काठमाडौं । अरूले के गर्छन्, त्यो शिव (हमाल)लाई थाहा भएन । शिवको आफ्नै शैली छ । करिब १२ सय गीत र त्यति नै संगीत (भाका) संकलन/सिर्जना गरिसकेका शिव पहिला थेगो (बोल) तयार पार्छन् । त्यसपछि पूरै गीतको मेलोडी । मेलोडी तयार गर्नु छ भनेर उनी समय छुट्ट्याएर बस्दैनन् ।
कहाँ कति बेला कसरी मेलोडी तयार हुन्छ त ?
गीतअनुसार भिन्नभिन्न तरिकाबाट मेलोडी आउँछ ।
उनलाई एउटा गीत लेख्नु थियो । के लेखौँ, के लेखौँ भइरहेको थियो । पाल्पाबाट बुटवल जाँदै थिए । एउटा खोलाको दोभानमा पुगे । दोभान त जिन्दगीका उकालीओरालीको भागदौडमा कति पुगे पुगे, तर योपटक जब बोर्डमा दोभान लेखेको देखे, उनलाई त्यो शब्दले लोभ्यायो । एक छिन घोरिए । त्यहीँ सोचे गीतको बोल– खोलीको दोभानो... अनुप्रास मिल्यो । शब्द पनि राम्रो ।
त्यसपछि शिव थिए, शब्दरचनाको खोजीमा । तर, शब्दको ढकन उघ्रिएको थिएन । करिब पाँच महिनापछि अफिसबाट घर फर्कँदै थिए । जानुपर्ने थियो, अनामनगरदेखि थानकोट । शब्दको लहर यसरी आयो, उनकै शब्दमा– अनामनगरदेखि कलंकी नपुग्दै मलाई खरर शब्द आयो । त्यो पनि आफूलाई नै चित्त बुझ्ने ।
‘खोलीको दोभानो’को मुखडा बनाएपछि पाँच महिना लाग्यो उनलाई यसको मेलोडी तयार पार्न । ११ मेलोडी तयार पारे ।
विनोद बाजुरायाली, विक्रम परियारलगायत टिमसँग बसे । उनीहरूलाई सुनाउँदा ११ मध्ये अन्तिम होइन, त्यसमध्येको एउटा छनोट भयो । छनोट भएको मेलोडीलाई थप निखारे ।
शिवले बनाउँदै थिए, सेन्टिमेन्टल गीत । उनलाई लागेको थियो– एउटा गीत विक्रम परियारको स्वरमा रेकर्ड गराउनुपर्छ । उनले सुनाए– यो गीत सुन त । विक्रमले भने– आहा दाइ, कस्तो राम्रो ! साह्रै राम्रो ।
पछि आइपुगिन्, सुनीता अधिकारी । उनले भनिन्, ‘दाइ, मलाई एउटा सेन्टिमेन्टल गीत चाहिएको छ, तपाईंसँग छैन ?’
‘भयंकर हिट हुन्छ भनेर त म भन्दिनँ, तर तपाईंको सांगीतिक करिअरमा जहाँ गए पनि तपाईंसँग जोडिएर आउने गीतचाहिँ छ, गाउनुहुन्छ भने,’ शिव स्मरण गर्छन्, ‘तपाईंको कलाकारितामा नमेटिने गीत मसँग छ । तर, तपाईंले न्याय गर्न सक्नुभयो भने मात्रै गाउन दिन्छु । सक्नु भएन भने मेरो सिर्जना मर्नचाहिँ दिन्नँ ।’
शिवको सर्त सुनीतालाई मञ्जुर भयो । शिवले डमी दिए । हरेक दिन कस्तो हुँदै छ रिहर्सल भनेर उनी सोध्थे । गाइड गर्थे ।
स्टुडियो पुगेर पनि शिवले भनेका थिए, ‘सुनीताजी, राम्रो गाउन सक्नु भएन भने माइन्ड नगर्नु, अर्को कुनै गीतमा काम गर्नुपर्छ । यो गीत अरू कसैलाई गाउन लगाउँछु ।’
तर, शिवले अनुमान गरेभन्दा राम्रो गाइन् सुनीताले । उनले अपेक्षा गरेजस्तै । त्यो पनि एकै टेकमा ।
मालश्री स्टुडियोमा गीत रेकर्ड भइरहेको थियो । सुनीता बुढा क्षेत्री र कस्तुप पन्त त्यहीँ थिए । गीत सुनेर सुनीता बुढा टोलाइरहेकी थिइन् । शिवले सोधे– के भयो बैनी ?
