
काठमाडौं । पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव निकै बढ्यो । दुवै देशले एकार्काविरुद्ध आक्रमण गरे । शनिबार (मे १०) साँझ भने यी दुवै देश ‘तत्काल र पूर्ण युद्धविराममा सहमत’ भएका घोषणा गरियो ।
- युद्धविराम घोषणापछि भारतीय सेनाले भन्यो– सतर्क रहनेछौँ
- भारतले गर्यो पाकिस्तानसित युद्धविराममा सहमति पुष्टि
- पाकिस्तानका विदेशमन्त्रीले भने– दुई देश युद्धविराम गर्न सहमत
- ट्रम्पको घोषणा– भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत
भारतीय विदेश मन्त्रालयले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै पाकिस्तानले ड्रोन, लामो दूरीका हतियार र लडाकु विमान प्रयोग गरेर पश्चिमी मोर्चामा भारतीय सैन्य पूर्वाधारलाई निसानाको प्रयास गरेको जनाएको थियो ।
त्यसक्रममा भारतीय कर्नेल सोफिया कुरैशीले भनिन्, “पाकिस्तानले बिहान १ बजेर ४० बजे उच्च गति (हाई स्पीड मिसाइल)को मिसाइल प्रयोग गरेर पञ्जाबको एयरबेस स्टेसनमा आक्रमण गर्ने प्रयास गर्यो ।”
पाकिस्तानले भने मे ६ र ७ को मध्यरातमा भारतले गरेको आक्रमणको बदला लिएको जनाएको छ ।
भारतीय सेनाले पत्रकार सम्मेलनमा पाकिस्तानबाट आफ्नो देशतर्फ कुन मिसाइल प्रहार गरिएको थियो भन्ने कुरा खुलाएन ।
मिसाइललाई प्रकार, प्रक्षेपण मोड, रेन्ज, वारहेड र मार्गदर्शन प्रणाली (गाइडेन्स सिस्टम)का आधारमा वर्गीकरण गरिन्छ । यसमा क्रुज र ब्यालिस्टिक मिसाइल गरी मुख्यतः दुई क्याटेगोरी हुन्छन् ।
विज्ञ के भन्छन् ?
क्रुज मिसाइलको श्रेणीमा पर्नेको गति पाँच म्याक (ध्वनिको गतिभन्दा पाँच गुणा)भन्दा बढी हुँदैन ।
रक्षाविज्ञ कर्नल अजय सिंह भन्छन्, “सबै ब्यालिस्टिक क्षेप्यास्त्रलाई उच्च गतिको क्षेप्यास्त्र भनिन्छ, किनभने तिनीहरूको गति ध्वनिको गतिभन्दा बढी हुन्छ ।”
उनले अगाडि भने, “पाकिस्तानका तर्फबाट कुन क्षेप्यास्त्र प्रहार गरियो भन्ने बारेमा हामीलाई कुनै जानकारी छैन, तर यो जुनसुकै क्षेप्यास्त्र होस्, त्यो ब्यालिस्टिक क्षेप्यास्त्र र उच्च गतिको क्षेप्यास्त्र हुनेछ ।”
उनका अनुसार, विभिन्न प्रकारका मिसाइल हुन्छन् । उनले भने, “हाइपरसोनिक मिसाइल ध्वनिको गतिभन्दा १० गुणा बढी छिटो हुन्छन् । ब्यालिस्टिक मिसाइल पनि ध्वनिको गतिभन्दा धेरै छिटो हुन्छन् ।”
उनले अगाडि भने, “जब तपाईं उच्च गतिको क्षेप्यास्त्रका बारेमा कुरा गर्दै हुनुहुन्छ, तपाईं कम्तीमा ब्यालिस्टिक क्षेप्यास्त्रका बारेमा कुरा गर्दै हुनुहुन्छ ।”
कर्नल सिंह भन्छन् कि पाकिस्तानसँग भएका सबै मिसाइल ब्यालिस्टिक क्षेप्यास्त्र हुन् ।
