काठमाडौं । काठमाडौंमा घर, अष्ट्रेलियामा छोराबुहारी अर्थात् सुविधासम्पन्न जिन्दगी । सुविधाभोग गर्न पाउनु एउटा कुरा, खुसी अर्कै कुरा । पैसा र सुविधाले सधैँ खुसी कहाँ मिल्छ र ? मिल्दैन । नन्दा पन्त धादिङबाट विवाह गरेर गोरखा पुगिन् । उमेरले ६७ वर्ष लागिन् । गोरखाबाट जिन्दगीले डोर्र्याएर काठमाडौं ल्याइपुर्र्यायो । उनी काठमाडौं आइपुग्दा छोराछोरी अष्ट्रेलिया पुगे । वक्ररेखाको जिन्दगी यसैगरी घुमिरह्यो । को कहिले कता कहिले कता भई नै रह्यो । घरपरिवार र जिम्मेवारी निर्वाह गर्नैपर्र्यो । गरिन् । उनको भित्री चाह के थियो, कसलाई के थाहा ।
कोरोनाले सिर्जना गरेको लकडाउनको समय थियो । गायक तथा संगीतकार भूपू पाण्डे काठमाडौंमा थिए । निस्कन पाउँदा फुत्त रानीवन पुग्थे । जहाँ छायांकार योगेश दाहाल बस्थे । योगेश बस्दा रहेछन्, नन्दा पन्तको घरमा । नन्दाका छोराबुहारी र छोरीज्वाइँ दुई दशकदेखि अष्ट्रेलियामा छन् । नन्दा र उनका श्रीमान् काठमाडौंमा ।
नन्दाको स्वभाव नै मिजासिलो । घरमा बस्नेसँग मजाले बोल्थिन् । राम्रो व्यवहार गर्थिन् । जब नन्दाले भूपू गायक तथा संगीतकार हुन् भन्ने थाहा पाइन्, उनले भन्न थालिन्– मलाई पनि गीत गाउन देऊ न बाबु ।
“सुरुसुरुमा त उहाँले यतिकै जिस्काएर भन्नुभ’को होला भन्ने लाग्थ्यो,” भूपू भन्छन्, “तर, उहाँले हरेक भेटमा एउटै त्यही कुरा दोहोर्र्याउन थाल्नुभयो । म जतिपटक योगेशकोमा पुग्थेँ, त्यतिपटक एउटै कुरा त्यही दोहोर्र्याउन थाल्नुभयो ।”
गाउन मात्र होइन, नन्दाले दोहोर्र्याउने अर्को कुरा पनि थियो– मलाई इन्द्रेणीमा लगिदेऊ न बाबु ।
जब नन्दाले यो कुरा पटकपटक दोहोर्र्याउन थालिन्, भूपूलाई लाग्यो– उनमा गीत गाउने उत्कट चाहना छ, त्यसलाई यो उमेरसम्म दबाएर राखेकी मात्र हुन् ।
उनी लोक तथा दोहोरीगीत गुनगुनाइरहन्थिन् । यसले पनि भूपूलाई लाग्यो– उनको यो गाउने कला कसरी पूरा गर्न सकिएला ?
