
काठमाडौं । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट जनकपुरधाम ल्याइएको देवशिला लिएर नेपाली कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा ४०० जनाको टोली गोखरपुर पुगेको छ । आइतबार शिला पूजा गरेर सोमबार बिहान अयोध्या पठाइएको थियो ।
मिथिला परम्पराअनुसार शिलासँगै जनकपुरधामका तर्फबाट मिठाइ, लत्ताकपडालगायतका कोसेलीसहित पाहुर पनि पठाइएको छ । जनकपुरबाट भारतको मुजफ्फरपुर हुँदै गोरखपुरसम्म पुग्दा भारतीय हिन्दुहरुले ठाउँ ठाउँमा रोकेर पूजा गर्दै शिला ढोग्ने र नेपालबाट शिला लिएर गएको टोलीलाई पनि सम्मान दिइरहेका छन् । शिला बुधबार अयोध्या पुर्याइने छ ।
गत साउनमा अयोध्यामा नेपालको कालीगण्डकीबाट शिला लगेर रामको मुर्ति बनाउने अनि जनकपुरधामका तर्फबाट बनाइएको धनुष राख्ने सहमति गरेका निधिकै नेतृत्वमा करिब ४०० जनाको टोली भारतको अयोध्या गएको छ । शिला लिएर कांग्रेस नेता निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलगायत जनकपुरधामबाट सयौँ सहभागी अयोध्या गएका छन् ।
सोमबार जनकपुरबाट प्रस्थान गरेको शिला मुजफ्फरपुर पुग्दा स्थानीयले स्वागत तथा पूजाअर्चना गरेका छन् । मंगलबार बिहान मुजफ्फरपुरबाट हिँडेको टोली गोरखपुर पुगेको छ । गोरखपुरबाट बुधबार बिहान अयोध्या पुगेपछि नेपालका तर्फबाट कांग्रेस नेता निधिले शिला हस्तान्तरण गर्ने कार्यक्रम रहेको टोलीमा सहभागी पत्रकार रामजी दाहालले जानकारी दिए । शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकीमा माघ १ गते क्षमा पूजा गरिएको थियो ।

म्याग्दीको बेनी नगरपालिका ६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकालिएको थियो । १८ र १६ मेट्रिक टन तौल भएका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिला छन् । गत साउनमा भारत भ्रमणमा जाँदा निधिले अयोध्या राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गरेका थिए । त्यही भेटमा निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए ।
जनकपुरधामस्थित जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो । त्यसपछि नेपाल फर्किएका निधिले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिएका थिए ।
रामको मूर्ति निर्माणका लागि कालीगण्डकीको शीला उपलब्ध गराइदिन अयोध्यास्थित राम मन्दिर निर्माण समितिबाट प्रस्ताव आएपछि त्यसका लागि सहजीकरण गरेका कांग्रेस नेता निधिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेतासँग कुराकानी गरेका थिए । पुस ३ गते बसेको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो ।