
ऊ मजस्तो छ वा म ऊजस्तो, त्यसको तुलना गर्नु व्यर्थ छ । व्यर्थ यस मानेमा, ऊ म होइन र म ऊ होइन । कुराको सूत्र लम्ब्याउने बहाना हुन सक्छन् यस्ता भनाइहरू । ऊ को हो र म को हुँ भनेर खुलस्त गर्नु पनि बेकारै छ ।
ऊ मजस्तो नभएको भए पनि केही फरक पर्ने छैन । तर, समानता यो छ, म बिहान तरकारी किन्न निस्कँदा ऊ पनि मैजस्तो गरी रित्तो झोला बोकेर सँगसँगै नभए पनि वरपर देखभेट हुने गरी तरकारी किन्न निस्केको हुन्छ ।
फरक हुनुको कुरो गर्दा म तरकारी किन्न उसले जस्तै रित्तो झोला हातमा झुन्ड्याएर निस्केको भए पनि म बिहानको टाइममा गरिने पैदल हिँडाइको सिलसिलामा तरकारी किन्न पुग्थेँ । अरू फरक यति मात्र छ, म जे किन्छु त्यो त्यही तरकारी किन्दैन ।
हाम्रो रुचि फरक छ । फरक देखाउन ऊ काउली किन्छ भने म काउलीतिर आँखा पनि लाउँदिनँ । यसभन्दा बढी बयान गर्नु छैन । ऊ र ममा यति फरक रहनु नै पर्याप्त छ ।
तर, भनिएका ती फरकमा ऊ मजस्तो बिहानै उठेर प्राथमिक कामहरूबाट निप्टान भएपछि दारी खौरनतिर लाग्दैन । यो उसको अनुहारभरि उम्रेको ठुटा दारीले देखाउँछ ।
ऊ एक किसिमको उदास मानिस देखिन्छ । म भन्नुपर्दा एक सफा र सुरुचि भएको व्यक्ति देखिन सक्छु । तर, म बूढो भइरहेछु । जुन दिन म मास्क नलगाई बाहिरफेर निस्केर फर्कन्छु, त्यस दिन घर फर्केपछि आक्कलझुक्कलै सही ऐनामा आफ्नो अनुहार देख्दा अत्यन्त उदास हुन्छु ।
मास्कले ढाकेजतिको अनुहारबाहेक म बाँकी अनुहार स्पष्ट ऐनामा देख्न सक्छु । गाला र घाँटीमुनि चाउरिएर छाला खप्टिन लागेको प्रस्टै देखिन्छ र ओठवरिपरिको छालामा मुजा परिरहेका हुन्छन् ।
यसबाहेक म हिँड्दा आफ्नै गति नियन्त्रणमा नरहेर दुईपटक उछिट्टिएर सडकको पेटीमा पछारिइसकेको छु । धन्न ज्यान गएन । ज्यान गएको भए एउटा कल्पना हुन सक्थ्यो, पेटीमा पल्टेको यो लास कसको हो ?
