site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुखमा थुक्थे, अहिले लुक्छन् : शारदा रेग्मी विश्वकर्मा

काठमाडौं ।  महेन्द्र राजमार्गमा पर्ने बाँकेको कोहलपुरबाट करिब १०–१२ किलोमिटर पश्चिम जाँदा दाहिनेतर्फ एउटा सेतो बोर्डमा नेपाल सरकारको चिन्ह सहितको साइनबोर्ड देखिन्छ, जसमा लेखिएको छ, ‘वैजनाथ गाउँपालिका कार्यालय ।’ अनि तल धर्काले ‘दायाँतिर’ भनेर देखाइएको छ । गाउँपालिकाको भवन नयाँ र सुन्दर छ । भवन रहेको प्रांगण भने अझै सफा र दुरुस्त भएको छैन, जसले नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी बोध गराइरहेझैं देखिन्छ । भवनभित्र एउटै कोठामा नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको दुइटा टेबल छन् । अध्यक्ष मानबहादुर रुचाल ठकुरीको सँगै रहेको उपाध्यक्षको टेबलमा रहेको नामले सहजै ध्यानाकर्षण गर्छ, ‘शारदा रेग्मी विश्वकर्मा– उपाध्यक्ष ।’

एकैछिनमा एक अधवैंशे, अनुहारले नै ब्राम्हण देखिने गोरी, हँसिली र अलि मोटो शरीरकी महिला आएर उपाध्यक्षको कुर्सीमा बसिन् । चिनजानपछि कुरा सुरु भयो । समाज जति परिवर्तन भए पनि ब्राम्हण तथा दलित भनिने जातिका बीचको वैवाहिक सम्बन्धलाई समाजले अझै मान्यता दिएको छैन । त्यसैले अनायास वार्ताले उनको उदाहरणीय ‘रेग्मी विश्वकर्मा’ थरतिरै बाटो लियो । 

कुरो २०४० सालतिरको रहेछ । पाल्पाबाट एक रेग्मी परिवार बर्दियाको बाँसगढी नजिकको एउटा गाउँमा बसाइँ सरेछन् । ती रेग्मीलाई जुन जग्गा मन पर्यो, सो जग्गा २०२८ सालतिरै जाजरकोटबाट तराई झरेका विश्वकर्मा थरका व्यक्तिको रहेछ । जग्गा किनबेचपछि छिमेकी बनेका विश्वकर्मा र रेग्मीका छोरा र छोरीबीच पनि चाँडै नै ‘मुटु लेनदेन’ भएछ । प्रेमिल हृदय आफूलाई प्रेम गर्नेको मुटुमा बास बसेपछि कुनै हालतमा बास फेर्दैन भनेझैं नन्द र शारदा पनि छुट्टिन नसक्नेगरी बाँधिएछन् । तर समाजले सहजै मान्ने कुरा भएन । उनीहरूले यो कुरा थाहा पाएका थिए । बरु समाजको साथ छाड्ने तर आफ्ना बाँधिएका हात नछाड्ने मनसाय भएको यो जोडी भारततिर पलायन भएछ । 

छोरीको बिहेलाई सहज रुपमा लिन शारदाको परिवारलाई निकै गाह्रो परेछ । रेग्मी परिवारले थातथलो सबै बेचबिखन गरेर कोहलपुरतिर बास सारेछन् । तीन महिनापछि नन्द र शारदा बर्दिया घर फर्के, घरको सहारा पाउने आशामा । तर नन्दका परिवार पनि अन्तर्जातिय बिहेबाट हुनसक्ने सम्भावित समस्याको भार उठाउने मनस्थितिमा देखिएन । नवविवाहित जोडीको समस्या जस्ताको तस्तै रह्यो । त्रसित, भयभित, भविष्यको अन्योल र समाजको सम्भावित हिंसाबाट प्रताडित जोडीले बास पाएनन् । 

नन्दकी बहिनी र नाताले शारदाकी नन्दको बिहे भएको गाउँ रहेछ बैजनाथ गाउँपालिका । नन्द र शारदाले त्यतै बसेर दुखजिलो गर्ने मनसाय गरे, नातेदारले सहयोगको हात बढाए । तर शून्यबाटको यात्रा सजिलो रहेन । शारदा र नन्द हरेक प्रकारको काम गरेर ज्यान पाल्ने अभियानमा संघर्ष गर्दै रहे । शारदाले हरेक प्रकारको मजदुरी र ज्यालादारी गरिन् । नन्द आफ्नो प्रकारले परिवारको जिम्मेवारी वहन गर्दै रहे । एकबाट दुई हुन पो गाह्रो, दुईबाट चार हुन समय लागेन । शारदा दुई छोराकी आमा पनि भइन् । घर चलाउन झनै गाह्रो हुँदैगयो ।

