
हामी बाँचिरहेको यो संसारमा जीवको विकासदेखि नै प्रेम सुरु भएको हो । जब जीवहरूको सिर्जना भयो, स्वाभाविक रूपमा प्रेम सिर्जना भयो । माया सिर्जना भयो । वासना सिर्जना भयो । त्यही वासनाका कारण यो सारा सृष्टिको सिर्जना भएको हो ।
यो जैविक प्रेमको करोडौँ वर्षको इतिहास छ । आजको यो भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस त केही दशकअघिदेखि न मनाउन थालिएको हो । यो दिवस त मान्छेले बनाएर मनाइएको हो ।
तर, मान्छेले बनाउनुभन्दा अघि नै प्रेम थियो । प्रेम मान्छेले बनाएको होइन । प्रेम मान्छेको हृदयबाट जन्मिने कुरा हो । हृदय पनि मान्छेले बनाएको होइन । न मान्छेको शरीर, मान्छेको जीवन, न मान्छेको हृदय, न मान्छेको मन मान्छेले बनाएको हो । मान्छेको हृदयमा प्रेम जन्मजात आएको हो ।
मान्छे सानो हुँदा मान्छेको प्रेम पनि बच्चाजस्तै हुँदो हो निश्छल, भरखरै पग्लिँदै गरेको हिउँजस्तै सफा । कालीगण्डकी मुहानबाट बग्दै गर्दाखेरि कति सफा र सङ्लो हुन्छ हिउँ पग्लिएको स्वच्छ पानी । तर, जब त्यो बग्दैबग्दै जान्छ, त्यति नै ठूलो आकार लिँँदै जान्छ । र, बग्दाबग्दै फोहोर पनि हुँदै जान्छ । चितवनमा आइपुग्दा त्यो पानी धेरै फोहोर भइसकेको हुन्छ ।
मान्छेमा पनि त्यही हो, ऊ जति ठूलो हुँदै जान्छ, उसमा विद्यमान प्रेमको प्रतिरूप पनि सायद त्यस्तै हुन्छ ।
खासमा प्रेम त शाश्वत छ । आदिम छ । एउटा लेखकका लागि मात्रै होइन, हरेक पक्षमा प्रेम आवश्यक छ । घरै बनाउँदा पनि प्रेम महत्त्वपूर्ण मानिन्छ । प्रेमविना घर पनि बन्न सक्दैन । घर बनाउँदा त्यहाँ काठको प्रयोग हुन्छ । त्यो घरमा जोडिएको हुन्छ । हजारौँ इँटा, ढुंगा अनि माटो र सिमेन्टले जोडिएको हुन्छ । त्यो पनि प्रेम नै हो ।
मलाई लाग्छ, प्रेमविना कुनै सृष्टि हुँदैन । न साहित्य सिर्जना हुन्छ न त संगीत सिर्जना नै । न त फूल फुल्छ । प्रेम नभएको भए न मानिसको सृष्टि हुन्थ्यो न त जीवजन्तुको नै । यी सब प्रेमका परिणति हुन् ।
प्रेमको भौतिक स्वरूप भनेको सृष्टि हो । प्रेम अभौतिक छ, तर यसको भौतिक रूप सृष्टि हो । प्रेम नभए केही सिर्जना हुन्थेन । हेर्नुस् त, सूर्यले पृथ्वीलाई कति प्रेम गरेको छ !
