गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनका लागि देशका दुई प्रमुख पार्टीका नेताहरूले उमेदवारी दिएका छन् । दुवै जना नेपालको राजनीतिमा चिरपरिचित व्यक्तित्व हुन् । दुवैले प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी पूरा गरिसकेका छन् ।
दलगत राजनीतिभन्दा माथि उठेर राष्ट्रपतिको उमेदवार बनाइए हुन्थ्यो भन्ने जनआकांक्षा त पूरा भएन तर दुवै उमेदवार अपेक्षाकृत कम विवादास्पद देखिन्छन् । यसैले भावी राष्ट्रपतिमा जो विजयी भए पनि राष्ट्रपति पदको गरिमा अहिलेभन्दा उच्च हुने अपेक्षा गर्न सकिन्छ ।
परन्तु, उमेदवारका पक्षविपक्षमा हुने प्रचारमा संलग्न हुनेहरूले भने उदण्डता र मर्यादाहीनता प्रदर्शन गर्ने हुन् कि भन्ने सन्देह पनि सँगै उब्जेको छ । नेपालका राजनीतिक दलका अहिलेका नेताहरू संयम र शिष्टताभन्दा आक्रामक उदण्डता जो रुचाउँछन् ।
दलगत मतभार हेर्दा त खासै चर्को प्रतिस्पर्धा नहुने लक्षण देखिएको छ । तैपनि अप्रत्यक्ष निर्वाचनमा मतदातालाई प्रभावित गर्न गलत उपायहरू अपनाइन पनि सक्छ । कारण, विगतमा राजनीतिक दलका नेताहरूले जसरी पनि चुनाव जित्नै पर्ने मानसिकता प्रदर्शन गर्दै आएका छन् ।
दल वा मोर्चा विशेषको उमेदवारको जित र हारभन्दा पनि अहिले खस्केको राष्ट्रपति पदको गरिमा उच्च बनाउन गणतन्त्रका पक्षधरहरूको ध्यान जानु जरुरी देखिन्छ । उमेदवारहरूको चरित्र हत्या वा उनीहरूका पक्षविपक्षमा अतिरञ्जित प्रचारवाजी भयो भने जनतामा भावी राष्ट्रपतिप्रति अहिले नै वितृष्णा उब्जनेछ ।
आठ दलीय गठबन्धनका उमेदवार संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का उमेदवार सुवासचन्द्र नेम्वाङ दुवैको गणतन्त्रप्रतिको प्रतिबद्धतामा सन्देह छैन । यसैले समर्थकहरूले पनि तिनको छवि बिगार्ने काम नगरून् !
आसन्न राष्ट्रपति निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासमा अर्को कोसेढुंगा बन्न सक्नुपर्छ । यसका लागि उमेदवारहरूका साथै तिनका समर्थकले पनि अराजनीतिक तथा अलोकतान्त्रिक अभ्यास गर्नु हुँदैन । आशा गरौँ, नेपालका राजनीतिक नेताहरूले गणतन्त्र सुहाउँदो परिपक्वता र सुझबुझ देखाउनेछन् ।