सुनीता : दाइ, म त आज रमाइलो गीत गाउन आ’को । यो गीत सुनेपछि गाउनै नसक्ने भएँ ।
गीत गाउन रेकर्डिङ स्टुडियो आएकी उनी यत्तिकै फर्किइन् । संयोगले भोलिपल्ट पनि सुनीतासँग शिवको भेट भयो । उनले फेरि सुनाइन्, ‘दाइ, तपाईंको गीत सुनेपछि मलाई रात भर निद्रै लागेन । दिमागमा यही गीत मात्रै खेलिरह्यो ।’
स्टुडियोमा रहेका कस्तुपको प्रतिक्रिया थियो– पाँच वर्षपछि पुरानै शिव हमाल फर्किएछ । ‘योबीचमा चल्तीमा डान्सिङ नम्बर मात्रै ल्यायौ, यो गीतमार्फत तिमीले पाँच/सात वर्षअगाडिको शिवलाई फर्काएछौ ।’
पाँच वर्षअघि शिवको सेन्टिमेन्टल गीत ‘आज मुटु दुखेनछ किन...’ लोकप्रिय भएको थियो ।
गीत त राम्रो भयो, तर यसले शिवलाई पीर थपिदिएको छ रे ! “१२ सयभन्दा धेरै मैले गीत गरेँ । त्यसमध्ये आजसम्म मलाई मन परेको गीत हो यो,” शिव अगाडि थप्छन्, “अब यहीस्तरको अथवा यसलाई जित्ने गीत गाउन सक्छु कि सक्दिनँ भन्ने चिन्ता यसको प्रतिक्रियासँगै थपिएको छ ।”
यति प्रिय सिर्जना बन्छ/बन्दैन, त्यो उनलाई थाहा छैन । बन्छ नै भन्नेमा ढुक्क छैनन् । यो गीत किन्न माग्ने थुप्रै थिए । तर, बेच्न उनको मनले मानेन । उनी भन्छन्, “मैले मेरो छोरी बेच्न सक्छु र ? यस्तै हो यो गीत पनि मेरा लागि । न यसको मूल्य छ न यसलाई माया मार्ने ताकत नै । मात्रै यसलाई संगालेर राख्ने ताकत छ ।”
गीत तयार भयो । गीतलाई भिजुअलमार्फत पनि भन्नु थियो । उनको दिमागमा हजुरआमाले सुनाएको कथा थियो । त्यहीअनुसारको स्क्रिन प्ले तयार पारे । र, निर्देशक मौसम हिमालीलाई आफ्नो थिम सुनाए ।
“भिडियो तयार भएपछि मैले रि–प्ले गरेर सातपटक लगातार हेरेँ । सातपटक भिडियो हेर्दा मलाई सास फेरेको महसुस भएन । आठौँपटक हेर्दा मेरा आँखा रसाए । मलाई लाग्यो, मैले सोचेजस्तै भिडियो बनेछ,” शिव भन्छन्, “दृश्यले शब्दमा प्राण भर्ने काम गर्यो । रिलिज भएपछि दर्शकको पनि त्यस्तै प्रतिक्रिया आउन थाल्यो ।” जब प्रतिक्रिया आउन थाल्यो, अनि शिवलाई लाग्यो– मलाई मन परेको सिर्जना अरूलाई पनि मन पर्दो रहेछ ।
चिनेजानेका र साथीसंगतीमा त शिवको छवि सेन्टिमेन्टल गीत बनाएर स्रोता दर्शक रुवाउने भन्ने छँदै छ । कहिले नचिनेका दर्शक/स्रोताले पनि भने, ‘शिव हमालजी, यसरी मुटु भाँच्न पाइँदैन ! जतिपटक सुन्यो, त्यति रुनुपर्छ । मलाई रुवाउन यो गीत किन लेख्नुभयो ?’