जहाँसम्म प्रेम र मायाको कुरो छ, दुवै फरक कुरा हुन् । यी दुवै शब्दले बोकेको भाव नै फरक छ । प्रेम हृदयबाट जन्मिएको हुन्छ । माया मनबाट जन्मिन्छ । मायाको सम्बन्ध वासनासँग हुन्छ । सांसारिकतासँग हुन्छ । तर, प्रेमको सम्बन्ध निःसर्त छ ।
जस्तै, सूर्यले पृथ्वीमा अब सृष्टि गर्नुपर्छ, त्यहाँका जीवलाई ताप चाहिन्छ, प्रकाश चाहिन्छ भनेर ताप र प्रकाश दिएको होइन । कुनै कुखुरीले अन्डामा ओथारो बस्दा न्यानो बनाउँछ नि, सूर्यले त्यस्तो गरेको हुँदै होइन । सूर्यले त आफैँ प्रकाश छरेको हो । र, सूर्यको परिक्रमा गर्दै पृथ्वीले ताप र प्रकाश ग्रहण गरेको हो ।
प्रेमको अर्को स्वरूप हेर्नुस्, जरा र जमिनको प्रेम कति गहिरो हुन्छ ! जराले जमिनलाई र जमिनले जरालाई जति प्रेम गर्छ, त्यो वास्तविक प्रेम हो । जमिनले मलाई यो यो चाहिन्छ भनेर वा जराले मलाई यो यो चाहिन्छ भनेर प्रेम गरेका होइनन् । त्यो प्रेम निःसर्त छ ।
तर, मायाचाहिँ निःसर्त हुँदैन । माया कहिल्यै एकोहोरो भइराख्दैन । माया त कालान्तरमा गएर क्षीण हुँदै पनि जान सक्छ । तपाईंले कसैलाई मन पराउनुभयो वा माया गर्नुभयो, तर त्यो मानिसले वास्तै गरेन भने आफूले गरेको माया त्यतिकै हराउँदै जान्छ ।
मलाई त के लाग्छ भने माया चन्द्रमा हो, समयानुसार आकारप्रकार परिवर्तन हुँदै जाने । चन्द्रमा पूर्णिमाका दिन पूर्ण हुन्छ, तर औँसीताका हराएर जान्छ । र, फेरि विस्तारै देखिँदै आउँछ ।
त्यस्तै माया पनि घटने बढ्ने हुन्छ । यसकारण माया शाश्वत हुँदैन । सधैँ रहँदैन । त्यसैले मलाई लाग्छ, यो भ्यालेन्टाइन डे भनेको माया दिवस हो । प्रेम दिवस होइन !
हामी मन र हृदयलाई एउटै भन्छौँ । त्यसो पनि होइन । मनभन्दा माथि हृदय छ, हृदयभन्दा माथि आत्मा छ । आत्माका बारेमा हामी जान्नै सक्दैनौँ । मनले माया सिर्जना गर्छ । हृदयले प्रेम सिर्जना गर्छ । आत्माले जीवन सिर्जना गर्छ । गीतामा पनि यही भनिएको छ ।
आत्मालाई आगोले पनि डढाउन सक्दैन, हावाले पनि उडाउन सक्दैन, पानीले पनि बगाउन सक्दैन । यसको जन्म पनि छैन र मृत्यु पनि हुँदैन भनेर गीतामा भनिएकै छ । भौतिकवादले आत्मामा विश्वास नै गर्दैन । सक्किहाल्यो !
भ्यालेन्टाइन डे खासमा माया दिवस हो । यद्यपि, हामी सबै मायाका बीच नै बाँचेका छौँ । किनभने, यो सबै सांसारिक माया हो । आमाले आफ्ना सन्तानलाई गर्ने पनि माया नै हो । किनभने, छोराछोरीले भनेको कुरा नमान्दा, भनेको बाटो नहिँड्दा आमाले केही न केही भन्छिन् नै । यो सांसारिक मोह हो ।
गौतमबुद्ध मायाबाट मुक्त भए, तर प्रेमबाट मुक्त भएका होइनन् । आत्मिक ज्ञान प्राप्ति भनेको मायाबाट मुक्त हुनु हो, प्रेमबाट मुक्त हुनु होइन । यो त प्रेम अझै बढाउनु हो जस्तो मलाई लाग्छ ।
तर, यो सांसारिकता सबै माया हो । हो, त्यसमा थोरै प्रेम मिसिएको हुन्छ । जसरी चियामा अलिकति चिनी मिसिएको हुन्छ, चिया मिसिएको हुन्छ, अलिकति सुकुमेल र दालचिनी मिसिएको हुन्छ । र त स्वादिलो भएको हुन्छ !
