काठमाडौं । विदेशमा हुने चलचित्रसम्बन्धी फेस्टिभल तथा अवार्डले नेपाली सिनेमाजगत्लाई माथि उठाउँछ ? आयोजक भन्छन्– निःसन्देह । त्यसो भए खोइ नेपाली सिनेमाले फड्को मारेको ? खोइ त नेपाली सिनेमाले नेपाली भूगोल छिचोलेको ? खोइ खैरो कपाल र निलो आँखा हुनेले नेपाली चलचित्र हेरेको ? यी प्रश्नको जवाफ भने ‘निःसन्देह’ भन्नेसँग छैन ।
आयोजकको दाबी सरासर झुटो भएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)का आयोजक तथा अध्यक्ष केपी पाठन बताउँछन् । विदेशमा हुने नेपाली फिल्म फेस्टिभल तथा अवार्ड नाम मात्रैका हुने र त्यसको प्रभाव शून्य प्रायः हुने उनको जिकिर छ । यद्यपि, प्रभावकारी ढंगले फेस्टिभल गर्न सके उद्देश्य भेटिनेमा शंका नरहेको पनि उनी स्पष्ट पार्छन् ।
विदेशमा फिल्म फेस्टिभलका नाममा हुने कुनै पनि कार्यक्रमले नेपाली चलचित्र उद्योगको विकासमा टेवा नपुर्याएको उनको भनाइ छ । विदेशमा ४०/५० नेपालीको बीचमा गरिने फेस्टिभलको कुनै औचित्य र प्रभाव नहुने केपी बताउँछन् । ठूलो समुदाय र क्षेत्रमा पुगे मात्र फेस्टिभलको प्रभाव रहने अन्यथा त्यसको औचित्य र आवश्यकतामाथि प्रश्नचिह्न खडा गर्न सकिने उनको धारणा छ ।
“विदेशी भूमिमा फेस्टिभल गर्दैमा नेपाली चलचित्रको प्रवद्र्धन र विस्तार हुन्छ भन्ने मलाई लाग्दैन । फेस्टिभल भन्नेबित्तिकै देशका मात्रै होइन, विदेशी सिनेमा, त्यसका निर्देशक, निर्माता, कलाकार, दर्शक, वितरक र समीक्षकको उपस्थिति हुनुपर्छ । विदेशीलाई नेपाली सिनेमा हेराउनुपर्छ । विदेशी समीक्षकले नेपाली सिनेमाको क्रिटिक्स गर्ने वातावरण खडा गर्न सक्नुपर्छ,” केपी भन्छन्, “विदेशमा हुने नेपाली फेस्टिभलमा त्यो देखिएको छ ? यो मुख्य प्रश्न हो यो । नेपाली स्टोरी विदेशी मेकरसामु पिच गराउने स्टल हुनुपर्छ, ता कि नेपाली स्टोरीमा विदेशी प्रोडुसरले लगानी गरून् । त्यो आजसम्म भएको छ ? छैन भने ती फेस्टिभल नेपाल र विदेशमा गरिनुमा के नै फरक भयो र ? मेरो विचारमा यदि विदेशीको उच्च सहभागिता, नेपाली सिनेमामाथि डिस्कोर्स गरिँदैन र सम्बन्धित देशको सरोकारवाला पक्षसँग सहकार्यको प्रयास हुँदैन अथवा गराउन सकिँदैन भने त्यसको केही अर्थ हुँदैन ।”
कुनै व्यक्तिविशेष वा निजी कम्पनीले भन्दा पनि सरकारी निकायले गर्ने फेस्टिभलको विशेष अर्थ र महत्त्व हुने उनको बुझाइ छ । विशेषतः सम्बन्धित देशमा रहेका राजदूतावासले नेपालको कला, साहित्य, संस्कृति झल्काउने फिल्म फेस्टिभल आयोजना गर्नुपर्ने अध्यक्ष केपी पाठकको धारणा छ । सरकारी निकायले गर्ने कार्यक्रमप्रति त्यहाँको सरकारले सहजै सहयोग गर्ने र प्रभाव पनि पर्ने उनी बताउँछन् ।