दुईपल्ट पछारिँदा पहिलोपटकमा मरिने थिइयो वा दोस्रोपटकमा त्यो निर्णय कालको हातमा थियो । तर, कालले हात थापिदिएकाले मरिएन । खुसीकै कुरा हो । त्यसपछि म एउटा पाइलापछि अर्को चाल्दा छोटो दूरीको गराएर हिँड्न लागेँ । लाग्यो, यो बुढेसकालमा मैले कहीँ पुग्ने हतार गर्नु ठिक छैन ।
यति मात्र भन्दा मेरो बारेमा केही खुलस्त भए पनि उसको विषयमा पर्याप्त खुलासा हुँदैनथ्यो । उसका बारेमा अरू कुरा मैले पनि बुझ्नै बाँकी थियो ।
उसरी उसलाई म हरेक दिन तरकारी किन्ने ठाउँमा देख्दिनथेँ । जतिपटक उसलाई म देख्थेँ, उसले पनि मलाई देखेकै हुन्थ्यो । पटकपटक देखादेखपछि ऊ अलिअलि गर्दै मेरो नजिक आउने प्रयास गरेजस्तो लाग्यो मलाई । यो आपत्तिजनक थिएन ।
यसरी ऊ मलाई नोटिस गरिरहेको मात्र होइन, अलिअलि गर्दै खनखोरस गरेर मेरो विषयमा जानकारी लिइरहेको लाग्यो । मैले जुन पसलबाट सागसब्जी किन्थेँ, त्यस पसलको मालिकलाई यी सबै कुरा थाहा थियो । विशेष गरी उसको बारेमा ।
पसलेले मेरो परिचयमा उसलाई भनेको हुनुपर्छ, मानिस सज्जन छन् र व्यावहारिक । उसले पसलेसित सोधजोज गर्दा मेरो परिचयमा अरू के भन्यो होला, त्यो थाहा पाउन सकिएन । किनभने, मेरो परिचय दिँदा म त्यहाँ थिइनँ ।
म त्यहाँ नभए पनि मेरो परिचयको प्रभावले त्यो व्यक्ति मलाई देख्दा मुस्काएर मौन अभिवादन दिएजस्तो गर्न थाल्यो । म कुनै उच्च अभिजातको व्यक्ति थिइनँ ।
म पनि ऊसरह नै खुद्रा पसलभन्दा यता सस्तो भाउमा तरकारी किन्न रित्तो झोला बोकेर सब्जीमन्डीतिर छिर्ने गर्छु । उसले मौन अभिवादनका लागि मुस्काउँदा मैले परक्क मन्टो बटारेर अर्कोतिर हेर्ने कुरो भएन । तर, रहस्य यो थियो– ऊ मेरो बारे किन जान्न प्रयास गरिरहेछ ?
उसलाई पहिलोपटक नै त नभनौँ, तर नजिकबाट हेर्दा ऊ मजस्तै चाउरिन लागेको देखेँ । ऊ उमेरले मभन्दा अलि कान्छै थियो, तापनि ऊ असमयमै चाउरिन लागेको देखेँ ।
आश्चर्य पनि लाग्यो र दया पनि । पहिलोपटक ऊ मुखर भएर मलाई नमस्कार गरेपछि मुस्काउँदा उसका दाँत सेता र झलल टल्किने खाले थिए ।
मनमा लाग्यो, दाँतको सफाइमा अत्यन्त ध्यान दिने रहेछ । यस्तो सोधौँ लाग्यो– तपाईं दाँत टल्काउन कुन मन्जन प्रयोग गर्नुहुन्छ ? त्यस्तो सोध्नु उपयुक्त हँुदैनथ्यो । दाँतैका विषयमा सोधेर उसको व्यक्तिगत विवरण के नै पाउन सकिन्थ्यो र ?
मलाई यस्तो लाग्यो, दाँतलाई छाडेर मसँग परिचित हुन खोज्नुको उसको अभीष्ट सोधूँ । माने, मसँग परिचय गर्न चाहनुको अभीष्ट । पसलको मालिकले मलाई गम्भीरतासाथ चेताएको त थिएन, तर भनेको थियो– ऊ हिमचिम गर्न उत्सुक छ । तर, ऊबाट बच्नु पनि पर्छ । पसलेको भनाइमा खासै ध्यान दिइनँ मैले । के बच्ने र किन ?