जहाँसम्म लेखनको प्रसंग छ, यसमा थोरै प्रेम हुन्छ नै । प्रेमविना त लेख्नै सकिँदैन । तर, नामको लोभ गर्नु माया नै त हो ! किताबमा आफ्नो नाम लेख्छु, त्यो मोह नै त हो ! त्यहाँबाट म मुक्त हुने हो भने त त्यहाँ मेरो नाम किन चाहिन्थ्यो र अमर न्यौपाने भनेर ? किताबमा ठूला अक्षरले आफ्नो नाम किन लेख्नुपर्थ्यो र !
प्राचीनकालमा जेजति लेखक थिए, तिनलाई उपाधि दिइएको थियो । जस्तो, व्यास । कारण, तिनलाई नामको मोह थिएन । त्यसैले ती मायाबाट मुक्त थिए । प्रेमबाट भने मुक्त थिएनन् । फलतः जसरी सूर्यले हामीलाई प्रकाश दिइरहेको छ, त्यसरी नै वेद, पुराण, उपनिषद्हरूले हामीलाई ज्ञानको प्रकाश प्रेमका साथ अहिले पनि दिइरहेका छन् ।
आजका दिनमा भने माया दर्साउन यस्ता उत्सव मनाइँदै आइएको छ, जसको नाम भ्यालेनटाइन डे राखियो । माया–उत्सव मनाउन खोजिएको हो यो । तर खै, पशुपक्षीहरूले कुनै उत्सव मनाउँछन् त ? मनाउँदैनन् । न त कुनै चाडपर्व नै मनाउँछन् ।
संसारमा करोडौँ जीव होलान्, तिनलाई भोक लाग्छ, खान्छन् । तिनलाई भोग्न मन लाग्छ, स्वतन्त्र रूपले भोग्छन् र सृष्टि गर्छन् । सन्तान जन्माउँछन् । तर, उत्सव मनाउँदैनन् ।
मानिसबाहेक अरू कसैले पनि चाडबाड र उत्सव मनाउँदैनन् । अर्थात्, यो सबै मान्छेले बनाएको हो । लोग्नेस्वास्नी पनि मान्छेले नै बनाएको हो । सृष्टि गर्दा त महिला र पुरुष मात्रै बनाइएको हो । तिमीहरू बिहे गर भनेर सृष्टि गरिएकै होइन ।
विवाह सामाजिक हो । प्रेम सामाजिक होइन, जैविक हो । माया पनि जैविक हो । वासना पनि जैविक हो र सृष्टि पनि जैविक हो ।
एउटा चराले त बचेरा केही ठूलो भएपछि छोडिदिन्छ । अन्ततः बचेरा आफैँ आफ्नो जीवन निर्वाहमा जुट्छ । तर, मान्छेले छोड्दैन । अन्तिम अवस्थासम्म पनि आफैँसँग राखिरहेको हुन्छ । यो मोह र आशक्ति हो । मोह र आशक्तिले नै परिवार बनाएको छ । परिवार र समाज बनाएको छ । त्यसैले यो सामाजिक कुरा भयो ।
तर, प्रेम र माया जैविक हुन् । प्राकृतिक हुन् । तथापि, मानिस खुसी मनाउन उत्सव गर्छ । चाडबाड मनाउँछ । अनेक पर्व–परम्परा भित्र्याउँछ । नयाँ वर्ष र भ्यालेन्टाइन डे मनाउँछन् । खै त, पशु र चराचुरुंगीले त्यस्तो मनाएको !
मानिस चेतनशील, बौद्धिक, प्राज्ञिक भएको हुनाले जीवनलाई अझ रंगीन बनाउन, जीवन अझ सुखमय बनाउन अनेक रङको खोजी गर्दै रङमाथि रङ थप्दै जान्छ । नयाँ–नयाँ रङ थप्ने क्रममा नै यस्ता उत्सवहरूको सुरुआत भएको हो । तर, एउटा लेखकका रूपमा यो उत्सवतिर मेरो मोह पनि छैन । अमोह पनि छैन ।
(आख्यानकार अमर न्यौपानेसँग गरिएको कुराकानीमा आधारित ।)