नेफ्टा फिल्म फेस्टिभलको आयोजक ड्रिम हाई नेपालका निर्देशक कमल जिसी विदेशमा गरिने फिल्म फेस्टिभलले नेपाली चलचित्र उद्योगलाई फाइदा नगर्ने जिकिर गर्छन् । त्यस्ता फेस्टिभलले नेपाली सिनेमा उद्योगको विकासमा सहयोगभन्दा भएको इज्जत पनि क्षयीकरण गर्ने गरेको उनको टिप्पणी छ ।
“विदेशमा आयोजना गरिने फिल्म फेस्टिभलको उद्देश्य नेपाली सिनेमाको विदेशमा बजार प्रवद्र्धन गर्ने भनिए पनि धेरै त्यस्ता कार्यक्रममा भित्री उद्देश्य अर्कै हुन्छ,” कमल भन्छन्, “मान्छे लगेर विदेश छोड्ने उनीहरूको मुख्य उद्देश्य हुने गरेको तथ्य कसैबाट छिपेको छैन । यही आरोपमा कति पक्राउ परिरहेका छन् । कतिलाई चार्ज लागिरहेको छ । यो जगजाहेर कुरा हो ।”
अमेरिका लगेर छोड्दा प्रतिव्यक्ति ४० लाख रुपैयाँसम्म लिने गरिएको उनको उनको दाबी छ । “व्यक्तिको स्ट्याटस हेरेर आयोजकले बार्गेनिङ गर्छन् । अमेरिका लगेर छोड्दा प्रतिव्यक्ति ४० लाखसम्म लिने गरेको मैले देखेको छु,” कमलको दाबी छ, “दुबई लगेर छोड्नेले तीन लाखसम्म लिने गरेका छन् । भित्री उद्देश्य नै यस्तो हुन्छ भने कसरी चलचित्रको प्रचार, प्रवद्र्धन र बजार विस्तार हुन्छ ?”
चलचित्र क्षेत्रको विकास र विस्तारका लागि गम्भीर भएर सोच्ने, योजना बनाउने र त्यसकै लागि विदेशमा मोटो रकम खर्च गरेर फेस्टिभल तथा अवार्ड आयोजना गर्ने आयोजक कमै रहेको उनी बताउँछन् ।
चलचित्र प्राविधिक संघले यो वर्ष अमेरिकामा नेफ्टा अवार्डको आयोजना गर्दै छ । संघका अध्यक्ष पुस्कर लामा नेपाली चलचित्रको बजार विस्तार र दुई देशबीचको संस्कृति आदानप्रदान नै मुख्य उद्देश्य रहेको बताउँछन् ।
“यहाँ विदेशमा हुने अवार्ड र फेस्टिभल भन्नेबित्तिकै शंका गरिन्छ । सबैभन्दा पहिला चोखो उद्देश्य राखेर काम गर्ने हो भने हरेक काम राम्रो हुन्छ,” पुस्कर भन्छन्, “हामी राम्रो उद्देश्य राखेर काम गर्दै छौँ । अरूले कहाँ के गरे, त्यसको जिम्मेवारी हामीले लिने कुरा भएन । तर, हाम्रो संस्थाले आफ्नो क्रेडिबिलिटी आजसम्म जोगाएर राखेको छ । अब पनि हामी हाम्रो क्रेडिबिलिटी जोगाएर राख्छौँ ।” आफू नेतृत्वमा रहुन्जेल नेफ्टा अवार्ड भव्य, सभ्य र मर्यादित हुने उनको प्रण छ ।
नेपाली चलचित्र पछिल्लो समय अमेरिकामा पनि चल्न थालेको छ । कम्तीमा त्यसले निरन्तरता पाओस् र नेफ्टा अवार्डले त्यसका लागि भूमिका खेल्न सकोस् भन्ने मुख्य ध्येय रहेको उनी सुनाउँछन् ।
“नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो कार्यक्रमको मुख्य उद्देश्य हो । सबैभन्दा पहिला जबसम्म हामी नेपाली आफैँले नेपाली चलचित्र हेर्दैनौँ, तबसम्म हाम्रो सिनेमा अन्तर्राष्ट्रिय बजारमा जाँदैन । त्यसैले विश्वभर रहेका नेपालीमा हामीले हाम्रो सिनेमा देखाउनुपर्छ,” पुस्कर अगाडि थप्छन्, “अरूले के गर्छन्, त्यो मलाई थाहा भएन । हाम्रो नेफ्टा अवार्डको उद्देश्य सिंगो चलचित्र उद्योगको विकास, चलचित्रकर्मीका लागि प्रोत्साहन, हौसला र चलचित्रको बजार विश्वभर विस्तार गर्नु हो ।”