तर, समस्या थियो । भूपू परे क्लासिकल म्युजिकका विद्यार्थी र प्रयोगकर्ता, नन्दाको दिलचस्पी लोक तथा दोहोरीमा । भूपू क्लासिकल म्युजिकमा त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स गरिसकेका म्युजिसियन । उनी आफैँले गाएको गीत हो, ‘छोटो छ जिन्दगी फोटो खिचेर राख...।’
शिव परियार, प्रमोद खरेल, मेलिना राई, अस्मिता अधिकारी, रचना रिमाल जसले अहिले नेपाली सुगम संगीतलाई ‘लिड’ गरिरहेका छन्, उनीहरूका लागि भूपूले गीत कम्पोज गरिसकेका छन् । अझै थुप्रै गीत उनको आफ्नै र अग्रज तथा चल्तीका कलाकारका स्वरमा आउने तयारीमा छन् ।
लोकगीतमा नन्दाको झुकाव र त्यसप्रतिको भोक देखेर उनलाई लाग्यो– यी आमाको इच्छा पूरा गर्न सकिनँ भने त मलाई पापै लाग्छ । आजसम्म जाहेर नभएको इच्छा सायद पूरा होला कि भनेरै त मुख खोलेकी होलिन् ।
एक दिन भूपूले नन्दालाई भने– आमा, तपाईं कस्ता गीत गाउनुहुन्छ ? सुनाउनुस् त ।
नन्दाले गीत सुनाउन थालिन् । धेरैजसो उनले उनकै पालाका पुराना गीत सुनाइन्, त्यो रेकर्ड गराउने कुरा भएन ।
भूपूले नन्दालाई भने, ‘आमा, तपाईं मलाई त्यस्तो गीत सुनाउनुस्, जुन हाम्रो हजुरआमाहरूले गाउनुहुन्थ्यो । तर, ती कतै रेकर्ड भएनन् । तपाईंहरूले गाउँपाखामा गाउने अहिलेको पुस्ताले नसुनेको भाका सुनाउनुस न ।’
नन्दाले सुनाइन् ठाडो भाका । त्यो लामो हुने भएकाले सुन्ने धैर्य पनि चाहिन्छ । टिकटकको जमानामा लामो गीत ? अहिलेको समयमा ‘रिस्क’ मोल्न गाह्रो छ । सात गीत सुनाउने क्रममा नन्दाले गाइन् यो झ्याउरे भाका–
सालको पात टिपेर पानी खाऊँ
यो नानीको कहाँ छ र जाने ठाउँ
आकाशमा जूनको भाइ तारालाई
नबोलाऊ न मै कर्महारालाई
करिमले छेउ लाएपछि त
हितको साथी बोल्दैन मसित
पानी खाँदा सुपारी खस्यो
जान्नँ घर माइतैमा दिल बस्यो
जे गरे नि पाइनँ नि जस
जाने मान्छे गइहाल नबस
काटे खरु पलाउला बरु
तै नि मन पलाइन के गरूँ
यो मनमा जतिको भा’होला
दिनमा लाग्ने सूर्जेलाई थाहा होला
जाँदाजाँदै बन्दीपुर पुग्यो
रुँदारुँदै कलिलो जिउ सुक्यो
यसमा भूपूले उदासी र वैरागी शब्द भेटे । गण्डकी प्रदेशतिर मेलापात र उकालीओराली गर्दा गाउने झ्याउरे लय र यसका शब्दले भूपूको मन छोयो ।
यसमा एक्सपेरिमेन्ट पनि गर्न सक्छु भन्ने भूपूलाई लाग्यो । आठ महिना अगाडि फर्किए भूपू, “आमालाई यो गीत तपाईंको स्वरमा रेकर्ड गर्छु भनेँ । उहाँ दंग पर्नुभयो । तर, मैले उहाँलाई गीत रेकर्ड गराउँछु भनेको पनि ६ महिना बितिसकेको थियो । रेकर्ड गराएको थिइनँ ।”
एक दिन नन्दाले भनिन्, ‘मलाई छोराबुहारी र छोरीज्वाईंले बोलाएका छन्, एक÷डेढ महिनामा अष्ट्रेलिया जान्छु है । बुवा त गइ पनि सक्नुभयो । कहिले रेकर्ड गर्ने हो ?’