“मायामा आक्रोश मिसिएका प्रतिक्रिया आउँदा मलाई मिठो लाग्छ । म आफैँ उद्धेलित हुन्छु,” शिव सुनाउँछन् ।
गीत कसरी रचना हुन्छ र गर्नुपर्छ ? कुनै सर्वमान्य सूत्र छैन । कुनै तरिका छैन । त्यसमा पनि सिर्जना, रचनामा त स्वतन्त्रता हुने नै भयो । शिव फर्किए केही वर्षअगाडि । साथी सन्दीप न्यौपानेले एउटा गीतमा सँगै काम गरौँ भनेका थिए । शिवले हुन्छ भनेका थिए । सन्दीप दाङबाट काठमाडौं आए । फसाद, शिवसँग गीत थिएन । काठमाडौं, उत्तरढोकाको बाँसझ्याङको बाटो भएर उनी हिँडिरहेका थिए । चराहरू चिरबिर चिरबिर गरिरहेका थिए । फर्केर आउँदा ती चराहरू थिएनन् । कहाँ गए होलान् भन्ने लाग्यो । त्यही परिवेशलाई गीतमा उने, ‘कहाँ गयो जुरेली...।’
शिवले सन्दीपलाई थेगो पठाइदिए । भोलिपल्ट सुन्धारामा सँगै खाना खाने सल्लाह थियो । तर, कम्पोज नभएपछि योजना लत्याएर बाजेको सेकुवामा कफी पिएर एक्लै बसिरहेका थिए । सन्दीप सुन्धारामा कुरिरहेका थिए । शिव भने बूढानीलकण्ठ पुगे । म आउँदै छु भनेका उनी मन्दिरछेउको चौतारीमा गीतको खोजीमा छटपटाहटमा थिए । नभन्दै गीत आयो । पूरा भयो ।
११ बजे भेट्ने कार्यक्रम थियो । शिव पुगे ३ बजे । सन्दीप रिसाउने नै भए । शिवले ढिलो यसका लागि भएको हो भन्दै ‘कहाँ गयो जुरेली किन गीत गाउँदैन...’ को कम्पोज सुनाए ।
प्रसंग आयो, ‘लाउँछ माया नलाउने हैन नि...’ को । यसको कथा सुनाए । धेरै गीत मध्यरातमा लेखेका छन् उनले । यो गीतको रचनागर्भ पनि उस्तै रहेछ । मध्येरातमा ब्युँझिए । निद्रा परेन । दिमागमा गीत आयो । गुनगुनाउँदै कोर्दै गए । पूर्णता पाउँदा बन्यो, ‘लाउँछ माया...।’
शिव हमाल चलेको नाम । गीत चाहियो भनेर उनीसँग ठोक्किन आइपुग्ने कति हो कति । कस्तो गीत चाहियो ? सोध्नु त पर्यो । सोध्छन् । उनीहरू आफूलाई चाहिएको गीत बताउँछन् । अनि, शिवको अर्को प्रश्न– तपाईंको मनमा अहिले के खेलिरहेको छ ? प्राप्त जवाफको केन्द्र वरिपरि घुम्छन् । गीत तयार हुन्छ । जब गीत सुन्छन्, लेख्न लगाउने । अक्सर हरेकको जिज्ञासासहितको जवाफ हुन्छ– मैले कल्पना गरेको गीत तपाईंले कसरी लेख्नुभयो ? त्यही त शिवको कला हो । अरूको मनभित्र पसेर दिमागमा के चलिरहेको छ थाहा पाउने । त्यसलाई गीतका शब्दमा रूपान्तरण गर्ने । त्यसमा मर्मस्पर्शी धुन भर्ने ।
एउटा उदाहरण : गायिका सरिता कार्की आइन् । भनिन्– मलाई सेन्टी गीत चाहियो ।
किन सेन्टी गीत नै ?
‘यहाँभन्दा पनि कति रुनु जिन्दगीमा ?’
