काठमाडौं । दुईतिर भिरालो पाखा । बीचको डाँडामा बाक्लो बस्ती । खेतीयोग्य जमिन धेरै छैन । गाउँका केही मानिस विदेशमा छन् । कामको खोजीमा केही मानिस सहरबजारमा छन् ।
गाउँका केही पुरुषले बाटो निर्माणको काम गरेर आयआर्जन गर्ने गरेका छन् । केही महिलाले लघुवित्तबाट ऋण लिएर भैँसी तथा बाख्रापालन गरिरहेका छन् । लघुवित्तले लाखौँ रुपैयाँ ऋण पत्याएका छन् । एकै महिलालाई आठ लघुवित्तले ऋण दिएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, कलातिस्थित भूमिडाँडा सिमपानीका महिलाले यहाँका सबै लघुवित्तबाट ऋण लिएका हुन् ।
अधिकांश महिलाले आफ्नो क्षमताभन्दा बढी ऋण लिएका छन् । यो गाउँका महिलाले लघुवित्तबाट लिएको ऋण हिसाब गर्ने हो भने दुई करोड रुपैयाँभन्दा बढी हुने स्थानीय प्रिया खत्री बताउँछिन् ।
गाउँमा स्वावलम्बन, स्वरोजगार, मानुषी, किसान, सामुदायिक, कालिका, मेरो माइक्रोफाइनान्स र मिर्मिरे लघुवित्तले ऋण प्रवाह गरेका छन् । एउटाबाट लिएर तिर्न नसकेका महिलालाई अरू लघुवित्तले लाखौँ ऋण दिएको देखिन्छ । महिलाले पनि पहिले लिएकालाई तिर्न नै अरू लघुवित्तबाट ऋण लिएको देखिएको छ । यसरी लिँदालिँदै महिला ऋण तिर्नै नसक्ने अवस्थामा पुगेका छन् ।
कतिपय लघुवित्तले घरमै आएर ऋण दिने गरेको खत्री बताउँछिन् । उनले सात लघुवित्तबाट अहिलेसम्म २१ लाख ५५ हजार रुपैयाँ ऋण लिएकी छन् । पहिलोपटक बाख्रा पाल्न भन्दै ६० हजार रुपैयाँ ऋण लिएकी थिइन् । दुइटा बाख्रा पनि पालिन् । तर, बाख्रा मरेको उनको भनाइ छ ।
उनका श्रीमान् गाउँमै ठेक्कापट्टाको काम गर्थे । उनी मासिक २०/२५ हजार रुपैयाँ कमाउँथे । अर्को लघुवित्तबाट बाख्रापालनकै लागि भनेर तीन लाख ५० हजार रुपैयाँ ऋण लिइन् । तर, त्यो रकम घर बनाउन खर्च गरेको उनी बताउँछिन् । श्रीमान्को कमाइबाट घरखर्च चलाइन्थ्यो ।
उनका अनुसार कान्छी छोरी दुई वर्षको हुँदा तातो पानीमा हात डुबाएपछि अस्पताल भर्ना गर्नुपरेको थियो । त्यति बेला ६० हजार रुपैयाँ ऋण लागेको थियो ।
यसरी ऋण बढ्दै गएपछि श्रीमान्लाई विदेश पठाउन फेरि थप ऋण लिएको उनी बताउँछिन् । त्यतिखेर उनले अर्कै शीर्षकमा लघुवित्तबाटै दुई लाख ५० हजार ऋण लिएकी थिइन् । यसरी लिएको रकम श्रीमान्लाई विदेश पठाउन र घरका लागि पनि खर्च गरिएको उनले सुनाइन् ।
उनी मात्र होइन, यो गाउँका अरू केही महिलाको अवस्था पनि यस्तै छ । स्थानीय शारदा तामाङले सात लघुवित्तबाट साढे १५ लाख रुपैयाँ ऋण लिएकी छन् । शर्मिला अधिकारीले करिब १७ लाख रुपैयाँ ऋण लिएकी छन् ।