व्यक्ति हेर्दा मिलनसारजस्तै छ । त्यस्तैमा एक दिन मैले हेलो भनेर अभिवादन गरेँ । उसले नखौरिएका दारीको माझबाट मुस्कान प्रस्ट देखिने गरी ओठ खोल्यो । व्यक्ति पुरानै परिचितजस्तो लाग्न सक्थ्यो उसको मुस्कानले ।
त्यसपछि उसको र मेराबीच संवाद खुल्यो । मैले उसलाई एकदुईपटक सौजन्यवश सब्जीमन्डीको छेवैको चियापसलमा लगेर चिया पनि खुवाएँ ।
चिया खुवाएर मात्र केही हुनेवाला थिएन । एक दिन उसले अलि अप्ठेरो मानेको भाव दर्साएर भन्यो, ‘दुई सय रुपियाँ सापट पाऊँ । म भोलि दिइहाल्छु ।’
यसमा अप्ठेरो मान्नुपर्ने केही अड्को थिएन । पैसा मसँग हरदम भइराख्थ्यो । म खल्तीमा फाल्टु हजार–पाँच सय हालेरै निस्कन्थेँ । मैले भनेँ, ‘दुई सय खुद्रा छैन, अहिले पाँच सयको नोट मात्र छ । यै लिनुस् । भोलि फर्काउनुहोला । भेट भइहाल्छ ।’
दुई सय लिनुमा र पाँच सय लिनुमा खासै फरक नहोला । उसले त्यो पाँच सय अर्को दिन फर्कायो । मानिस इमानदार रहेछ । मैले पाँच सय सापट दिएर मानिसको इमानको मूल्यांकन गर्नु उचित थिएन ।
उसले यसरी मसँग सापट लिने बाटो खोल्यो । मैल पनि बेलाबेला उसले मागेअनुसार सापट दिने गरेँ । तर, दुईतीनचोटि सापट दिएपछि उसले फर्काउन छाड्यो । भन्यो, ‘तलब पाइएको छैन । म अवश्य फर्काउँछु । अर्काको पैसा खाने बानी छैन मेरो ।’
मैले उसको बानी सोधेको थिइनँ, तर उसले घोषणा गरयो— म अर्काको पैसा खान्नँ । यहीँनिर मैले उसलाई टर्रो भएर भन्नुपर्ने थियो– खै के थाहा ! मैले त तपाईंले अर्काको पैसा खान खोज्नुभएको भन्या छैन ।
उसले मेरा मनका कुरा बुझेझैँ मतिर हेरेर झल्झली टल्किने दन्तपंक्ति देखाएर भन्यो, ‘माइन्ड नगरौँ है । टेन्सनमा छु । अर्काको पैसा खाने मानिस होइन भनिहालेछु ।’
उसको यस्तो विनम्र भनाइ आएपछि म पनि सन्तुष्ट भएँ । खाए खा, कति नै खालास् तँ मोराले ! हजार–पाँच सयका लागि म गनगन गरिरहने व्यक्ति होइन ।
मेरो हैैसियत त्योभन्दा बढी नै थियो । महिनाको चालिस–पचास हजार मेरो पेन्सन नै थियो । त्यसको हिसाब मैले कसैलाई बुझाउनु पर्दैनथ्यो । मेरी बूढी बितेको दश वर्षभन्दा बढी भइसकेको थियो ।
पैसाभन्दा पनि मेरो एक्लोपन बढी थियो । यो एक्लोपनलाई मैले ठाउँकुठाउँ खुला रूपमा व्यक्त गर्न मिल्दैनथ्यो । मेरो एक्लोपनप्रति मेरा सन्तानहरूमा चिन्ता थिएन । म यो भन्न सक्दैनथेँ— मलाई जीवनमा अर्की संगिनी चाहियो ।
यसको अर्थ उनीहरूका लागि सोझै यो हुन्थ्यो, म स्त्रीको भोको छु । मेरो अर्को बिहे गरिदेओ अथवा मैले यो घोषणा गरेझैँ हुन सक्थ्यो— म अर्को बिहे गर्न गइरहेछु ।
तर, पिता वा हजुरबाका हैसियतले धेरै कुरा चाहेर पनि भन्न सकिन्न । विशेष गरी स्त्रीप्रसंग वा भनूँ बिहेको कुरो । तर, भाग्यले कतै न कतै केही जुराइदिन सक्दो रहेछ ।
एकपटक त्यो मानिस जसको नाम लीला थियो, उसले मसँग लिएको दुई हजार पच्चिस सय रुपियाँ धेरै दिन नफर्काएपछि उसको कोठा खोज्दै गएँ । कोठा पसलको साहुले नक्सा खिचेरै देखाइदिएको थियो ।