विश्वभर नेपाली चलचित्रकर्मीले म नेपाली चलचित्रकर्मी हुँ भनेर गौरवका साथ भन्न सक्ने वातावरण बनोस् भन्ने पनि नेफ्टाको उद्देश्य रहेको उनी बताउँछन् ।
उद्देश्य स्वच्छ र स्वस्थ रहे कसैले पनि प्रश्न उठाउन नसक्ने उनी तर्क गर्छन् । आफ्नो संस्था एवं नेफ्टा अवार्डलाई विवादमुक्त बनाएर राख्न अहिलेसम्म आफू सफल रहेको पुस्करको जिकिर छ । अवार्ड र फेस्टिभललाई अरू उद्देश्यभन्दा पनि सिनेमाको विकास र विस्तारमा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ ।
सिनेमाको बजार विदेशमा खोज्नु अपरिहार्य भइसकेको अभिनेता मुकुन भुसाल औँल्याउँछन् । त्यसका लागि विदेशमा हुने फिल्म फेस्टिभल र अवार्डले ठूलो भूमिका खेल्ने उनी बताउँछन् । डायस्पोरा पनि नेपाली सिनेमाको राम्रो बजार भइसकेको र त्यसमा पुग्न फेस्टिभल तथा अवार्ड कार्यक्रम राम्रो माध्यम हुन सक्ने उनको भनाइ छ । तर, यसको सदुपयोग हुनुपर्नेमा उनको जोड छ ।
“नेपाली सिनेमाको बजार खोज्नु हाम्रो दायित्व पनि हो । सुरुमा विदेशमा रहेका नेपाली माझमा मात्रै नेपाली चलचित्र पुर्याउन सकियो भने पनि त्यसले ठूलो महत्त्व राख्छ,” मुकुन भन्छन्, “नेपाली जहाँजहाँ हुनुहुन्छ, त्यहाँ हामीले हाम्रो चलचित्रसम्बन्धी कार्यक्रम उहाँहरूमाझ गर्न सक्यौँ भने उहाँहरूमा नेपाली चलचित्रप्रति अपनत्व महसुस हुने थियो । यसले नेपाली सिनेमाको बजार विस्तारमा पक्कै पनि सकारात्मक भूमिका खेल्न सहयोग गर्छ ।”
त्यस्ता फेस्टिभल र अवार्डको भ्यालु कति छ, त्यो भने विचारणीय पक्ष भएको उनको भनाइ छ । फेस्टिभल र अवार्डको गरिमा कति छ, त्यसले ठूलो अर्थ राख्ने मुकुन बताउँछन् ।
निर्देशक मिलन चाम्स अहिलेकै अवस्थामा विदेशमा हुने फेस्टिभल तथा अवार्डको कुनै अर्थ र उपलब्धि नहुने बताउँछन् । नेपालबाट २०/२५ कलाकार लगेर त्यहाँ रहेका केही नेपालीलाई बोलाएर गरिने फेस्टिभल र अवार्डको सकारात्मक प्रभाव खोज्नु नै हास्यास्पद हुने उनको तर्क छ ।
“यताबाट केही कलाकार लाने र कहाँ कार्यक्रम आयोजना गर्ने हो । त्यहाँका केही नेपालीलाई जबरजस्ती बोलाएर एटेन्डेन्स गरिदिन मात्रै भए पनि आइदिनु न भनेर बोलाउनुपर्ने अवस्था छ,” मिलन यथार्थ पस्किन्छन्, “विदेशमा गएर नेपालीमाझ नै कार्यक्रम गर्ने हो भने विदेशमा कार्यक्रम गर्नुको औचित्य छैन ।”
त्यस्ता कार्यक्रमले नेपाली पैसा उल्टै विदेश लैजानेबाहेक केही नहुने उनको तर्क छ । “आफ्नो गोजीबाटै पैसा लगाएर काम गर्ने कोही हुँदैन । त्यसैले आयोजकसँग कुनै न कुनै निहित उद्देश्य त हुन्छ नै । होइन, चलचित्रकै लागि इमानदार भएर आयोजना गरिएको कार्यक्रम हो भने त्यहीअनुसारको योजना र सहभागिता हुनुपर्यो । नेपाली सर्कल मात्रै लक्षित वर्ग हुनु भएन,” निर्देशक मिलन अगाडि थप्छन्, “अन्तर्राष्ट्रियस्तरकै कार्यक्रम गर्ने हो भने अन्य देशका चलचित्रकर्मीलाई पनि बोलाउनुपर्छ । उनीहरूलाई नेपाली चलचित्र देखाउनुपर्छ । नेपाली चलचित्रबारे प्रस्ट्याउने र हाम्रो कल्चरबारे बुझाउनुपर्छ ।”
विदेशी चलचित्रकर्मीसँग सहकार्यका कार्यक्रम राखेर अगाडि बढ्न सक्नुपर्ने अन्यथा अवार्ड मात्र होइन, त्यस्ता फेस्टिभलको पनि कुनै उपलब्धि नहुनेमा उनी स्पष्ट छन् ।
फेस्टिभल र अवार्डमा देखाइने नेपाली चलचित्र पनि मौलिक हुनुपर्नेमा उनको जोड छ । भनसुन, नातावाद र कृपावादका आधारमा फेस्टिभलका लागि चलचित्र छनोट हुने गरेको उनी सुनाउँछन् । विदेशीलाई देखाउने चलचित्र नेपाली कथा र परिवेश देखाउने मौलिक विषयवस्तुमा हुनुपर्नेमा त्यसो हुन नसकेको यथार्थ उनी सुनाउँछन् । त्यसबाहेकका चलचित्रले ब्याड इम्प्रेसन मात्र छोड्ने मिलन बताउँछन् ।
“जबसम्म विदेशीले हेरेर नेपाली चलचित्र राम्रो हुन्छ भनेर भन्दैन, त्यो समयसम्म नेपाली चलचित्रको विकास र विस्तार सम्भव छैन । यसका लागि सबैभन्दा पहिला विदेशीलाई सिनेमा देखाउनुपर्छ,” उनी अगाडि भन्छन्, “विदेशमा गरिने फेस्टिभल र अवार्ड कार्यक्रमले त्यहाँका सरकारी तथा गैरसरकारी निकायसँग पनि सहकार्य गर्ने, त्यसका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरेर कसरी दीर्घकालीन सहकार्य गर्ने भनेर अगाडि बढ्नुपर्छ । अन्यथा, जहाँसुकै गरियोस्, त्यस्तो कार्यक्रमको कुनै अर्थ हुँदैन ।”
कुन उद्देश्यले कार्यक्रम भइरहेका छन् भन्ने छुट्ट्याउनै कठिन भइसकेको मिलनको अनुभव छ । कतिपय इभेन्टमा मान्छे विदेश लगेर उतै छोडेर आएको भन्ने कुरा सबैले सुन्ने गरेको बताउँदै उनी भन्छन्, “त्यस्ता इभेन्टमा जाने कलाकार भनेको देशको प्रतिनिधित्व गर्दै जाने नेपाली सिनेमाको एम्बेस्डर पनि हो । तर, उनीहरूलाई म केका लागि जाँदै छु र के बोल्नुपर्छ भन्ने सामान्य जानकारी समेत हुँदैन । कसरी घुम्ने र कसरी सपिङ गर्ने भन्ने मात्रै उनीहरूको प्राथमिकता हुन्छ ।”
नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा कसरी उँचो बनाउने र यो क्षेत्रलाई कसरी प्रवद्र्धन गर्ने भन्ने सोच हुनुपर्नेमा व्यक्तिगत स्वार्थका लागि मात्र जाने गरेको पाइएको मिलनको गुनासो छ ।
यसरी विदेशमा कार्यक्रम गर्नुभन्दा नेपालमै यहाँस्थित दूतावास, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा गैरसरकारी संस्थासँग सहकार्य गर्दै फेस्टिभल तथा अवार्ड गरे त्यसले चलचित्र क्षेत्रलाई फाइदा गर्ने मिलनको धारणा छ । अन्यथा, विदेशी भूमिमा कार्यक्रम गर्दैमा उपलब्धि हुन्छ र भयो भन्नु हास्यास्पदबाहेक केही नहुने उनको निष्कर्ष छ ।