अनि, शिवले लेखे–
यहाँभन्दा नि कति रुनु छ र
यति माया गर्दा त तिम्रो हुन सकिनँ...
कहिले दोहोरीमा गाउँदा गाउँदै दिमागमा गीत आइदिन्छ, माइक फालेर लेख्छन् । कहिले छायांकन भइरहेको हुन्छ, निर्देशकले सट लिइरहेका हुन्छन्, मस्तिष्कमा गीत शब्द त्यही बेला फुरिदिन्छ । एक छिन है भन्दै कहिले मोबाइलको रेकर्डर खोलेर रेकर्ड गर्छन्, कहिले कागजमा कलमको निब दौडाउँछन् ।
स्याङ्जाको चापाकोटमा संगीता थापाको दसैँको गीतको छायांकन चलिरहेको थियो । उनको कानमा ठोक्कियो, कालीगण्डकीको एकोहोरो सुसाइ । त्यसले दिमाग तरंगित बनाइदियो । मिठो धुन बन्यो । के गरौँ, के गरौँ भयो । प्रकाश भट्ट निर्देशक थिए । डाइरेक्टर साब, एकछिन है भनेर मोबाइलको रेकर्डर अन गर्न थाले । शिवको बानी थाहा पाएका उनले भने– तपाईंको देव्रे तार खुस्कियो फेरि ! त्यो बेला फुरेको थियो, ‘पार्यो मलाई रुन मायाले...’ को मेलोडी । पछि यसको भिडियो उनै प्रकाशले बनाए । शिवले सम्झाए– तपाईं मेरो देव्रे तार खुस्कियो भन्नुहुन्थ्यो, मेरो तार खुस्किँदा बनेको गीत यही हो !
काठमाडौंका सुरुआती दिनका संघर्षतिर फर्किए, शिव । काठमाडौंमा टिक्नु थियो, त्यो पनि गीत गाएर र लेखेर । स्वैरकल्पनाभन्दा पनि फरक नपर्ने । तर पनि शिवले हारेका थिएनन् । रामजी खाँड ‘नसकिने र’छ हौ विदेश जाऊँ’ भन्थे । शिव ‘पर्ख न पर्ख अझै केही समय संघर्ष गरौँ’ भन्थे । “उहाँ विदेश जानुपर्छ भन्नुहुन्थ्यो । म विदेश जान हुन्न, महिनाको २० हजार यहीँ कमाउनुपर्छ भन्थेँ ।”
संघर्षका दिन काठमाडौंमा जो पनि डुल्ने नै हो । कता के अवसर पाइन्छ भन्दै अग्रज र अपेक्षा गरेकाहरूलाई भेट्दै हिँड्ने नै हो । त्यस्तैमा एक दिन शिव र रामजी भोकले खरिएपछि मःमः खान अनामनगरको एउटा होटेलमा छिरे । हेर्दा राम्री देखिने साउनी थिइन् । शिव र रामजी मःमः खाँदै थिए । अर्को छेउमा बसेका अरू केही तोङवा पिउँदै थिए ।
साउनीले तोङवासँग के खाने भनेर सोधिन् । जवाफमा तोङवा पिउनेले भने– चटनी के खानु, सितनभन्दा तिम्रो रूपै राम्रो छ । तिमीलाई हेरेर खान पाए पुग्छ !
शिवले थाहा पाए ती पुरुष दिनकै त्यहाँ आउँदा रहेछन् । त्यसपछि शिवको देव्रे तार चल्यो । जन्मियो नयाँ गीत–
देउरालीको भट्टी पसल,
तोङवा र छ्याङभन्दा नि साउनीको बोली असल
‘गावैँ रमाइलो देशै रमाइलो...’ बोलको गीत स्टुडियोमा रेकर्ड भइरहेको थियो । गीत रेकर्ड गर्नेको कानमा देखे, झुम्का । दिमागमा गीत फुरिहाल्यो । एक छिन रेकर्ड रोक्न लगाएर उनले गीत लेखे– झुम्का झलल... । त्यही गीत ‘नेपाल लोकस्टार’का विजेता शनी विश्वकर्मा र विष्णु माझीले गाए । शनीको यो पहिलो गीत बन्यो ।