site stats
अन्तर्वार्ता
प्रतिपक्षको हैसियत पनि नराख्ने कांग्रेसले राष्ट्रपति माग्न सुहाउँछ ?

भर्खरै सम्पन्न संसदीय निर्वाचनमा नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी भएर पनि ऊ प्रतिपक्षमा पुगेको छ । अनि दोस्रो हैसियत पाएको नेकपा (एमाले) सत्ताको चाबी हातमा लिएर बसेको छ । कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने समझदारी भएर ढुक्क हुँदा एमालेले धोका दिएको आरोप पनि लागिरहेको छ ।

अघिल्लोपटक सबैभन्दा ठूलो पार्टी भएर प्रतिपक्षमा बस्दा नौ महिना संसद् अवरोध गरेको एमाले अहिले ठूलो पार्टी कांग्रेसबाट कस्तो भूमिकाको अपेक्षा गर्दै छ ? वर्तमान सत्ता गठबन्धन कति समय टिक्ला अनि कांग्रेस र एमाले दुई ठूला दलबीच सत्ता साझेदारीको सम्भावना बाँकी छ कि छैन ? यिनै प्रश्नमा केन्द्रित रहेर हामीले पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका एमाले उपमहासचिव विष्णु रिमालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, बाह्रखरीका लागि माधव ढुंगेल, रमेश वाग्ले कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः

एउटा गठबन्धन भत्किएर नयाँ सत्ता गठबन्धन बनेको छ । यसको भविष्य कस्तो रहला ?

NMB Bank
Dabur nepal
Agani Group

गठबन्धन पाँच वर्ष जान्छ । हामीले पाँच वर्षको योजनामा सरकार बनाएका हौँ । नेकपा (माअ‍ोवादी केन्द्र) र नेकपा (एमाले)का बीचमा अवधिको पहिलो भाग माओवादी केन्द्र र पछिल्लो भाग नेकपा (एमाले)ले नेतृत्व गर्ने गरी सहमति भएको छ । संख्या पर्याप्त छ । टिममा कुरा मिलेको छ । त्यसले गर्दा पाँच वर्ष सरकार चल्छ । 

कांग्रेसले विश्वासको मत दिएपछि फरक प्रकारको वस्तुस्थिति निर्माण भएको विश्लेषण हुँदै छ नि ?

Global bank

त्यो छैन । नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा केही गर्न सकिन्छ कि भनेर नेपाली कांग्रेस प्रवेस गर्‍यो । तर, गल्ती गर्‍यो, कुनै उद्देश्यका साथ आएको थियो भने । उद्देश्य थिएन भने त भोट किन खेर फाल्ने भनेर पुरानो सहयात्रीलाई भोट हालेको होला । 

किनभने एमालेले गठबन्धन टुटाउन खोजेको हो । गठबन्धन नटुटेसम्म एमालेले केही पनि गर्न सक्दैनथ्यो । उहाँहरुले गठबन्धन जोगाउन सक्नुभएन । त्यसैले छटपटी भयो, भोट हाल्नुभयो । त्यति मात्रै हो, त्योभन्दा बढी केही पनि होइन ।

त्यसो भए कांग्रेस अब यसअघिको एमालेको पोजिसन आइपुग्यो ?

एमाले त त्यसरी फाइदा लिउँला भनेर बस्दै बसेन । एमाले त चुप लागेर बाहिर बसिरह्यो– जनादेश, जनादेश भनेर । कांग्रेसलाई त त्यो सुगमता पनि छैन । जनादेशमा कांग्रेस प्रमुख पार्टी हो । सरकार बनाओस् भनेर हामीले छोडेकै हो ।

यहाँसम्मकि हामीले त कांग्रेसलाई स्थिरताका लागि तिमीहरु नै सरकार चलाउ, समर्थन गर्छौँ पनि भनेको हो । हाम्रो कुनै आकांक्षा थिएन । कांग्रेसलाई रुचि भएन, रुचि नभएपछि जे हुनुपर्ने त्यही भएको छ ।

विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भनेको एउटा कुरा– सत्ता गठबन्धनका दलभित्र थुपै मतभेद छन् । सत्ता बाहिर रहेका दलहरुसँग यसअघिका सहमति कायम छन् । यसलाई कत्तिको ख्याल गर्नुभएको छ ? सँगै संसद् विघटनको जिम्मा गठबन्धनले लिँदैन पनि भन्नुभएको छ उहाँले । 

विगतमा भएका सहमति कार्यान्वयन गर्ने तहमा उहाँ हुनुहुन्न । किन भने उहाँले नयाँ समीकरण बनाउनुभएको छ ।

अहिलेको संयुक्त सरकार नयाँ समीकरणमा बनेको हो । यो समीकरणअन्तर्गत हामीले न्यूनतम साझा कार्यक्रम बनाएका छौँ । त्यो न्यूनतम साझा कार्यक्रम अन्तर्गत नेपाल सरकार अगाडि रहन्छ । त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको छ । त्यो विषयमा द्विविधा रहनुपर्ने कुरै रहेन ।

न्यूनतम साझा कार्यक्रम जारी गर्ने दलहरुका बीचमा सैद्धान्तिक र कतिपय विषयमा वैचारिक विषयमा पनि मतभेद छ । त्यो हामीले न्यूनतम साझा कार्यक्रमा राखेका छैनौँ । किनभने, विभिन्न खालको गतिशीलता भएका सातवटा दलहरु यो गठबन्धनमा छन् । कसैले पनि आफ्नो वैचारिक धार छोडेर गठबन्धन बनाएको होइन । हामीले सरकार बनाउँदा जम्मा तीनवटा कुरा भनेको, हाम्रो अध्यक्षले तीनवटा कुरा भन्नुभएको छ :

–पहिलो कुरा हामी स्थिरताका लागि योगदान गर्न चाहन्छौँ । हाम्रो फर्मुला के थियो भने स्थिरताका लागि सबैभन्दा भरपर्दो शक्ति नेपाली कांग्रेस हुनसक्छ भन्ने थियो । किनभने, माओवादी केन्द्रसँग ३२ सिट मात्र भएकोले माअ‍ोवादी केन्द्रसँग एमालेमात्र मिल्दा त ११० मात्र हुन्थ्यो । त्यसबाट त स्थिरता हुँदैनथ्यो । त्यसको लागि अरु दल लिनुपथ्र्यो । सबै दल जम्मा गर्दा के हो के हो भन्ने स्थिति आउला भनेर हामीले त दुईवटा दलहरु मिलेर जाउँ भनेका थियौँ । त्यसमा कांग्रेसलाई रुचि भएन । नभएपछि त अर्को बाटोमा जानुपर्यो ।

गठबन्धन टुट्दैनथ्यो र त्यसमा उहाँहरुले ६/७ सिट थपेर सरकार बनाउनुहुन्थ्यो भने त्यसमा हामी बोल्दैनथ्यौँ, विपक्षमा बस्थ्यौँ । त्यसमा हामी स्पष्ट थियौँ । जब त्यो गठबन्धन पनि टिकेन र गठबन्धनलाई जनताले बहुमत पनि दिएनन् । नयाँ ढंगले मिलेर जाउ भन्ने जनादेश आयो । त्यो जनादेश पाइसकेपछि हामीले न्यूनतम कुराहरु के के हुनसक्छ त मिल्ने भनेर जाँदा अहिलेको विषय बनाएका हौ– न्यूनतम साझा कार्यक्रम । 

वैचारिक हिसाबले धेरै निकट भएको कुन पार्टी छ भन्यो भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छ । यो दुईवटा पनि अहिले एकता हुनेवाला छैन । किनभने हामी पहिला एकता गरेर उत्साहित भएनौँ । दुवै पार्टीले क्षति बेहोरेको महसुस गरेको होला । त्यसो भएकाले हामी सहकार्यमा छौँ ।

सहकार्यका लागि जुन न्यूनतम चिजहरु बनाइएको छ, त्यसमा कसैको विमति छैन । त्यसो भएको हुनाले अहिलेको सत्ता समीकरणको दृष्किोण चाहिँ के होभन्दा जे हामीले सहमति बनाएका छौँ, २० वटा बुँदामा त्यसलाई कार्यान्वयन गर्दै अगाडि जाने र नीति कार्यक्रम बनाउँदा पनि यही प्रस्थानबिन्दुका आधारमा नीति अघि जाने भन्ने हो ।

विगतमा एमालेको विपक्षमा बनेको गठबन्धनले के के सहमति भएको थियो । त्यो चुनावपछि समाप्त भयो । अहिले नयाँ जे बनाएका छौँ, त्यो कायम रहन्छ ।

पहिलाको सहमति कायम छ भन्ने उहाँको भनाइ चाहिँ ?

