जिन्दगी कहिले उकालो, कहिले ओरालोको यात्रा । जिन्दगीमा गुल्जार क्षण त कमै हुन्छ । अक्सर चेपिँदै, थिचिँदै जिन्दगी अगाडि बढ्छ । त्यसमा पनि चाहेको र देखेको जिन्दगी त प्रायः क्षितिजसरह नै भइगयो । जिन्दगीमा अक्सर जितु नेपालले रंगीन दुनियाँका २७ वर्ष कतै चेपिएर, कतै पेलिएरै बिताए । समय सधैँ वक्ररेखामा मात्र हिँड्दैन । सरलरेखाको यात्रा पनि गर्छ, भलै छोटै समय किन नहोस् । जिन्दगीमा सधैँ बादल मात्र पनि लाग्दैन, बादल छिचोलेर न्यानो घामको झुल्को पनि देखिन्छ । अहिले यस्तै अनुभव गरिरहेको हुनुपर्छ जितुले ।
त्यसो त जिन्दगीको बाटोमा सधैँ एउटै गन्तव्य पनि रोमाञ्चक हुँदैन, चाहे त्यो पेसाको शिखरमै किन नहोस् । जति धेरै बाटो र गन्तव्य फेर्यो, त्यति रमाइलो जिन्दगी । त्यसैले त एउटामा अब्बल दरिएका व्यक्ति कोही परिवर्तन गरेर नयाँ पेसा अँगाल्छन् । कोही केही क्षणको ब्रेक लगाएर अर्कै पेसामा होमिन्छन् । त्यस्तै अनुभव सँगाल्न यति बेला आइपुगेका छन्, दन्त चिकित्सक कपिल रिजाल । पेसाले दाँतको चिकित्सक भए पनि उनी सिनेमाको क्याप्टेनसिप सम्हाल्न आइपुगेका छन् ।
पाँच वर्षअघि इजिप्टको कायरोमा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल र सरला रिजालको कन्फरेन्स थियो । यूकेबाट बुवा–आमालाई भेट्न डा. कपिल रिजाल पनि कायरो पुगेका थिए । इजिप्टका लागि नेपाली राजदूत झवेन्द्र अर्यालको गेस्ट पनि थिए कपिल । नाइल नदीमा बोटमा सपरिवार रहेका बेला अचानक कपिलको दिमागमा एउटा स्टोरी आयो । उनले बुवालाई वानलाइन स्टोरी सुनाए । र, सोधे– यो प्लटमा सिनेमा बनाए कस्तो हुन्छ ?
एक छिन गमेर डा. भोला रिजालले भने– यसलाई राम्रो ट्रिटमेन्ट गरिस् भने राम्रो सिनेमा बन्छ ।
बुवाको भनाइले डा. कपिलमा आत्मविश्वास बढ्यो । उनले थप स्टोरी सोच्न थाले । कहिले दिमागमा त कहिले कागजमा स्टोरी डेभलप गर्दै गए । कतै बाटोमा प्लट फुरे बिर्सिएला कि भनेर मोबाइलमा रेकर्ड गर्थे । दुई वर्षमा करिब पहिलो ड्राफ्ट तयार भयो ।
त्यसपछि नेपालमा आएर उनले अभिमन्यू निरवीलाई बोलाएर कथा लेख्न थाले । यूके आउने–जाने चलिरहने भएकाले करिब अर्को एक वर्ष लाग्यो, फाइनल ड्राफ्ट तयार पार्न ।
जिन्दगीमा कहिले उकालो त कहिले ओरालो चलिरहने नै भयो । डा. भोला रिजाल बिरामी परे । ढाडको अप्रेसन गर्नुपर्ने भयो । एक वर्ष त्यतै बित्यो डा. कपिलको पनि । यसबीचमा उनले थुप्रैपटक बुवालाई विस्तारित कथा सुनाउँदै गए । उनले पनि सुझाव दिँदै गए । लामो समयदेखि यूकेमा रहेकाले डा. कपिललाई नेपाली कल्चरबारे धेरै थाहा थिएन । यसमा भोलाले अधिकतम सुझाव थिए ।
डीओपी सुदीप बराल र चिफ एडी गिरिराज घिमिरेलाई बोलाएर भने, ल अब जितु नेपाललाई बोलाऊँ ।
सुरुमै डा. कपिलको दिमागमा जितु थिए ?