“दुःख, पीडा र अरुले गरेको अपमान सहन नसकेर म एकदिन दुइटा काखे बालक च्यापेर मर्छु भनेर हिँडें । पुलबाट दुइटै छोरासहित हाम्फाल्छु र यो दुःखी संसारबाट बिदा लिन्छु भन्ने मनसाय थियो,” सितिमिति कसैलाई नकहने मनभरिको बह उनले कहिन् । तर पुलमा पुगेपछि उनलाई कता–कता चेत आयो । “यी छोरा मेरा संघर्षका प्रतीक हुन् । यीनको जीवन समाप्त गरेको खण्डमा मैले गरेको संघर्ष र दुःखको कुनै अर्थ हुँदैन भन्ने लाग्यो, अनि सरक्क घर फर्कें ।”
घर फर्कंदैमा दुःखका दिन सकिनेवाला थिएनन् । 

“धेरै दुःख गरियो, भनेर साध्य छैन,” सम्झिन नचाही नचाही उनले आफ्ना दुःख सम्झिन् । एकपल्ट सुनसरीमा एउटा काम पाएर गइन् । जात ढाँटेर डेरामा बसेकी उनलाई सधैं आफ्नो जातको पोल खुल्ला भन्ने डर रह्यो । त्यसबेला बाढी पीडितलाई काउन्सिलिङ गर्न गएकी शारदा धेरै दिन त्यसरी आफैंलाई लुकाएर बस्न सकिनन् । एउटा दलित थरकी व्यक्तिलाई घरबेटीले गरेको व्यवहार देखेर उनको मन काँप्यो, फर्केर आइन् । 

तर, गाउँमा न त समृद्धि थियो न सुरक्षा । उनको माइतीका नातेदार धेरै टाढा थिएनन् । “कसैले बाटोमा भेट्दा मुखमै थुक्थे । मुखको थुक पुछेर आफूलाई बलियो बनाउनु पथ्र्यो,” थुकले दिएको चोट आलो भएझैं भयो उनलाई यो बताउँदा । तर अहिले उनीसँग तिनै नातेदार मुख लुकाएर हिँड्छन् ।

अहिले उनी बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष छिन् । दुवै छोराको बिहे भयो, चारजना नाति पनाति पनि छन् । छोरालाई भने उनले गैरजातिय बिहे गर्न प्रोत्साहन गरिनन् । दुवैले जातमै बिहे गरे । 

हालै निर्वाचित भएकी शारदाले दलित र पिछडिएका वर्गमा बसेर धेरै काम गरिन् । आफूले रोजेको पार्टी नेकपा एमालेको धेरै कमिटिमा बसेर पनि सक्रिय रहिन् । उनले पार्टीमा र जातिय मुक्तिका लागि गरेको कामको नालीबेली लगायो भने अर्को लामो कथा हुन्छ । तर जातिय आन्दोलनका क्रममा नौ वर्ष वैकल्पिक संसद चलाएको र त्यसबाट माग गरिएका कतिपय विषय अहिलेको संविधानमा समाहित भएको कुरा सुनाउँदा भने उनी प्रफुल्लित हुन्छिन् । 

संसार परिवर्तन भयो, जात–पातको भेदभाव धेरै कम भयो तर उनको पिताजीको जातिय भ्रम अझै फिक्का भएको छैन । “उपाध्यक्षमा विजयी भएपछि मेरा कर्मपिता तेज बहादुर खड्काले बुबालाई भेट्न जाने सल्लाह दिनुभयो । भेट पनि भयो तर आत्मियता भएन,” सुन्नेको पनि मन भरिएर आउने दुःख बिसाइन् शारदाले । त्यतिमात्र होइन, करिब १२ किलोमिटर पर बसेका बुबाले हालैको तीजमा ३–४ सय महिला नातेदारलाई बोलाएर दर खुवाए तर उनको नामको निमन्त्रणा आएन । बुबाले जस्तो गरेपनि आमा र दाइसँगको सम्बन्ध सुध्रेको छ, उनले त्यसमै चित्त बुझाएकी छिन् । आफूलाई सहारा दिने तेज बहादुर खड्का, नर बहादुर सुनार, ध्वजवीर लोहार, कुन्ती खड्का, शान्ता बस्नेत, रत्ना बस्नेत आदि नै उनका नजिकका नातेदार अनि बैजनाथका बासिन्दा सबै उनको परिवार बनेको छ ।

“मैले दुई थरीको दुव्र्यवहार भोगेकी छु, एउटा दलित हुँदाको र अर्को दलितसँग सम्बन्ध गाँस्ने ठूलो भनिने जातको चेली हुँदाको । मलाई दलित अधिकारको लागि लड्न यो भन्दा ठूलो बल अरु केही चाहिएन । अधिकारको मेरो लडाइँ अझ अघि बढ्छ,” शारदा रेग्मी बिकले कमरेडी जोसका साथ कुराको बिट मारिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro