
म समुद्रमा पानीको छाल देखेर रमाउन सक्दिनँ
मरुभूमिको तातो हावा याद आएर
नेपालगञ्जको लूले नतताएको मेरो मनले
कालापत्थरको शान्ति र शालीनता पनि महसुस गर्न सक्दैन ।
लाग्छ, संसार धान्नुको पीडाबोध मैसँग छ ।
मलाई बैतडीका पाटनहरू साउनमा पनि उराठ लाग्छन्
कात्तिकमा फुलेका मखमली र सयपत्रीको बगैँचा
मेरा नजरले चैते घाँसे मैदान देख्छन्
ढकमक्क फुलेका ज्याकारान्डामा पनि
म फागुनमा नांगिएको पिपलकै झल्को पाउँछु ।
लाखौँ मानिसको सहर घाटभन्दा शान्त छ नजरमा
भरिएको रानीपोखरीमा म हजारौँ मत्स्य शव मात्रै देख्छु ।
धरहरा मलाई भुईंफुट्टा लाग्छ,
मेरा भावनाको पहाड अगाडि
अनि, म आफैँलाई एक्लो पाउँछु
यो कंक्रिटको जंगलमा ।
मेरा नयनले, मेरो मनले भनौँ अझ
समुद्रमा तिम्रो आँखाको निश्चलता खोजिरहेछ ।
सगरमाथाको फेदीमा तिम्रो आलिंगन
पाटनहरूमा तिम्रो सुन्दरता
बगैँचाहरूमा तिम्रो सुगन्ध
अनि, रानीपोखरीको डिलमा बसेर
सहरमा तिम्रो सामीप्य खोजिरहेछ ।
जहाँ म तिम्रो समीपको गर्मीमा
आँखामा समुद्र देखूँ
अधरमा चञ्चलता
बाहुमा अरबी गर्मी
र, धड्कनमा सुनामीको तहल्का महसुस गरूँ ।
साँच्चै म तिमीसँग
भूमिको महक र गगनको स्वच्छन्दता एकसाथ चाहन्छु ।