसले भाग्ने चेष्टा पनि गर्न थाल्यो, तर क्यै गरेर पनि मैले भाग्न दिइनँ । म आखिर नारी नै थिएँ, नारी हुँ ।’
दोस्रो, ‘तिनैताक मेरो बिहाको कुरा चलिरहेथ्यो र जतिजति प्रसन्नतापूर्वक त्यस कुरामा सबै भाग लिन्थे उत्तिकै ईष्र्याको प्रबलताभित्र मैले गोपाललाई नाश पारिरहेकी थिएँ ।’
तेस्रो, ‘मेरो बिहा हुनुभन्दा पन्ध्र दिनअगाडि नै यो बालक मेरो पेटमा बस्न आएथ्यो ।’ यही मेरो कथा हो । अब अलिकति यसको उपसंहार भाग अरू शेष छ, त्यो पनि मन लगाएर सहानुभूति, स्थिरतापूर्वक सुन्नुहोस् ।
‘लोग्नेकहाँ गएपछि आफ्नो गर्भ लुकाउन मलाई कुनै आवश्यकतै परेन । यथासमय मैले आफ्नो पतिदेवतासित इसारामा ‘म गर्भवती छु’ भन्ने कुरा सम्झाइदिएपछि म एकदम निश्चिन्त भएँ । तर रहीरहीकन मेरो मनमा एउटा कुन कुरा खेल्न लाग्यो भने, ‘के गरेर यस आउने सन्तानलाई यी पतिदेवताको हातबाट बचाउन सकिन्छ ?’
अवश्यै यस कुरामा कुनै सार थिएन र यो गर्दा नोक्सानबाहेक केही लाभ पनि देखिन आएको थिएन । किन्तु मेरो अन्तरभित्र कुन्नि कुन दुर्निवार आग्रहले लगातार मलाई घचेट्न लाग्यो र मेरो निश्चय दृढ हुँदै गयो, ‘यस बच्चालाई उनको हातमा म दिन्नँ, क्यै गरेर पनि दिन्नँ ।’ मेरा लोग्ने उस्तै छन् जस्ता सबै स्वास्नीमान्छेहरूले पाउँछन् । उनमा कुनै विकार छैन, दोष छैन र उनी एक हदसम्म रूपवान् पनि छन् ।
उनको उदारता र एउटी स्त्रीप्रति लोग्नेले गर्नुपर्ने कर्तव्यमा उनीलाई आदर्श पनि म भन्न सक्छु, तर उनीलाई —कुनै स्वार्थको पनि आश्रय लिएर— मैले आफ्नो नारीको आत्मा दिन सकिनँ । म उनलाई माया पनि गर्छु र मेरो मायामा उनको विश्वास पनि छ, तर यति भए पनि मैले आत्मसमर्पण गर्न सकिनँ । तपाईंलाई यहाँ अलि उत्सुकता र अनौठो जस्तो देखिन आउला, तर यसमा आश्चर्य मान्ने कुरै छैन ।
मैले पहिले नै भनिसकेकी छु, ‘ममा ईष्र्या, द्वेष र विनाश पार्ने एउटा व्यर्थको पागलपनको आवेगपूर्ण आग्रह’ प्रादुर्भूत हुन गएथ्यो, जसले गोपाललाई प्रश्रय दियो र जसले गर्दा यस बच्चालाई आफ्नो पतिदेवतालाई सुम्पिन सकिन र... र यो कुरा मेरै आमा–बाबुको मानसिक कमजोरी थियो । विशेष गरेर मेरी आमाभित्रको नारी–ईष्र्याको विकारकै वरदान म नारीलाई प्राप्त नभई छोडेन । मैले आफ्नो स्वामीलाई आत्मसमर्पण गर्न सकिनँ, यसको कति दुःख मभित्र छ यो तपाई पुरुष जातिले कहिल्यै, क्यै गरेर पनि बुझ्न सक्ने कुरै होइन ।’
एकछिन चुप लागेर वकिलसाहेबले फेरि सुरु गरे, यद्यपि कथा सुन्दासुन्दै म पराभूत र जड जस्तो हुन गएथेँ, तर ‘अब यो बच्चालाई के गर्ने’ भन्ने कुरा सोध्न मैले मुख बाउन लागेको के थिएँ, उनीले मलाई चुप पार्दै भन्न लागिन्, ‘पख्नोस्, मैले सबै कुरा आफैं प्रबन्ध गरिसकेकी छु । मेरो साथमा यस बखत पाँच हजार रुपियाँको नोट छ । पतिगृहबाट चोरेको धन यो होइन । मेरा गहनाहरू बेचेर मैले यसलाई जम्मा पारेकी हुँ ।