‘थिएनन् ।’
को थिए ?
“भन्न मिल्दैन । मैले सोचेको क्यारेक्टर विस्तारै वेस्टर्न हुँदै गयो । मेरो क्यारेक्टर गाउँतिर सर्यो । तर, मैले सोचेको व्यक्ति गाउँबाट सहरतिर सर्यो, त्यसैले ब्यालेन्स मिलेन । मेरो अर्को क्यारेक्टर को हुनसक्छ भनेर सोच्दा मेरो दिमागमा जितु आएको थियो । सुरुदेखिको हाइहेलो रहेकाले पनि मैले उसलाई चिनेको थिएँ । उसको सरलताले पनि मलाई खिचेको थियो,” डा. कपिलले भने ।
जितु हास्यकलाकार, तपाईंलाई त गम्भीर चरित्र चाहिएको थियो नि ?
“हो । यो मेरो दिमागमा आएको थियो । तर, २७ वर्षदेखि उनले निरन्तर गरेको कामले मलाई लागेको थियो, यो मान्छेले गम्भीर क्यारेक्टर पनि गर्न सक्छ । मात्रै मैले उसलाई कन्ट्रोल गर्न सक्छु कि सक्तिनँ भन्ने थियो,” उनी स्पष्ट पार्छन् ।
कोरोनाको दोस्रो वेभभन्दा ठिक अगाडिको एक दिन डा. रिजालको निमन्त्रणामा सिनेमाको कथा सुन्न जितु माइतीघरको एउटा घरमा आइपुगे ।
डा. कपिलले जितुलाई भने– म सिनेमा बनाउँदै छु ।
जितु– भइहाल्छ नि दाइ ।
डा. कपिलले सिनेमाको कथा न्यारेट गरे । जितुले सुनिरहे ।
“मैले कथा सुनाउँदै गर्दा मलाई लाग्छ, जितुले काकाको रोल मेरा लागि हो भन्ने कल्पना गरिरहेको थियो,” कपिल हाँस्दै भन्छन्, “मैले ल सकिन्छ होइन त लिड रोल गर्न भन्दा जितु छक्क पर्यो ।”
‘मेन रोलमै ?,’ आश्चर्यमिश्रित जितुको प्रश्न थियो ।
‘हो ।’
जितु– हिरोइन को हुन्छ ?