स्थानीय अधिकांश महिलाले सुरुमा भैँसी एवं बाख्रापालन गर्न भन्दै ऋण लिएका थिए । तर, त्यो रकम घरखर्चमा प्रयोग गरे । अहिले गाउँ नै लघुवित्तको ऋणमा डुबेको स्थानीय बताउँछन् ।
न्यून आय भएका ग्रामीण भेगका महिलालाई समूह बनाएर सामूहिक जमानीमा उनीहरूको आयस्तर वृृद्धि गर्न ऋण प्रवाह गर्ने र उनीहरूबाट बचत संकलन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले इजाजत दिएको संस्था हो, लघुवित्त । लघुवित्तले सामूहिक जमानीमा बिनाधितो कर्जा प्रवाह गर्ने गर्छ । तर, अहिले एउटै गाउँमा यस्ता समूह बनाएर लघुवित्तले कर्जाको दुरुपयोग गरेका छन् ।
ऋण तिर्न ऋण
यो गाउँका महिलाले व्यापार, बाख्रापालन तथा भैँसीपालन गर्न भन्दै लाखौँ रुपैयाँ ऋण लिएका छन् । त्यसको किस्ता तिर्न सकेनन् । किस्ता तिर्नकै लागि अर्को लघुवित्तबाट ऋण लिए । यसरी आठवटासम्म लघुवित्तको ऋण लिन पुगे ।
लघुवित्तले के प्रयोजनका लागि ऋण प्रवाह गरेको हो, सोहीअनुरूप प्रयोग भएको छ/छैन भनेर अनुगमन नगर्दा पनि समस्या उत्पन्न भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन् ।
“लघुवित्तले गल्ती गरेकै छन् । तर, यसलाई सुधार गर्नुपर्ने हुन्छ । अहिले जसरी अभियान चलेको छ, यो राम्रो भएन । लघुवित्तका सञ्चालक र व्यवस्थापकले पनि आफ्नो गल्ती स्वीकार्नुपर्छ,” उनले भने, “लघुवित्त नै चाहिँदैन भनेर हामीले अभियान चलाउने हैन । लघुवित्त ग्रामीण क्षेत्रलाई केन्द्रित गरेर ल्याएको अवधारणा हो । तर, अहिले लघुवित्तहरू उद्देश्यविपरीत लागेर नाफामुखी भएको जस्तो देखिन्छ ।” ऋणीले पनि पाएजति लघुवित्तबाट ऋण लिँदा ठूलो समस्या निम्त्याएको उनी बताउँछन् ।
एउटै ठाउँमा थुप्रिँदा समस्या
काठमाडौंबाट सबैभन्दा नजिक पर्ने ग्रामीण जिल्ला धादिङ, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोक हुन् । यी जिल्लामा लघुवित्तका कार्यालय प्रशस्तै देखिन्छ ।
एकै ठाउँमा धेरै लघुवित्त थुप्रिँदा समस्या उत्पन्न भएको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक सुधीरप्रसाद लोहनी बताउँछन् । एउटै उद्देश्यले खुलेका लघुवित्तले एकै व्यक्तिलाई ऋण प्रवाह गर्दा पनि समस्या निम्तिएको उनको भनाइ छ ।
उद्देश्य एउटा काम अर्काे
लघुवित्तको उद्देश्य ग्रामीण महिलालाई उद्यमी बनाउने हो । तर, अहिले लघुवित्तले वाणिज्य बैंकको जस्तो कर्जा लगानी गर्ने र नाफा आर्जन गर्ने गरेको देखिन्छ । लघुवित्तले सानोसानो समूह बनाएर कर्जा लगानी गरी उनीहरूलाई उद्यमी बनाउन सहयोग गर्नुपर्ने हो ।