यो बच्चा यस बखत डेढ महिनाको भएको छ । म यसलाई तपाईंको आश्रयमा छोड्छु । यही रुपियाँबाट यसलाई पढाइ– लेखाइदिनुहोला । जम्मै कुरा प्रस्ट लेखेर एउटा चिठी पतिदेवतालाई दिननिम्ति मैले आफ्नी नोकर्नी पठाइसकेकी छु । अझसम्ममा उहाँले सायद जम्मै कुरा थाहा पाइसक्नु पनि भयो होला । अब उहाँलाई यस बच्चाको र मेरो कुनै खायस होओइन । त्यस घरमा फर्किजाने कुनै बाटो मैले छोडेकी रहिनछु । तपाईंसित मेरो बाको घनिष्ठता भएकाले एक किसिमले बालककालदेखिकै मेरो विश्वास र आदर तपाईंमाथि छ र ‘तपाईं चाँडै नै यो ठाउँ छोड्नुहुन्छ’ भन्ने पत्ता लगाई म माइत आएकी र आज यो बच्चा —आफ्नो छातीको टुक्रा— लाई तपाईंको सेवामा सुम्पिन आएकी हुँ । अब मेरो कथा सकियो ।’
गम्भीर स्वभाव र खँदिलो बोली बोल्ने वकिलका आँखा रसाउन गएका र उनको अनुहारमा मूर्तिमान् विषाद कृत भइरहेको थियो । उस बखत राति दुई बजेको बेलाको शून्यता झन् गम्भीर र उदासीन जस्तो हुन गयो । एकछिनसम्म चुप लागी अलि आफूलाई समालेर सुस्पष्ट आवाजमा बिस्तारै वकिलले फेरि भने— डेढ महिनाको बच्चालाई छोड्दा गोमती जस्ती तीव्र अनुभूति राख्ने स्त्रीको छातीभित्र के भयो होला, यो कुरा उनले नभने पनि ममाथि प्रकट नभई छोडेन । तैपनि बच्चाको एकपल्ट म्वाइँ खाँदा एउटा विषादको मसिनो मुस्कान उनको ओठको कुनामा नचियाई छोडेन ।
मेरा गोडामनि बालक र नोटलाई राख्तै उनीले फेरि भनिन्, ‘मेरो छातीको हाहाकार मै जान्दछु कि अन्तर्यामीलाई नै थाहा होला । म सोच्तछु, मानसिंहलाई सहजभावले मेरो बन्धु रहन दिएको भए, मेरो पति पनि हुन्थे, म पनि रहन्थे र यो बच्चा पनि आफ्नो सहजता नै लिएर मेरो गर्भबाट उम्रन्थ्यो । तर खै केही पनि भएन । भो, यस बालकलाई समाल्नुहोला । अब तपाईंको दया, धर्मकै आश्रय यसलाई शेष रह्यो ।’ यति भनेर गहिरो अन्धकारमा उनी विलीन भइन् र जडवत् भइरहेकाले मैले उनलाई रोक्ने चेष्टै गर्न सकिनँ ।
कथा सकिएर पनि केही बेरसम्म सबै जना चिसो हृदयले चुपचाप बसिरहे । त्यसपछि एक जनाले आँसु पुछेर कण्ठ–स्वरलाई सफा पार्ने चेष्टा गर्दै भने, ‘अनौठो कथा रहेछ, साँच्चै, प्रेमलाई चलाउनु पापै हुँदो रहेछ ।’
टाउको हल्लाएर वकिलले भने, ‘जरुर, जरुर । प्रेम मनुष्य–हृदयको सबभन्दा उत्कृष्ट सफलता हो ः यसको रहस्य जान्ने चेष्टा गर्दा ‘अपकार’ बाहेक ‘उपकार’ भन्ने कुरा अझसम्म मान्छेले झिक्न सकेको छैन । यसैले यसलाई चलाउन हुँदैन । यसमा भगवान्को अदृश्य हातको स्पर्श रहन्छ ।’
–रचनाकाल : वैशाख २००१—
(कथाकार भिक्षुको कथाकृति ‘गुनकेसरी’बाट)