“मैले साम्राज्ञी भन्दा जितु झन्डै फेन्ड नभएको,” सँगै रहेर डा. कपिलका कुरा सुनेर मुसुमुसु हाँसिरहेका जितु अब भने मजाले हाँस्छन् । जितुको हाँसोमा कपिलको हाँसो थपियो । उनीहरू दुवै मजाले हाँसे ।
डा. कपिलले साम्राज्ञी ‘लक्ड’ भइसकेको बताइरहेका थिए । जितुको मनमा भने संशय थियो । साम्राज्ञीले खेल्छिन् भन्नेमा उनलाई विश्वास नै लागेको थिएन । किनकि, ‘छक्का पञ्जा’का दुई सिरिजको अफर साम्राज्ञीले नकारेकी थिइन् । जसमा जितु स्वयं थिए ।
“जब साम्राज्ञीले साइन गरिन्, त्यसपछि जितुले मलाई भनेको याद छ– दाइ, साम्राज्ञीले साइन गर्नु अघिल्लो मिनेटसम्म मलाई उनले काम गर्छिन् भन्ने लागेको थिएन,” डा. कपिल सुनाउँछन्, “जितुको आशंका पनि सही थियो, कारण छक्का पञ्जा आफैँमा ब्रान्ड थियो । त्यसमाथि दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, जितु स्वयं हुन्थे । र पनि उनले अफर स्वीकार गरेकी थिइनन् ।”
डा. कपिलले बुवालाई भने– बुवा मैले हिरोमा जितुलाई लिएँ ।
भोलाले भने– गुड सेलेक्सन ।
जितु आफू सरप्राइजमा परेको पल सम्झिन्छन् । सुदीपले कथा सुन्न भनेर बोलाएका थिए । डा. कपिलले पूरै कथा सुनाए । जितुलाई लाग्यो, ‘मलाई पूरै कथा किन सुनाए ?’ उनले सोचे, ‘म कमेडियन, काकाको रोलका लागि सुनाएका होलान् ।’
“जब डा. साबले यो फिल्मको मेन हिरो ह्यारी तपाईं हो भनेर सुनाउनुभयो, म छक्क परेँ । होइन होला, दाइ पनि जिस्काउनुहुन्छ भनेँ,” जितु भन्छन्, “उहाँले होइन, तपाईंलाई हेरेर लेखेको तपाईं नै खेल्नुपर्छ भन्नुभयो ।”
स्टोरी नौलो थियो । र, राम्रो पनि । पहिलो ड्राफ्ट हो, थप काम गरेपछि थप राम्रो बन्छ भन्ने जितुलाई लाग्यो । “बाटोमा म सोच्दै गएँ । म गाउँले केटो हिरो । कथाले सहरमा बस्ने खानदानी सम्भ्रान्त परिवारकी छोरी मागेको थियो । जसमा साम्राज्ञी छनोट भएकी थिइन् । कथाअनुसार त पात्र चयन ठिक छ,” जितु भन्छन्, “दीपकजीसँग त सिनेमा नखेलेको मान्छे कसरी मसँग खेल्नुहोला भन्ने लाग्यो । त्यसपछि म भन्थेँ– उहाँ मुडी मान्छे, भोलि नखेल्नु होला, त्यसैले कन्फर्म गरिहाल्नुपर्यो दाइ ।”
डा. कपिल साम्राज्ञी कन्फर्म भइसकेको बताउँथे । जितु पत्याउँदैन थिए ।
साम्राज्ञीलाई डा. कपिलले पहिला नै चिनेका थिए । उनले भने, म सिनेमा बनाउँदै छु, खेल्नुपर्छ ।
उनले भनेकी थिइन्, ‘हुन्छ दादा ।’
एक दिन उनले कथा सुनाए । कथा सुनाउन थालेको १० मिनेटमै साम्राज्ञीले भनिन्, ‘दाइ, फेन्टास्टिक । म काम गर्छु ।’
डा. कपिलले सोधे, ‘तिमीलाई हिरो को ?’
‘जो भए पनि हुन्छ दादा ।’
‘मलाई थाहा छ हिरो को भनेर ।’
साम्राज्ञीले सोधिन्, ‘को ?’
‘जितु नेपाल ।’
साम्राज्ञीले एक छिन सोचिन् र भनिन्, ‘को ?’
फेरि सोधिन्, ‘को ?’
‘जितु नेपाल ?’
अनौठो भावभंगीमा सोधिन्, ‘हाम्रो जितु दा ?’