पहिलाको भारी कसैले बोक्ुनपर्छ कि पर्दैन भन्दा बोक्नु पर्दैन । एमालेको मान्यता अरुलाई हामी थोपर्दैनौँ । एमालेले सहमत भएका विषय अघि बढाउन चाहेको छ ।

त्यो भनेको सुशासनलाई अघि बढाउने हो । मैले अघि नै भनेको विषय एउटा स्थिरता थियो, अर्को अर्थतन्त्रमा जुन क्षयीकरण छ, त्यसलाई रोक्न चाहेका थियौँ । अहिलेको साझा न्यूनतम कार्यक्रमबाट चाहिँ तीनवटै कुरालाई सम्बोधन गर्न सकिन्छ भन्ने हो । त्यही मान्यतालाई कायम राख्ने प्रयत्न गर्छौँ र संयुक्त सरकारलाई अघि बढाउँछौ । 

हाम्रो संसद्मा ‘लार्जेस्ट पार्टी’ चाहिँ भाग्यमानी हुँदो रहेनछ है ? अघिल्लोपटक एमालेलाई त्यस्तै भयो । योपटक कांग्रेस पनि बाहिरै ...

कांग्रेस वास्तवमा अहिले लार्जेस्ट पार्टी होइन । टेक्निकल्ली मात्र लार्जेस्ट हो । किनभने हामीभन्दा नौ सिट मात्र बढी छ । पपुलर भोटको हिसाबले हामी कांग्रेसभन्दा धेरै अगाडि छौँ । डेढ/दुई लाख भोटले अगाडि छौँ । त्यसकारण कांग्रेसले मन खुम्च्याउनुपर्ने जरुरी नै छैन ।

कांग्रेसलाई त लाभ मिलेको थियो । तर, त्यो लाभको सदुपयोग कांग्रेसले गर्न सकेन । १५/१६ महिना अघि उसले काम गर्दा एमालेले हार्नेगरी काम गर्न सक्थ्यो नि त । उसले त अर्थ मन्त्रालयमा मुसा पसाइपसाइ बिगार्यो । यो गर्नै पर्दैनथ्यो नि । उसले सुशासन गरेको भए त हामी हारिहाल्थ्यौँ नि । हामी त हार्न तयार भएर चुनावमा लागेका थियौँ, एक्लै लडिरहेका थियौँ । अब ढंग नभएको कांग्रेसले गर्छ भनेर कसले विश्वास गर्छन् र ?

त्यसकारण उसलाई नफापेको होइन । उसले त गर्न नजानेको हो । हाम्रोविरुद्ध त केन्द्रित भएको हो नि त । हाम्रोविरुद्ध चौतर्फी हमला नै भएको हो । त्यो स्थिति नदोहोरियोस् भन्ने चाहन्छौँ हामी ।
 
मुलुक सङ्लिसकेको छैन अहिले पनि । अर्थतन्त्र ट्रयाकमा आइसकेको छैन । स्थिरताका सम्भावनाहरुलाई हामीले बल पुर्‍याउनुपर्छ । त्यसकारण एमालेले स्थिरतामा तलमाथि पर्ने कुनै पनि कुरा नहोस् भन्ने सोचिरहेको छ । स्थिरतालाई जोगाउने योजना बनाइरहेको छ ।

राजनीतिक वृत्तमा एउटा भनाइ छ नि– चुनावअघि एमालेले कांग्रेस–एमाले मिलेर जाउँभन्दा देउवाले धोका दिए । चुनाव सकिएपछि एमाले र कांग्रेस मिलेर जाउँ भन्ने प्रस्तावमा भुलाएर ओलीले देउवालाई धोका दिए । धोकाको राजनीति चाहिँ गर्नुभयो होइन दुबै पक्षले ?

