काठमाडौं । नेपाली सिनेमा उद्योगमा केही वर्षयता नयाँ चलचित्रले दर्शकको ध्यान खिच्न सकेको छैन । अधिकांश नयाँ चलचित्रलाई दर्शकले विश्वास गर्न सकेका छैनन् । मेकर पुरानै ब्रान्डको भर परिरहेका छन् ।
बाक्लै संख्यामा चलचित्र निर्माण र प्रदर्शन भए पनि तिनमा दर्शकको आकर्षण उति धेरै देखिएको छैन । नयाँ चलचित्रले दर्शक तान्न नसकेपछि निर्देशक तथा निर्माताले पुरानै ब्रान्डको सहारा लिइरहेका छन् । नयाँ चलचित्र बनाएर त्यसलाई अपेक्षित र प्रतीक्षित बनाउन नसकेपछि निर्देशक तथा निर्माता पुरानै चलचित्रको ब्रान्ड बेचिरहेका छन् । नयाँ चलचित्रको तुलनामा सिक्वेल र सिरिज प्रतीक्षित बन्ने गरेका छन् ।
उदाहरणका रूपमा ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘नाईं नभन्नू ल’, ‘प्रेम गीत’, ‘छड्के’, ‘ए मेरो हजुर’, ‘लुट’ आदिलाई लिन सकिन्छ । अहिले आउन लागेका चलचित्रको कुरा गर्दा पनि ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ नै प्रतीक्षित छन् । अरू पनि थुप्रै चलचित्र पाइपलाइनमा छन् । तर, ती चलचित्र प्रतीक्षित सायदै छन् । निर्माण घोषणा हुँदै ‘पशुपतिप्रसाद–२ भस्मे डन’प्रति उत्साह देखिएको यसको निर्माण पक्षले जनाएको छ । अहिले ‘जात्रा’ टिम ‘महाजात्रा’को स्क्रिप्टमा बसिसकेको छ ।
सिनेमाले इनिसियर व्यापार उत्साहजनक होइन, सन्तोषजनक मात्र गरे पनि निर्माण पक्षले यसको सिक्वेल अथवा सिरिज घोषणा गर्ने गरेका छन् ।
दर्शक हलमा किन गइरहेका छैनन् र सिनेमा आफ्नो ब्रान्ड बनाउने गरी किन चलिरहेका छैनन् भन्ने प्रश्नमा नायिका स्वस्तिमा खड्का भन्छिन्, “हलमा गएर हेरौँ न त भन्ने सिनेमा नआएको भएर हुनसक्छ । पछिल्लो समय मास अपिलिङ चलचित्र आइरहेको छ जस्तो मलाई लाग्दैन ।”
सिनेमालाई गम्भीर रूपमा लिएर काम गर्ने मेकर नेपालमा कमै रहेको र त्यसको असर बजारमा देखिएको स्वस्तिमा बताउँछिन् । “सिनेमालाई गम्भीर रूपमा लिने मेकर पनि हुनुहुन्छ । केही मेकर हन्ड्रेड पर्सेन्ट दिनुपर्छ भनेर काम गर्नुहुन्छ । तर, केही मेकर यतिको भए चल्छ, यतिको भए हुन्छ, यति भए दर्शकले पत्याउँछन् भनेर काम गर्ने मेकर पनि मैले देखेको छु,” उनी भन्छिन्, “यत्तिको भए हुन्छ भनेर अब हुँदैन । कामलाई सामान्य रूपमा लिने र यतिको भए चलिहाल्छ नि भनेर अडियन्सलाई अन्डरस्टिमेट गरेजस्तो लाग्छ । मास अपिलिङ सिनेमा नआउनुको कारण यही हो ।”
कोभिड–१९ का कारण दर्शकले विश्वका सिनेमा डिजिटल प्लेटफर्म हेर्ने मौका पाएकाले पनि मेकरसामु चुनौती थपिएको स्वस्तिमा बताउँछिन् । टेक्निकल र कलर केही फरक गरेर पुरानै कन्टेन्ट एवं पुरानै शैलीमा दिँदा पनि ब्रान्ड बन्ने गरी चलचित्र आउन नसकेको उनको भनाइ छ । योबीचको समयमा केही प्रयोगात्मक सिनेमा पनि आएको तथ्यलाई भने स्वीकार गर्नुपर्ने उनी बताउँछिन् ।