एक छिन घोरिएर उनले भनिन्, ‘बबाल हुन्छ दाइ ! गज्जब कास्टिङ हुन्छ ।’
जितु पारिवारिक सल्लाह सुनाउँछन् । घरमा गएर श्रीमतीलाई सोधे– यस्तो अफर आएको छ, के गर्ने होला ? स्पाम डोनेसनको स्टोरी खेल्ने होला र ? मलाई त कस्तो कस्तो लागिरहेको छ । श्रीमतीले भनिन्, ‘भद्धा तरिकाले देखाएन भने त ठिक छ त, के भयो र ?’ श्रीमतीले हौसला दिइन् । जितु ढुक्क भए । तर, साम्राज्ञी खेल्नेमा उनले पनि संशय प्रकट गरिन् । कारण, उनले पनि थाहा पाएकी थिइन्, ‘छक्का पञ्जा’ नखेलेको ।
खेल्ने त भए, तर चुनौती थियो जितुलाई । उनी बेलाबेलामा सोध्थे– डाइरेक्टर साब म गर्न सक्छु त ? म त कमेडियन पो हुँ त ?
डा. कपिल भरोसा दिँदै भन्थे– तिमीले चिन्ता लिनु पर्दैन, म गराउँछु ।
डा. कपिलको टिमले फाइनल ड्राफ्ट स्क्रिप्ट तयार पार्यो । जितुलाई सुनाउन बोलाए । पहिलाको स्क्रिप्ट सुनेर दुई पेज सुझाव बोकेर उनी कपिलको अफिस पुगे ।
कपिलले भने, ‘पहिला स्क्रिप्ट सुनौँ, पछि चित्त नबुझेको थपौँला । तपाईंको सुझाव पनि राखौँला ।’
दुई घण्टा लगाएर स्क्रिप्ट सुनेपछि जितुले भने– दाइ, चाहिँदैन मेरो सुझाव । करिब–करिब मैले लेखेका सुझाव समेटिइसकेका रहेछन् ।
“कसरी कस्तो संयोग मिल्यो, त्यो मलाई थाहा छैन । तर, मैले पहिला सुन्दा यो क्यारेक्टरको सेन्टिमेन्ट यस्तो भइदिए हुन्थ्यो, यहाँ यसरी ट्रिटमेन्ट गर्न पाए हुन्थ्यो भन्ने जहाँजहाँ लागेको थियो, त्यहाँ त्यसरी नै करेक्सन गरेको पाएँ,” जितु भन्छन्,” यस्तो संयोग कसरी भयो ? म अहिले पनि सम्झँदा छक्क पर्छु । त्यो कागज नै मैले निकाल्नु परेन ।”
“जितु र धैर्यता भन्ने कुरा सँगसँगै जाँदैन क्या !,” डा. कपिल बोलिरहेका हुन्छन्, छेउमै रहेका जितु मजाले हाँस्छन् । कपिलको पनि हाँसो मिसिन्छ, “जितु र धैर्यता भन्ने कुरा सँगै जाँदैन थियो, त्यो हामीले वर्कसपमा छुट्ट्यायौँ ।” थोरै बोल्ने, ठहर गरेर बोल्नेबारे वर्कसपमा प्राक्टिस गरेको डा. कपिल स्मरण गर्छन् ।
सिनेमा त जितुले थुप्रै गरे, तर कतै हिरोको साथी कतै मात्र कमेडियन । ‘छक्का पञ्जा’ नेपालकै सर्वाधिक हिट सिनेमाको सिरिज, त्यसमा पनि जितु थिए । सहायक रोलमा थिए । उनी ‘छक्का पञ्जा’मा छ न त थिए, तर कमेडी भन्नेबित्तिकै त्यहाँ स्वाट्टै केदार घिमिरे आउँथे । हिरोइजममा दीपक छँदै थिए । जितु चेपुवामा परिरहेका थिए । दुई पात्रको बीचमा चेपिएर उनले जेनतेन आफ्नो अस्तित्व बचाउँदै आएका थिए ।
‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’मा उनी इमोसनल रोलमा पनि थिए । उनलाई इमोसनल रोल मन पर्ने भएकाले दीपकले पनि त्यहीअनुसार लेखेको जितु स्मरण गर्छन् ।
‘ह्यारी कि प्यारी’मा जितु हिरो नै भए । हिरो त भए, तर दिइएको जिम्मेवारी पूरा गर्न सकौँला वा नसकौँला भन्ने भयले उनलाई चिमोटिरहेको थियो । भनेअनुसार काम भयो कि भएन भनेर उनलाई तनाव भइरहन्थ्यो ।
अघिल्ला सिनेमामा उनी सहअभिनेता हुन्थे । जिम्मेवारीको बोझ अर्कैले लिएको हुन्थ्यो । प्रायः सिनेमा खेल्यो, सकियो ।
यो सिनेमा आफ्नै काँधमा छ । त्यसैले फरक अनुभव गरिरहेका छन् उनले । निर्देशक समेत रहेका डा. कपिलले नेपालदेखि मुम्बईसम्म गएर खर्च गरेको उनी आफैँले देखेका छन् । त्यसले जितुलाई झस्काइरहन्छ । चलचित्र चल्ला÷नचल्ला भन्ने तनाव दिइरहन्छ । तर, सिनेमा दर्शकले मन पराउनेमा उनी ढुक्क छन् ।
फिल्म रिस्कको बिजनेस हो भन्ने डा. कपिलाई भलिभाँती थाहा छ । रिस्क नलिएसम्म सिनेमा चल्दैन । तर, रिस्क लिँदैमा सिनेमा चल्छ भन्ने पनि छैन । त्यसैले त उनी भन्छन्, “वास्तवमा भन्ने हो भने सिनेमा बनाउने फर्मुला त छ, तर यो फर्मुलाले काम गर्छ नै भन्नेचाहिँ हुँदैन ।”
सिनेमा बनाउँदा राम्रो बनाउनुपर्छ भन्नेमा कपिल सचेत थिए । त्यसैले उनी प्रोस्ट प्रोडक्सनका लागि मुम्बई पुगे । कलर, साउन्ड फोली, प्रप्स, अभिनय कतै पनि आफूले कम्प्रमाइज नगरेको उनी बताउँछन् । उनले बंगाली, पञ्जाबी, मराठी र हिन्दीमा सिनेमा डबिङ गरेका छन् । यही फेब्रुअरी १६ मा दुबईमा आफ्नो सिनेमाको ग्रान्ड प्रिमियर गर्दै छन् । ‘केजीएफ’कै वितरकले सिनेमा वितरण गरेकाले पनि उनी ढुक्क छन्, सिनेमाको प्रतिक्रिया नेपालबाहिरबाट पनि राम्रो आउँछ भन्नेमा ।
सेटमा पहिलोपटक हिरो भएर अभिनय गरिरहेका थिए, जितु । कतै त्यही कुरा त बिर्सिनु हुन्न थियो ? जितुलाई प्रश्न ।
म भन्दिछु यो प्रश्नको जवाफ भन्दै कपिल बोले, “जितुको राम्रो बानी उसले हरेक सिनपछि आएर सोध्ने– दाइ, कस्तो भइरहेको छ ? राम्रो भइरहेको छ ? ऊ अभिनय त गरिरहेको थियो, तर बेलाबेलामा म हिरो हुँ भन्ने भुलिरहेको म देख्थेँ । त्यसैले म बेलाबेलामा उसलाई छेउमा बोलाएर भन्थेँ– तिमी यो सिनेमाको हिरो हौ भन्नेचाहिँ नभुल । हिरोजस्तो बिहेव हुनुपर्छ । हिरोजस्तो गरेर बोल्नुपर्छ ।”