पसलेको रासनको उधारो पनि तिरेको रहेनछ । पसलेको नक्सा अनुसरण गरेर म लीलाको कोठामा पुगेँ । तर, कोठामा ताल्चा झुन्डिएको थियो । छिमेकलाई बुझ्दा साँझ छ बजेपछि मात्र लीलाकी पत्नी फर्किने थाहा पाएँ ।
लीलाको अत्तोपत्तो थिएन भनियो । के ऊ कतै ड्रगको भरिया त होइन ? यस्तो शंका मनमा आयो र उसलाई प्रहरीले समातेर लगेको छ पनि भन्यो उसको छिमेकीले ।
साँझ सात बजेतिर म फेरि लीलाको कोठामा पुगेँ । कोठाको ढोका ढकढकाएपछि भित्रबाट चुकुल ओरालेको आवाज आयो र ढोका खुल्यो । ढोकामा एउटी युवती उभिएकी थिई । मैले सोझे सोधेँ, ‘लीलाको कोठा यै हो ।’
युवती एक छिन मौन बसी र भनी, ‘हो, तर मैले तपाईंलाई चिनिनँ ।’
मैले हाँस्दै भने, ‘लीलाले चिनाएकै होइन । मैले उसलाई केही रकम सापट दिएको थिएँ । त्यै माग्न आएको । अनि, तपाईं लीलाको को ?’
युवतीले केही संकोच मानेको भाव दर्साएर भनी, ‘म उसकी श्रीमती हुँ ।’ अनि भनी, ‘लीला त छैनन् । तपाईं बस्ने कि जाने ?’ सोधाइको प्रसंग मिलेको थिएन, एक अपरिचितलाई एकाएक बस्ने कि जाने भनेर सोध्नुमा ।
मैले युवतीको सोधाइलाई एउटा आमन्त्रणजस्तो मानेर केही नभनी उसलाई पन्छाएर कोठाभित्र पसेँ । युवतीले मेरो पछिपछि आउँदै भनी, ‘कति लिएका हुन् उनले ?’
प्रश्न अप्रत्याशित थियो । मलाई लाग्यो, युवतीले पैसा फर्काउने त होइन ? मैले सोचेजस्तो मुद्रा बनाएर भनेँ, ‘पच्चिस सय हो ।’
युवतीले केही गम्भीर भएर भनी, ‘रकम धेरै त होइन, तर उनले त कसैकसैको दशौँ हजार खाइदिएका छन् । पसलेकै बाँकी होला सातआठ हजार ।’
मैले यतिन्जेल लीलाको कोठाको निरीक्षण गरिभ्याएको थिएँ । ओछ्यान चिटिक्क मिलेको थियो । एक छेउमा एउटा सातआठ वर्षको बच्चो सुतिरहेको थियो ।
‘यो कसको बच्चा हो ?’
युवती अलि हाँसी र अबुझलाई खिसी गरेझेँ भनी, ‘कसको हुने नि ?’
मैले पनि लाटो हिसाबले भनिदिएँ, ‘तपाईं र लीलाकै होला, होइन ?’
युवतीले स्वीकृतिमा टाउको हल्लाउँदै एउटा प्लास्टिकको कुर्सी अगाडि सारेर भनी, ‘बस्नोस् ।’ अनि, ऊ ओछ्यानमा बसी र एकाएक सुँक्कसुँक्क गर्दै रुन थाली ।
युवती रुँदा उसको मादक जिउ छचल्किरहेको थियो । मभित्रको एकल पुरुषको सुषुप्त स्त्री सहवासको चाहना एकाएक जागृत भयो । युवतीको छेउमा गएर उसका पुष्ट पाखुरा सुमसुम्याउँदै सान्त्वना दिने प्रयास गरूँ कि भन्ने लाग्यो ।
यो अति होलाजस्तो लाग्यो र थामिएँ । तर, सचेत पनि भएँ, यता एउटा हल्ला व्यापक थियो— हनी ट्रयाप ! म अलि सचेत भएँ र उठेँ अनि युवतीले खुलै छाडेकी ढोका बन्द गर्नतिर लागेँ ।
बन्द गर्नुअघि ढोकामा लुकेर बाटोतिर हेरँे । कतै कसैले कोठातिर हेरिरहेको त छैन ? आश्वस्त भएपछि भित्र उभिएर कोठाको चुकुल लगाएँ । युवतीले केही भनिन ।
अनि, म युवतीको छेउमा बस्दै भनेँ, ‘भन नानी, तिमी किन रोएकी ? तिमीलाई के दुःख छ ?’