तर, लघुवित्तले केही नहेरी ‘व्यवसाय वृद्धि गर्नुहोस्’ भन्दै कर लगाएर ऋण दिने गरेको भक्तपुरको सिरुटारकी कमला मोक्तान बताउँछिन् । उनले समूहमा बसेर जीवन विकास लघुवित्त र लक्ष्मी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकी छन् । उनले समूहमा बसेर बचत उठाउने र ऋण लिने गरेकी हुन् । तर, समूहका कुनै सदस्यको ऋण चुक्ता नभए लघुवित्तले ऋण नदिने उनी सुनाउँछिन् ।
“समूहका सदस्यमध्ये कसैले ऋण लिए भने त्यो ऋण चुक्ता नगरी अरूले ऋण नपाउने अवस्था छ । ऋण लिएकाले तिर्न सक्ने अवस्था छैन भने समूहकै कसैले ऋण चुक्ता गरिदिनुपर्ने बाध्यता छ,” उनले भनिन्, “त्यस्तै, आफूसँग भए पनि नभए पनि किस्ता भनेजति नै नियमित तिर्नुपर्ने बाध्यता छ । आफूसँग जति छ, त्यति नै लग्नुभन्दा लघुवित्तका कर्मचारीले तथानाम गाली गर्ने गरेका छन् ।”
स्वार्थ समूह हाबी हुने जोखिम
लघुवित्तबाट ऋण लिएका केही व्यक्तिहरू सरकारले ऋण मिनाहा गरिदिनुपर्ने भन्दै आन्दोलनमा उत्रिन थालेका छन् । ऋण लिएर चुक्ता नगर्ने र आन्दोलन गर्नेको नियत गलत भएको कतिपय सरोकारवाला बताउँछन् ।
केहीले गल्ती गर्दा राम्रो सेवा प्रवाह गरिरहेका लघुवित्तको व्यवसायमा पनि समस्या उत्पन्न भएको सीवाईसी लघुवित्त वित्तीय संस्थाका प्रबन्ध निर्देशक डोलिन्द्रप्रसाद शर्माले बताए । “कतिपय लघुवित्तले गल्ती गरेका होलान् । तर, इमानदार तरिकाले काम गरिरहेका लघुवित्तलाई पनि यस्ता कार्यले आँच पुर्याएको छ । हामीले ग्रामीण महिलाको हितमा नै काम गरेका छौँ,” उनले भने, “हामीले कर्जा दिने मात्र हैन, तालिम पनि दिने गरेका छौँ । बजारको बारेमा पनि जानकारी दिने गरेका छौँ ।”
त्यस्तो आन्दोलनको अभियानमा स्वार्थ समूह हाबी हुने जोखिम बढेको सरोकारवालाको भनाइ छ ।
लघुवित्तको अवधारणा नै नबुझ्दा समस्या उत्पन्न भएको त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागका उपप्रध्यापक डा. भरतसिंह थापा बताउँछन् । “लघुवित्त चाहिन्छ । तर, अहिलेको जस्तो लघुवित्त हैन । लघुवित्तकै अवधारण नबुझ्नु, नाफाको व्यापार गर्ने मात्र लघुवित्त हुँदैनन्,” उनले भने, “कतिपय लघुवित्तले राम्रै काम गरेका छन् । तर, नाफामुखी हुँदा कर्मचारीले पनि त्यहीअनुसार काम गरेको पाइएको छ । लघुवित्तले उद्देश्यानुसारको काम गरेका छैनन् ।”
राष्ट्र बैंकले कडाइ र नियमन नगर्दा लघुवित्तले उद्देश्यानुसार काम नगरेको कतिपय सरोकारवालाको बुझाइ छ । जथाभावी लाभांश बाँड्दा पनि यस्तो समस्या आएको भन्दै राष्ट्र बैंकले हालै लघुवित्तलाई लाभांशमा कडाइ गरेको छ ।