
तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भुलहरू सच्याउन मन लागेको छ ।
जानेर नजानेर
कतिको चित्त दुखाएँ हुँला
तिमीसम्म पुग्नका लागि देखेर नदेखेर
कतिका सपनाहरू कुल्चेर हिँडे हुँला
तिमीलाई पाउनका लागि
कतिलाई गुमाएँ हुँला
आज
तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भुलहरू सच्याउन मन लागेको छ ।
जसरी सच्याउँछ कुनै लेखकले
पछिल्ला संस्करणहरूमा आफ्ना कमजोरीहरू
जसरी सच्याउँछे एउटी आमाले
आफ्ना नानीका स–साना गल्तीहरू
हो, सच्याउन मन लागेको छ मलाई
धमिलिँदै गएको जिन्दगीको एउटा पुरानो पृष्ठ ।
धेरै गरेँ आफ्ना हत्केलाबाट ढंग नपुगेका चुम्बनहरूको साटासाट
धुवाँ, कफीको चुस्की र वर्जित स्वैरकल्पनाहरूसँग
अप्ठयारो सपना बोकेर दौडिरहेथेँ वर्षौँदेखि
आज तिमीलाई भेटेपछि म शिरदेखि पाउसम्म संकोचले भिजेको छु
र, थरथराइरहेका छन् विगतमा आफैँले गरेका भुलहरू आफ्ना अघिल्तिर ।
अब तिमीसँग बाँच्नु छ मलाई
हुनु छ तिम्रो उपस्थितिसँग
रहनु छ तिमीभित्रै, जसरी समेटिएकी छ्यौ तिमी ममा
तिम्रो सोचाइको एउटा स्पर्शलाई समाउन
मैले आफ्ना सपनाहरू ओच्छाएको छु तिम्रा प्रत्येक पाइलाहरूमा
तिमीले आफ्ना सपनाहरू बाँचिरहेको यो समय
आफूले प्रयोग गरिसकेका दिनहरूको पातलो गन्धले मलाई बिथोल्न खोज्छ
तर, डराउँदिनँ म
मैले भेटेको छु, हराएको मेरो प्रेमको लय ।
तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भुलहरू सच्याउन मन लागेको छ ।