site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

सत्ताको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय सोमवार गरेको छ । राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका उमेदवारलाई समर्थन गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेबाट मन्त्री भएकाहरूले राजीनामा गर्ने निर्णय गरिएकाे हो । 

प्रधानमन्त्रीसँग असहमति भएपछि संसदीय पद्धतिमा मन्त्रिपरिषबाट राजीनामा दिने परम्परा छ । विस‌ं २०७४ को संसदीय निर्वाचनताका भने नेकपा (माओवादी केन्द्र)बाट मन्त्री रहेकाहरूले राजीनामा नगरेर संसदीय अभ्यासकै उपहास गरेका थिए । एमालेले माओवादी केन्द्रको सिको नगरेर संसदीय मर्यादा पालन गरेको देखियो ।

यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने राप्रपाका मन्त्रीहरूले पनि राजीनामा गरेका छन् । दाहाल मन्त्रिपरिषद्बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले केही साता पहिले नै राजीनामा गरिसकेको भए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

राप्रपा र एमालेसँगै रास्वपाले समेत समर्थन फिर्ता लिएकै भए पनि दाहाल मन्त्रिपरिषद् प्रतिनिधि सभामा अल्पमतमा पर्ने थिएन । परन्तु, संवैधानिक प्रावधानअनुसार मन्त्रिपरिषद् गठनमै सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । सम्भवतः नयाँ गठबन्धनमा संलग्न दलहरूको सहभागितामा छिटै नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

अब एमाले स‌सद्को प्रमुख विपक्षका भूमिकामा संसदीय गतिविधिमा सक्रिय हुनेछ । यद्यपि, संसद्मा अङ्कको चमत्कार गर्न सके सत्तामा फर्कन धेरै कठिन भने हुँदैन । नेपाली कांग्रेस र माओवादी केन्द्रबाहेकका दलहरू एकै ठाउँमा उभिए भने पनि सजिलै सरकार गठन हुनसक्छ ।

संसदीय पद्धतिमा सरकार परिवर्तनको खेल चलिरहन्छ । त्यसक्रममा अस्वस्थ र अराजनीतिक क्रयाकलाप नभए कसैले आपत्ति मान्नु पनि पर्दैन । यसैले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णयलाई संसदीय परम्पराको अभ्यासबाहेक अन्यथा अर्थमा लिनु आवश्यक छैन ।
  
नेकपा  (एमाले) विपक्षमा रहँदा बढी नै आक्रामक हुने गरेको छ । लामो समय संसद् अवरुद्ध गर्नमा त एमालेले ‘कीतर्तिमान’ नै कायम गरेको हुनुपर्छ । एमालेले त्यसरी संसद् चल्न नदिँदा राज्यको ठूलो नोक्सानी भएको छ भने एमालेलाई पनि खासै लाभ भएको देखिँदैन । कतिपय घटनामा त एमाले लाजमर्दो स्थितिमा पुगेको पनि छ ।

यसैले सरकार र विशेषगरी प्रधानमन्त्री दाहालले एमाले र उसका सहयोगी दलहरूसँग न्यूनतम समझदारी कायम राख्नुपर्छ । विपक्षलाई बिझाउने व्यवहार गर्नु अराजनीतिक हुन्छ । एमाले नेताहरूले पनि संयम गुमाउने काम नगरून् । तीस वर्षभन्दा बढी संसदीय लोकतन्त्रको अभ्यास गर्दा पनि संसद्भित्र ‘गैरजिम्मेवार’ प्रवृत्ति प्रदर्शन गरेको जनताले पक्कै रुचाउने छैनन् ।         

  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro