
विराटनगर । विराटनगर महानगरपालिका–८ मा रेखा राजवंशीले सञ्चालन गर्दै आइरहेकी चिया पसलमा बिहानै लघुवित्त समूहका सदस्यहरु आए । एक जनाले ‘यो महिनाको किस्ता किन नतिरेको ?’ भन्दै विवाद गर्न सुरु गर्न थाले । अर्की सदस्यले ’तिम्रै कारण हामीलाई बैंकले समाउन लागिसक्यो’ भनेर थर्काइन् ।
उनीहरुको कुरा सुनिरहेका रेखाले भनिन्, “के गर्नु त केहीगरी पनि मैले पैसा जुटाउनै सकिन, अब भएको गहना लिएर जाऊ ।”
सदस्यहरुले एक आपसमा मुखामुख गरे । अब के गर्ने भन्ने विषयमा एकापसमा छलफल गर्न थाले । अनि “हुन्छ हामी तिम्रो गहना सुनपसलमा जाकटी राखेर पैसा झिक्छौँ त्यसैले किस्ता लिन्छौं” भन्दै समाधान निकाले ।
रेखाले बाकसबाट सानो थैली निकालिन् अनि जिम्मा लगाउँदै भनिन्, “लु यही लगेर जाकटी राखेर पैसा लिनू ।” रेखाले आफ्ना र छोरीहरुका पाउजू र अरुसमेत १० तोला चाँदीको गहना जिम्मा लगाइन् । त्यसबेला उनको र छेवैमा उभिएकी छोरीको आँखा रसाएको देखिन्थ्यो । “जाकडमा आउने पैसाले नपुग्ने भए त्यसलाई बिक्री गरिदिनू,” रेखाले मन गह्रौँ बनाएर आफ्नै समूहका सदस्य समक्ष आग्रह गरिन् ।
रेखाले हरिहर चौकमा सानो चिया पसल चलाएकी छन् । जाडोमा भक्का, आलुचप, कचौरी र चनाभुजा नास्ता बिक्री गर्छिन् । लघुवित्त संस्थामा लागेर ऋण उठाउन थालेको आठ वर्ष भयो । तर, पछिल्ला दिनहरुमा भने उनलाई नियमित किस्ता बुझाउन निक्कै धौ–धौ पर्ने गरेको छ । चिया पसलबाट मुस्किलले दैनिक ४०० कमाई हुन्थ्यो, हिजोआज त्यो पनि हुन छाडेको छ ।
‘‘के गर्नु पहिले जस्तो व्यापार छैन, कोरोनायता त हामी सानो पुँजी भएका र गरिखानेलाई लुघुवित्तको किस्ता बुझाउनै पुग्दैन,” उनले भनिन्, “यस्तै अवस्था रहिरहे त हामी गरिब भोकभोकै मर्नुपर्ने दिन आउन टाढा छैन ।”
रेखाकाअनुसार लघुवित्तको किस्ता तिर्न नसकेकै कारण त्यही चोकमा चियानास्ता पसल गर्ने उनकै समुदायकी अर्की महिलाले तीन दिनअघि मात्र व्यवसाय बन्द गरेर बसाईं हिंडिन् । भारतको दिल्लीमा काम गर्न लगिदिने भन्दै श्रीमान्लाई कस्मिर पुर्याए ।
श्रीमतीले विराटनगरमा प्रहरीमा निवेदन दिएपछि जसोतसो श्रीमान् २० दिनपछि नेपाल फर्किए तर अहिले उनी बेरोजगार छन् । “हामी जस्ता सामान्य मानिसलाई गरिखान नै कठिन भइस्क्यो,” उनले भनिन् ।
रेखाका चार छोरी र दुई छोरा छन् । जेठीबाहेक सबै छोरी विद्यालय जान्छन् । सन्तानको लालनपालनदेखि दैनिक खर्च जुटाउन श्रीमान्ले सिटी रिक्सा चलाउँछन् । तर, बजारमा हिजोआज धेरै रिक्सा चल्ने हुँदा कमाई त्यति छैन । रिक्साको अलग किस्ता बुझाउनु पर्छ ।
रेखाले पछिल्लो समय त्यही सिटी रिक्सामा ब्याट्री फेर्न र मर्मत गर्नुपर्ने भनेपछि उनले लघुवित्तबाट ऋण लिएकी थिइन् । लघुवित्तको ऋण उनलाई अहिले भारी भएको छ । “लिएको ऋण तिर्न नसकेपछि गहना नै माया मानुपर्ने भयो,” उनले भनिन् ।
दुई दिनअघि मात्र विराटनगरमा लघुवित्तको ब्याज शुल्क घटाउन र कठिनमा परेकाहरुलाई राहत दिलाई दिन माग गर्दै प्रदर्शन समेत भएको थियो ।