भूपूले वचन दिइसकेका थिए । आफैँलाई पनि मन नपरेको गीत र भाका होइन । त्यसैले भूपू नन्दालाई लिएर अनामनगरस्थित वेभ स्टुडियोमा पुगे । रहर त थियो, तर नन्दासँग अनुभव थिएन । नन्दाले स्टुडियोको माइकमा
भूपूले नन्दालाई भने, ‘आमा, तपाईंलाई यहाँ अफ्ठेरो भयो । अब अरू केही विकल्प सोच्नुपर्ला ।’
“मैले यसो भन्दा उहाँ– म सकिहाल्छु नि बाबु, कहाँ नसक्नु, म जसरी पनि गाउँछु भनिरहनुभएको थियो । उहाँमा रहेको त्यो आत्मविश्वास देखेर म स्वयं छक्क परेको थिएँ,” भूपू भन्छन्, “गीतप्रतिको उहाँको त्यो लगाव देखेर म साँच्चै नतमस्तक भएको क्षण थियो त्यो ।”
त्यसपछि भूपू पुगे रेकर्डर बोकेर रानीवन, जहाँ नन्द उनकै प्रतीक्षामा थिइन् । दिनभर लगाएर रेकर्डरमा नन्दाको स्वरमा गीत रेकर्ड गरे । योगेशसँग भिडियो एडिट गर्ने कम्प्युटर सेटअप थियो । भूपू आफैँले त्यहीँ मिक्सिङ गरे ।
“मलाई र (ठेट) भ्वाइस चाहिएको थियो । त्यसैले आमाको स्वर जस्तो छ, त्यसमा रेकर्ड गर्दादेखि एडिटिङ, मिक्सिङमा चलाइनँ । जस्तो हो त्यस्तै छोड्दिएँ,” उनले सम्झिए, “गीत राम्रो छ । भाका र शब्द दुवैले स्रोता÷दर्शकको ध्यान खिच्न सक्छ । बिमाकुमारी दूरा, लक्ष्मी न्यौपाने वा यस्तै अग्रज गायिकाको स्वरमा रेकर्ड गराऊ भनेर धेरैले सुझाएका थिए । तर, मैले आमाको र भ्वाइस नै रोजेँ । आमालाई नै अगाडि सार्नु थियो ।”
नन्दाले फेरि सम्झाइन्, ‘बाबु, म अष्ट्रेलिया जान अब १५ दिन मात्रै बाँकी छ है ।’ उनले आशय थियो– भिडियो नखिच्ने ? ढिलो हुन लागिसक्यो ।
भिडियो बनाउनु नै थियो । कारण, गीत युट्युबमा रिलिज गर्नु थियो । भूपू आफैँले लगानी गरिरहेका थिए । त्यसैले जतिसक्दो किफायती बजेटमा गीतको भिडियो बनाउनु थियो । त्यसपछि उनले बोलाए नन्दासँगै कोरसमा गाउने रमेश कडरिया, श्याम ढकाल, नरेन्द्र वियोगी, भुवन खत्री, तिलस्मी खड्का र लक्ष्मी कार्कीलाई । एकै दिनमा भिडियो छायांकन सकियो ।
“स्टुडियोमा गीत रेकर्ड गर्दा आमालाई जति असहज भएको थियो, त्यसको ठिकविपरीत भिडियो छायांकनमा उहाँले सहजै रमाइलो गर्दै नाच्दै छायांकन गर्नुभयो,” भूपू भन्छन्, “सायद उहाँले थाहा पाउँदादेखिको रहर पूरा भएकाले पनि होला, उहाँ यति धेरै खुसी हुनुभयो । उहाँको अनुहारमा देखिएको खुसीले मलाई साँच्चै भावुक बनाएको थियो ।”
नन्दालाई रहर पूरा गर्नु थियो । भूपूलाई ठेट नेपाली स्वर चाहिएको थियो । त्यसैले गीतको गहिराइमा त उनी पुगे, तर नतिजा यो आउँछ भन्ने भूपूले सोचेका थिएनन् । मात्र उनलाई लोभ थियो, मेरो च्यानलमा विविधता हुने भयो । त्यसमै उनी सन्तुष्ट थिए । भूपूले यहाँ कुरा गरेको गीत हो, ‘लैले बरै...।’ यो अहिले टिकटक प्रयोेगकर्तामाझ रोजाइमा छ ।
युट्युबमा ‘लैले बरै...’ ले अहिले पनि त्यति धेरै भ्युज पाएको छैन । टिकटकमा भने यसले लोभलाग्दो स्थान पाएको छ । नन्दा आफैँ टिकटक प्रयोगकर्ता हुन् । घरमा गफिने खासै कोही हुन्थेन । त्यसैले अक्सर उनको समय टिकटमै बित्थ्यो ।