भलै, जितुभित्र अथाह प्रतिभा भएको उनी बताउँछन् । हनुमानलाई आफ्नो शक्तिबारे जानकारी नभएजस्तो उनलाई आफ्नो क्षमता थाहा नभएको भन्दै बेलाबेला आफूले सम्झाउने गरेको डा. कपिल सुनाउँछन् । “मलाई धेरैले जितुलाई लिएर रिस्क लिएको भन्छन् । तर, वास्तवमा त्यस्तो होइन, म लक्की थिएँ । त्यसैले जितुलाई एक्सप्लोर गर्न पाएँ,” उनी भन्छन् ।
जब डा. कपिल मुम्बईमा पुगे, त्यहाँको प्रतिक्रिया पाएर उनी दंग परे । मुम्बईको प्राइम फोकसमा पुगेपछि उनले प्राविधिक छानीछानी काम गरे । मनोजलाई कलर गर्न लगाए । उनले कलर गरेका सिनेमा ‘बजरंगी भाइजान’, ‘दोस्ताना’, ‘ब्ल्याक’, ‘ओम शान्ति ओम’ आदि हुन् । ‘तारे जमिन पर’, ‘गजनी’ मिक्स गर्ने प्राविधिकले ‘ह्यारी कि प्यारी’ मिक्स गरे । अक्सर साउन्ड इन्जिनियरले बिनासाउन्ड फाइनल कलर हेर्छन् । तर, मनोजले साउन्डसहित सिनेमा हेर्ने आग्रह गरे । हेरेपछि भने– बहुत अर्ग्यानिक फिल्म ।
“भारतका टपटप सिनेमामा काम गरेका प्राविधिकले राम्रो भनेपछि पक्कै पनि केही त होला सिनेमामा, यसले हामीलाई आत्मविश्वास बढाएको छ,” डा. कपिल भन्छन् ।
निर्देशकले सिनेमामा देखिने चिया पसलमा ‘एक नम्बरको पाखे’ र ‘साथी’को पोस्टर टाँसेका छन् । त्यो आफूले बुवाले बनाएको सिनेमा भएकाले सम्मानस्वरूप राखेको उनी बताउँछन् । पृष्ठभूमिमा उनले बुवाकै गीत राखेका छन् । डा. भोला रिजालका अधिकांश सिनेमामा करिष्मा मानन्धर हुने गरेकाले उनको सम्मानमा विनोद मानन्धर र करिष्माको फोटो ल्याएर जितुको बुवाआमा बनाइदिएका छन् । बुवाको इन्सिडेन्ट चाहिएको थियो । जाडोमा बुवालाई लगेर अभिनय गराए । साम्राज्ञीको आमाको क्यारेक्टरमा डा. कपिलकी आमा सरला छिन् ।
“मैले खोजेजस्तो क्यारेक्टर नपाएपछि आमालाई राखेको हुँ । तर, उहाँ कलाकार होइन । भनेजस्तो क्यारेक्टर नपाएपछि मैले आमालाई अभिनयका लागि करिब तीन साता तालिममा राखेँ,” उनी भन्छन्, “सकेसम्म अभिनय सिके पनि आमालाई नराख्ने भन्ने थियो । तर, छायांकनमा जाने अन्तिम मिनेटसम्म पनि नपाएपछि उहाँलाई फिक्स गर्नुपरेको थियो । तर, उहाँ कलाकार नभएकाले डाइलग डेलिभरी चुस्त नभएपछि गौरी मल्ललाई आग्रह गरेर डबिङ गर्न लगाएका हौँ ।”
उनी अगाडि थप्छन्, “भोलि म रहूँला/नरहूँला, मेरो बुवा–आमा रहनुहोला/नहोला । उहाँहरूका लागि मेरो तर्फबाट यो सम्मान पनि हो ।”
पेसाले डा. कपिल दन्त चिकित्सक हुन् । तर, आफ्नो पेसालाई थाती राखेर एक्सन/कटको दुनियाँमा आएका छन् । बुवाको बीआर प्रोडक्सनलाई अगाडि बढाउने योजनामा छन् । उत्साह थप्न ‘ह्यारी कि प्यारी’ चल्नुपर्नेछ । जसमा उनलाई भरोसा पनि छ ।