
न्युयोर्क । रक एन्ड रोल दुनियाका लिजेन्ड गायक एल्भिस प्रिस्लेकी पूर्वपत्नी प्रिसिल्ला प्रेस्लीले आफ्नी स्वर्गीय पुत्रीको वसियतनामाको वैधानिकताविरुद्ध कानुनी चुनौती दिँदै मुद्दा दायर गरेकी छन् ।
प्रिस्लेकी एक मात्र सन्तान ५४ वर्षीया लिसा म्यारी प्रिस्लेको दुई साता अघि हृदयघातको कारण मृत्यु भएको थियो ।
अदालतको याचिका पत्रले सन् २०१६ मा प्रिसिल्लालाई इस्टेटका ट्रस्टीबाट हटाउन लिसा म्यारीको वसियतनामा गरेको संशोधनलाई विवादास्पद बनाएको छ ।
प्रिस्लीका वकिलहरूका अनुसार त्यस कागजातमा लिसाकी आमाको नामको हिज्जे गलत छ भने हस्ताक्षर पनि अस्वाभाविक देखिन्छ । लस एन्जेल्सको उच्च अदालतमा मुद्दा दायर गर्ने क्रममा वकिलहरूले ७७ वर्षीया प्रिस्लीले आफ्नी छोरीको मृत्युपछि मात्रै सन् २०१६ को तथाकथित कागजात संशोधनबारे जानकारी पाएको पनि उल्लेख गरेका छन् ।
उनलाई ट्रस्टीबाट हटाइनुको अर्थ उनको छोरीको सम्पत्तिमाथि कुनै नियन्त्रण नरहनु हो । उक्त इस्टेटको मूल्य भने स्पष्ट गरिएको छैन ।
बीबीसीबाट ।