युवतीले अश्रुपूरित आँखाले मतिर हेरी । भनी, ‘मलाई लीलाले गाउँबाट फकाएर सहरमा ल्याएको हो । यता यो छोरो जन्म्यो । उसको कुनै जागिर रहेनछ । पहिले त ठूलै बिजनेस छ भन्यो । पछि ऊ त एक ठग प्रवृत्तिको मानिस रहेछ भन्ने थाहा पाएँ । अहिले उसलाई प्रहरीले समातेर लगेको छ, लागुपदार्थको कारोबार गर्छ भनेर । याँ पनि प्रहरी बेलाबेला आइरहन्छ र मलाई ठाना हिँड् भन्छ । मलाई डर लाग्छ ।’
‘तिमी नडराऊ । भन, अनि अहिले कसरी गुजारा चलिरहेछ त तिम्रो ?’
‘गुजारा के हुनु नि, एउटा पसलमा काम गर्छु । कोठाको भाडा पनि तिर्न सकेकी छैन । साहुले कोठा छाड् भन्छ । छोरोलाई पढाउन सकिएन । यसको भविष्य पनि बिग्रने भो ।’
‘यी सबको समाधानको उपाय मसँग छ । तिमी चिन्ता नलेऊ । मात्र यति भन, म जे भन्छु त्यो तिमी मान्न तयार छौ वा छैनौ ?’
युवतीले मलाई निकै बेर घोइरिएर हेरी र एकाएक भनी, ‘हेर्दा हजुरबाजस्तो हुनुहन्छ तर म यो सोचिरहेछु— यतिसारो मलाई गडेर हेरिरहेको किन नि ?’
मैले युवतीलाई यद्यपि उसलाई युवती भन्न सुहाउँथ्यो वा सुहाउँदैनथ्यो, त्यसतिर विचार नपुर्याई उसलाई सुस्तरी अँगालोमा लिँदै भनेँ, ‘म एक मायाको प्यासी पुरुष हुँ । मन त तन्नेरी नै छ, मानिस बूढो भए पनि ।’
अनि, उसलाई मेरो वृत्तान्त्त सबै बताएँ । त्यस दिन घटनाक्रमले कुनै अप्रत्याशित मोड लिएन । तर, मैले उसको हातमा दुईवटा हजारका नोट राखिदिएँ । पहिले त उसले लिन अस्वीकार गरी । मैले जोड गरेपछि उसले रकम स्वीकार गरी ।
तीन दिनपछि म पुनः उसको कोठामा पुगेँ । मैले एक सातापछि आउँला भनेको भए पनि प्रतीक्षा गर्न सकिनँ । एक साता धेरै लामो हुने भो । म युवतीको सान्निध्यका लागि तिर्खाएको थिएँ । एउटा छोराको आमा भए तापनि उसको यौवन अझै पनि पुरुषलाई प्रलुब्ध पार्ने खालको उन्मत्तिलो थियो ।
दोस्रोपटकको भेटमा पनि मैले खासै भूमिका खेलिनँ । म सोझो र दयालु अभिभावक देखिने प्रयासमा थिएँ । उसरी मलाई युवतीलाई अँगालो मार्ने अग्रसरता लिन उमेरले दिइरहेको थिएन ।
फर्कने उपक्रम गर्दै मैले पुनः युवतीको हातमा रकम राखिदिएँ, यसपटक हजारका पाँचवटा नोट उसलाई थमाएँ । उसले आश्चर्य मानेको भाव प्रकट गरी । भनी, ‘म यतिका रकम फर्काउन सक्दिनँ ।’
