site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि लामिछानेको डिल्लीबजार कारागार स्थानान्तरण प्रक्रिया के हुँदै छ ?
फाइल तस्बिर ।

काठमाडौं । सहकारी ठगी प्रकणमा पुर्पक्षका लागि रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई डिल्लीबजार कारागार सार्ने प्रक्रिया रोकिएको छ ।

लामिछानेले अघिल्लो साता नै रूपन्देही कारागारबाट डिल्लीबजार कारागार स्थानान्तरणका लागि निवेदन थिएका थिए । तर, कारागार व्यवस्था विभागले उनको जेल सरुवा प्रक्रिया अघि नबढेको जनाएको छ ।

Argakhachi Cement Island Ad

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आफूहरूलाई निवेदन नै प्राप्त नभएको बताए । ‘‘उहाँले विभागमा निवेदन दिनुभएको होइन, रूपन्देही कारागारमा दिनुभएको हो । त्यो निवेदन विभागमा आइपुगेको छैन । हामीले जेल सरुवाबारे कुनै प्रक्रिया थालेका छैनौँ ।’’

रास्वपा पार्टी कार्यालयका सचिव प्रमोद न्यौपानेले लामिछानेले कारागार स्थानान्तरणका लागि एक साताअघि नै निवेदन दिए पनि अहिलेसम्म कुनै प्रक्रिया नबढेको बताए ।

‘‘निवेदन दिएको त एक साताअघि नै हो । तर, अहिलेसम्म्म किन प्रक्रिया अघि बढेन, हामीलाई थाहा भएन,’’ उनले भने ।

रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटबल इजलासले थुनामा राख्न आदेश गरेपछि गएको चैत २२ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई रूपन्देही कारागार चलान गरिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पनि जेठ ९ गते उच्चकै आदेश सदर गरेको थियो ।

सुप्रिमबाहेक लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा सहकारीको रकम ठगी मुद्दा अदालतमा विचाराधीन छ । पर्साको सानोपाइला सहकारी ठगीको मुद्दा भने दर्ता हुन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्