“सायद घरमा गफ गर्ने र समय व्यतीत गर्ने अरू विकल्प धेरै नभएर पनि होला, आमा टिकटक एडिकजस्तै हुनुहुन्थ्यो । पहिला अरूका टिकटक हेर्नुहुन्थ्यो, अहिले आफ्नै गीतमा अरूले बनाएका टिकटक,” भूपू भन्छन्, “उहाँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ, कुरा भने भइरहन्छ । उहाँले मलाई भन्दै हुनुहुन्थ्यो– बाबु, पहिला अरूका टिकटक हेर्थेँ, अहिले त मेरै गीतमा बनेका टिकटक हेरिरहेको छु ।”
नन्दा मात्र होइन, उनका श्रीमान्सँग पनि भूपूको भिडियो कलमा गफ हुन्छ । “मैले त रेकर्ड गरेर फेसबुकतिर हाल्ने भिडियो बनाउने होला भन्ने सोचेको थिएँ, यस्तो त कहाँ सोचेको थिएँ भनेर अष्ट्रेलियाबाट उहाँको श्रीमान्ले पनि कल गर्नुहुन्छ,” भूपू सुनाउँछन् ।
त्यसो त भूपूले भोलि लफडा होला भनेर सुरुमै नन्दाका छोरीसँग अनुमति मागेका थिए । नन्दाका छोरीले भनेको भूपू सम्झिछन्, “हामीले त आमाको चाहना गीत गाउने छ भनेर आजसम्म थाहा पाएका थिएनौँ । गीत रेकर्ड गराउँदा उहाँ खुसी हुनुहुन्छ भने ठिक छ, हाम्रो आपत्ति छैन । आमाको खुसी नै हाम्रो खुसी हो ।”
आज (बुधबार) बिहान मात्र पनि अष्ट्रेलियाबाट नन्दाकी छोरीले फोन गरेकी थिइन् भूपूलाई । उनको पनि प्रतिक्रिया उस्तै थियो, ‘हामीले आफ्नै आमाको चाह आजसम्म बुझ्न सकेनछौँ । बाबुलाई धन्यवाद !’
नन्दाको परिवारले उनको इच्छा ६७ वर्षसम्म पहिचान गर्न सकेन, भूपूले आफ्नो बाटो आजसम्म । भूपूले क्लासिकल संगीतमा स्नातकोत्तर गरे । उनलाई आज लाग्दै छ– म सुगमसंगीत होइन, लोकसंगीतको बाटोमा पो हिँड्नुपर्ने रहेछ ।
दाङ पुग्दा आमाले त उनलाई बारम्बार भनिरहन्थिन्, ‘बाबु, तैले गरेको काम मलाई त्यति धेरै मन परेको छैन ।’ बुवाको समर्थन आमालाई थियो । भूपूले भने क्लासिकल म्युजिकमा आफू हिँड्ने ट्रयाक अनवरत खोलिरहे, ०६२ देखि आजसम्म । कहिले संगीतका धुनहरूमार्फत, कहिले स्वरको आरोह–अवरोहमा गला घुमाएर ।
आमा भन्थिन्, ‘बाबु, हाम्रो गीत भनेको त लोकगीत हो नि । प्रकाश सपूत, पशुपति शर्मा, राजु परियारका जस्ता गीत गाऊ न ।
“अहिले मलाई म कतै गलत बाटोमा त हिँडिरहेको छैन भन्ने महसुस भइरहेको छ । आमाले भनेको ठिकै त हो भन्ने अनुभूत भइरहेको छ,” भूपू आफू हिँडेको बाटोको कथा सुनाउँदै अगाडि थप्छन्, “आखिर अहिले पनि हाम्रो कम्मर त पप र आधुनिक गीतको तालभन्दा लोकगीतको भाकामा चाँडो हल्लिन्छ नि !”
‘लैले बरै...’ ले भूपूको संगीतप्रतिको बुझाइमा केही परिवर्तन ल्याइदिएको छ । उनका गोडा अब देशका सुदूरगाउँहरू डुलेर गीत र भाका खोज्ने तयारीमा उचालिएका छन् । आफूले पढे र अभ्यास गरेको विधा त छँदै छ, लोकगीत–संगीतको क्षेत्रमा पनि आफूलाई समर्पित गर्ने उनले निर्णय गरिसकेका छन् ।