बाहिर के चलिरहेको छ, त्यसबाट इन्फ्लुयन्स हुनेभन्दा पनि गम्भीर भएर कन्टेन्ट र मेकिङमा लाग्नुपर्नेमा उनको जोड छ । “एक्टरले हाम्रोमा राम्रो मकेर छैन भन्छन् । एक्टरले राम्रो मेकर छैन भन्छन् । तर, गम्भीर भएर काम गर्ने हो भने राम्रो सिनेमा बनाउन सकिन्छ,” उनी भन्छिन्, “एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि गम्भीर भएर काम गर्नुपर्छ ।”
वान टाइम प्रोडुसर भएकाले पनि सिनेमालाई गम्भीर रूपमा नलिँदा भनेजस्तो चलचित्र नबनेको हुन सक्ने उनको अनुभव छ । “नियमित सिनेमा बनाउने स्टुडियो भएको भए सायद हामीले भने र अपेक्षा गरेजस्ता चलचित्र बन्थे,” स्वस्तिमा भन्छिन्, “नियमित समय बनाइरहेको स्टुडियो भए कस्तो कन्टेन्ट दिने, कसरी बनाउने, कसरी मार्केटिङ गर्ने भन्ने थाहा हुँदा पनि राम्रा सिनेमा बन्ने थिए ।”
चलचित्र निर्माता छविराज ओझा राम्रो चलचित्र बनाउन सके त्यो आफैँमा ब्रान्ड बन्ने तर त्यसमा पनि दर्शककको च्वाइस रहने बताउँछन् । बनाएका सबै चलचित्र नचल्ने उनको भनाइ छ ।
“बनाएका सबै चलचित्र चल्दैनन् । दर्शक सिनेमा हेर्न जाने भनेको त्यसको ट्रेलर र पोस्टर हेरेर हो । त्यसले दर्शकलाई प्रभाव पार्न सकेको छ कि छैन भन्ने हो,” छविराज भन्छन्, “बनाउन त सबैले राम्रो नै बनाउँछु भनेर नै बनाउने हो । तर, सबै चलचित्र चल्दैनन् । केही सेलेक्टिभ चलचित्र मात्रै चल्ने हो । यो संसारभरको नियम हो ।”
चलचित्र महँगो पनि भइसकेको उनको भनाइ छ । परिवारै जाँदा कम्तीमा तीन/चार हजार रुपैयाँ खर्च हुने हुँदा दर्शक चलचित्र छानेर मात्र हेर्न जाने गरेको उनी बताउँछन् । “नियमित रूपमा चलचित्र बनाउँदै आएका पुराना निर्माताले अहिले चलचित्र बनाइरहेका छैनन् । त्यसको पनि केही असर परिरहेको होला,” उनी भन्छन्, “पुराना र अनुभवी मेकरले पुरानै ब्रान्डलाई अघि सारिरहेका छन् । पुरानै ब्रान्ड अघि सार्दा पब्लिसिटीका हिसाबले पनि सस्तो पर्ने र आम दर्शकमा पुग्ने भएकाले यसलाई अघि सारिरहेको अवस्था हो ।”
केही चलचित्र यो वर्ष चलेको उनले उल्लेख गरे । ‘महापुरुष’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’लगायत केही नयाँ चलचित्र यो वर्ष चलेका थिए । पछिल्लो समय दर्शक कस्तो सिनेमा हेर्छन्, कुन कलाकार मन पराउँछन् भन्ने यकिन नहुँदा पनि धेरै मकेर पुरानै ब्रान्डको भर परिरहेको छवि बताउँछन् ।
बीचमा अरू नै चलचित्र बनाए पनि दर्शकले मन नपराउँदा मेकरले पुनः सिरिज र सिक्वेलको सहारा लिइरहेका छन् । कथा कहीँ कतै नमिले पनि नाम पुरानै राख्नुले यसलाई आफैँ पुष्टि गर्छ । कथामा सिक्वेल वा प्रिक्वेल नभए पनि कुनै चलेको चलचित्रको नामका पछाडि २/३ राखेर चलचित्र बनाउनुले पनि नयाँ ब्रान्ड बनाउन मेकरलाई कठिन भइरहेको स्वतः पुष्टि हुन्छ ।