उनका अनुसार, भारतसँग पाकिस्तानको तुलनामा धेरै ठूलो रेन्जको क्षेप्यास्त्र छ ।
रक्षाविज्ञ राहुल बेदी भन्छन्, “पाकिस्तानसँग भएको हाइपरसोनिक क्षेप्यास्त्रको नाम फतेह–२ हो । यसको रेन्ज ४०० किलोमिटरसम्म छ । पाकिस्तानसँग लामो दूरीसम्म प्रहार गर्न सक्ने अरू पनि मिसाइल छन् ।”
उनले अगाडि भने, “पाकिस्तानसँग अब्दाली मिसाइल छ । यसको रेन्ज २०० देखि ३०० किलोमिटर छ । ऊसँग गजनवी मिसाइल पनि छ । त्यसको रेन्ज ३०० देखि ३५० किलोमिटर छ ।”
भारतसँग कुन उच्च गतिका क्षेप्यास्त्र छन् ? यो प्रश्नको जवाफमा बेदी भन्छन्, “भारतसँग लामो दूरीका क्षेप्यास्त्र छन् । भारतसँग पृथ्वी र अग्नि क्षेप्यास्त्र छन् । भारतसँग क्षेप्यास्त्रको ठूलो शृंखला छ ।”
क्रुज मिसाइलका विशेषता
क्रुज मिसाइल हवाईजहाजजस्तै उड्ने क्षेप्यास्त्र हुन् । यसको मद्दतले लामो दूरीमा सटीक निसाना बनाएर दुस्मनको ठेगाना नष्ट गर्न सकिन्छ ।
शत्रुको राडारबाट बच्न यी मिसाइल कम उचाइमा उड्छन् र आधुनिक नेभिगेसन प्रणालीले सुसज्जित हुन्छन् ।
क्रुज मिसाइल जमिन, वायु, जल र पनडुब्बीबाट ‘लन्च’ गर्न सकिन्छ । यो मिसाइलले एक हजार किलोमिटरभन्दा बढी दूरीसम्म प्रहार गर्न सक्छ ।
भारतसँग ब्रह्मोस र निर्भयजस्ता क्रुज मिसाइल छन् । गतिका हिसाबले क्रुज मिसाइललाई तीन क्याटेगोरीमा विभाजन गरिएको छ – सबसोनिक, सुपरसोनिक र हाइपरसोनिक ।
सबसोनिक मिसाइलले ध्वनिको भन्दा बढी गति लिन सक्दैन । सुपरसोनिक मिसाइलले ध्वनिको भन्दा दुईदेखि तीन गुणासम्म मात्र गति लिन सक्छ । हाइपरसोनिक मिसाइल भने ध्वनिको भन्दा पाँच गुणा छिटो गतिमा आफ्नो लक्ष्यतिर अघि बढ्छ ।
रक्षाविज्ञ एयर कमोडोर डा. अश्मिंदर सिंह बहल (सेवानिवृत्त)का अनुसार, हाइपरसोनिक मिसाइल पहिले आकाशमा लगभग १०० किलोमिटर माथि जान्छ, यसको अर्थ यसले पहिले पृथ्वीको वायुमण्डल पार गर्छ ।
“पृथ्वीको वायुमण्डलबाट अन्तरिक्षमा प्रवेश गरेपछि हाइपरसोनिक मिसाइल क्रुज चरणमा रहन्छ, त्यसपछि यो पृथ्वीमा आफ्नो लक्ष्यतिर बढ्छ,” उनले भने ।
रक्षाविज्ञ बेदीका अनुसार, हाइपरसोनिक मिसाइलमा परम्परागत र आणविक दुवै हतियार जडान गर्न सकिन्छ ।
सन् २०२४ नोभेम्बरमा नै भारतले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको थियो । यो हाइपरसोनिक मिसाइलको रेन्ज १५ सय किलोमिटरभन्दा बढी छ । र, यो मिसाइल हावा, पानी र जमिन तीनै ठाउँबाट प्रहार गर्न सकिन्छ ।
भारतीय रक्षा विज्ञका अनुसार, पाकिस्तानसँग हाल हाइपरसोनिक मिसाइल छैन । बीबीसी हिन्दीबाट ।