मसँग पूर्वनिर्धारित जवाफ तयार थियो, ‘तिमीसँग रकम कसले फिर्ता माग्छ र ? बरु...’ मैले त्यस दिन बरुपछि केही भनिनँ । युवतीले पनि ‘बरु के भन्नुस् न’ भनेर सोधिन ।
हामी कम्युनिकेट भइरहेका थियौँ । बूढो भए पनि ममा संवाद निर्वाहको पूरै कौशल थियो, जसलाई म युवतीलाई फकाउन प्रयोग गरिरेहको थिएँ । जिन्दगीभरि हाकिमहरूलाई चापलुसीको भाषामा फकाउँदै आएको थिएँ र अन्त्यमा रिटायर हुने बेला हाकिम पद खाएको थिएँ ।
मलाई लाग्यो, युवती र म एकार्कासँग सन्निकट भइसकेका छौँ वा सन्न्किट हुने प्रक्रियामा प्रवेश गरिसकेका छौँ । खाँचो थियो, सुरुवात कसले गर्ने ?
युवतीले मलाई आफ्नो चरन मानिरहेकी थिई भने मैले युवतीलाई आफ्नो सिकार । छुट्टिने बेलामा मैले भनेँ, ‘अर्कोपटक म यहीँ खाना खाने गरी आउँछु ।’
युवतीले निमन्त्रणा दिने लज्जा देखाई र भनी, ‘हुन्छ । स्वागत छ ।’
म फुरुंग परेर फर्केँ । मेरो उपस्थिति प्रभावशाली भइरहेको छ । मैले आफूलाई आश्वस्त पारेँ ।
तेस्रोपटक मैले युवतीकै कोठामा खाना खाएँ । खाना मिठो र स्वादिलो थियो । म फर्कन चाहिरहेको थिइन । युवती भान्साको धन्दा भ्याएपछि मेरो छेउमा आएर बसी । उसको मादकताले मलाई भित्रभित्रै उत्तेजित पारिरहेको थियो ।
सुरु कसरी गर्ने यसको खोजीमा थिएँ, मुखबाट फुत्त निस्किहाल्यो, ‘अब म फर्कूं कि यतै बसूँ, तिमी नै भन ।’
युवती फुर्तीसाथ उठी र यही मौका पर्खिरहेझैँ बत्ती फ्याप्प निभाई अनि भनी, ‘आज यतै बसाँै न त ।’
युवतीको संगतमा सुखी भएँ भन्न सक्दिनथेँ । दिमागमा लीला झस्काउन आइरहन्थ्यो । यो थाहा भएन, लीला प्रहरीको हातबाट उम्केर कता गयो । तर, युवती आरुषालाई मैले त्यो डेराबाट अर्को कोठातिर सारेँ । आफ्नो सम्पर्क प्रयोग गरेर एउटा साहुको अफिसमा असिस्टेन्ट सेक्रेटरीको जागिरमा लगाइदिएँ ।
उसको छोरोलाई मेरो साथीको अंग्रेजी मिडियम स्कुलमा भर्ना गरिदिएँ । यति गरेपछि म केही ढुक्क भएँ । म उसै पनि घर धेरै जाँदैनथेँ । घरतिर जानै छाडिदिएँ भने पनि भो ।
घरमा खबर गरिदिन्थेँ, कहिले कुन साथीकोमा र त कहिले कुन साथीकोमा बास बसेको छु भनेर । घरमा पनि बुढाको खाक्कखुक्क सुनेर निद्रा भंग गराउनु र सेवासुसार गर्नुबाट मुक्ति पाइने हुनाले गहिरो गरी सोधखोज गर्दैनथे ।
अहिले म सुखी नै छु । तर पनि यस्तो लाग्छ, लीला त कहिले न कहिले ढोका ढकढकाउन आइपुग्ने हो कि !