
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आजदेखि पोखरामा बोर्ड बैठक बस्न लागेको छ । निकै चासोका साथ हेरिएको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकमा मुख्य एजेन्डाका रूपमा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा र भारतीय कम्पनीसँगको सम्झौताबारे छलफल हुने भएको छ ।
बैठकमा क्यानको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्ट्ससँगको आकस्मिक दोस्रो संशोधन र सम्झौताका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदलको प्रतिवेदनबारे छलफल हुने भएको हो ।
क्यानले नाबालिका किशोरीमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथिको निलम्बन फुकुवा गर्नका लागि बोर्डमा प्रस्ताव पेस गर्ने जनाएको छ । सन्दीप अहिले धरौटीमा रिहा भएका छन् । अदालतबाट अन्तिम फैसला आउन बाँकी छ ।
साथै क्यान आफैँले आयोजना गरेको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले पूरा पारिश्रमिक नपाएको, पुरस्कार रकम नपाएको, क्यानले पाउनुपर्ने रकम नपाएको, फिक्सिङमा व्यवस्थापनकै व्यक्ति संलग्न रहेकोजस्ता घटना बाहिर आएपछि पोखरामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।
क्यानकै सात सदस्यले माघ १५ गते कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यस्तै, नेपाल ट्वान्टी–२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्तविक्रम मल्ल, सदस्यहरू दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहलुवालियालाई पनि कारबाहीको दायारामा ल्याउनुपर्ने उनीहरूको माग थियो ।
सीआईबीले ‘नेपाल क्रिकेट संघ नै आयोजक भई सञ्चालन गर्ने नेपाल टी–२० क्रिकेट लिगले नेपालको प्रतिनिधित्व गर्ने, राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छविमासमेत प्रभाव पार्न सक्ने महत्त्व बोकेको खेलको रणनीतिक तथा व्यावसायिक साझेदार र फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, विगतमा क्रिकेट खेलसँगको आबद्धता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने क्षमतालगायतका विषयमा बेटिङ गर्ने समेतको कार्यमा उचित ध्यान दिन नसकेको जनाएको छ ।
त्यस्तै, सीआईबीले मुख्य प्रायोजकको रूपमा रहेको ‘वान एक्स ब्याट’ले खेलकुदसँग सम्बन्धित समाचारका लागि तथा पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भन्ने दाबी गर्ने गरेको, निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेको तर, हालसम्म बजारमा बिक्री वितरणका लागि कुनै पनि सामग्री उपलब्ध नभएको, केही फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको स्रोत नखुलेको तथा विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको जनाएको छ ।
त्यस्तै, राखेपले क्यानका सरोकार पक्षहरूबाट प्रतियोगिता आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौतालगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद ऐन, २०७७ को दफा २८ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकाले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।
त्यस्तै, प्रचलित ऐन, नियमबमोजिम प्रक्रिया नपुर्याएर गरिएको नेपाल टी–२० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न वाञ्छनीय भएको ठहर गरेको छ ।
क्यानको बोर्ड बैठक मंगलबार (माघ १७) पोखरामा बस्दै छ । तर, सोमबार साँझमात्र आफूहरूले बैठकमा प्रस्तुत हुने एजेन्डा पाएको एक सदस्यले बताए । क्यानको बोर्ड बैठकमा १७ बुँदे एजेन्डामाथि छलफल हुनेछ ।
क्यान बोर्ड बैठकका एजेन्डाहरू :