यसमा अलिकति करेक्सन गरौँ । मैले अघि सुरुमै भनिसकेको छु यसबारे । कांग्रेसलाई रुचि भएन भन्ने शब्द प्रयोग गरे नि !

त्यो दिन, १० गते १२ बजेसम्म पनि हामी कांग्रेस आउँछ भने कांग्रेसलाई समर्थन गर्छौँ नै भनेर बस्यौँ । यसमा लुकाउनुपर्ने कुनै कुरा छैन । प्रचण्डजी पनि हामीतिर आउन चाहनुभएको होइन । १२ बजेसम्म उहाँ पनि त्यतै हुनुहुन्थ्यो । कांग्रेसलाई प्रचण्डजीलाई प्रधानमन्त्री बनाउनु पनि रुचि भएन, एमालेसँग सहकार्य गर्न पनि रुचि भएन । मलाई त थाहा छ नि त । हाम्रो अध्यक्ष र तत्कालीन प्रधानमन्त्रीले त सीधै कुरा गर्नुभएको हो त फोनमा । 

हामीले भनेकै थियौँ– हामीलाई सरकारमा त्यति मोह छैन । सरकार तपाईँ पूरै चलाउनुस् । सत्ता र सरकार फरक कुरा हो । तपाइँहरुले ख्याल गर्नुभएको छ कि छैन । तपाइँहरुकै मिडियामा मैले बोलेको पनि छु ।

सरकार संचालन जसरी गरे पनि हुन्छ सत्तामा साझेदारी चाहिन्छ । हामीले त्यही नै भनेको हो । हाम्रो अध्यक्षले त्यो बेलाका प्रधानमन्त्रीजीलाई भन्नुभएको के थियो भने राष्ट्रपति र सभामुखमा तपाइँले हामीलाई समर्थन गर्नुस्–सरकार तपाईँ चलाउनुस् । सरकारमा हाम्रो सहभागिता खोज्नुहुन्छ भने चाहिँ हामी ०७६ (३) को सरकारमा आउन चाहँदैनौँ । त्यो त कांग्रेसको सरकार हो । 

कांग्रेसको सरकारमा एमाले त मिसिँदैन । एमालेसित सरकारमा साझेदारी चाहुनुहुनछ भनेदेखि चाहिँ तपाइँसँग थोरै समय छ । पाँच बजेभित्र हामीले संयुक्त रुपमा लेटर पठाउनुपर्ने हुन्छ राष्ट्रपतिसमक्ष । 

दुईवटा पार्टी जम्मा भयो भने बहुमत पुगिहाल्छ । अरु त्यसपछि म्यानेज गरेर जाउँला त्यो हिसावले जाँदाखेरी हामी संयुक्त सरकारमा पनि रहन सक्छौँ । हामीलाई मन्त्रालय के कति भन्ने लोभ छैन । 

हैन हामी ७६ (२) अन्तर्गतकै सरकार चलाउन चाहन्छौँ । सरकारमा तपाइँहरु नआउनुहोस्, सभामुख र राष्ट्रपति चलाए हुन्छ भन्नुहुन्छ भने त्यो पनि ठिक छ हामीलाई । 

कांग्रेस ७६(३)को सरकार बनाउने तयारीमा थियो । त्यो भएपछि एमाले चाहिँदैन, माओवादीलाई निचारेर पनि समर्थन गराइहालिन्छ, बढीमा एउटा सभामुख फ्याक्दिउँला भन्ने त्यो रणनीतिमा थियो जस्तो लाग्छ । त्यही हिसावले हामीले धोका दिएका हैनौ कि कांग्रेसले आलोटालो गरेको हो । 

त्यसो भनेको भए पनि तपाइँहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाइदिनुभयो त ! 

त्यो कुरा म बताइहाल्छु नि ! यहाँसम्मकि प्रचण्ड बालकोट आइसकेपछि पनि हाम्रो अध्यक्षसँग कुरा हुँदा उहाँले भन्नुभा’छ –प्रचण्डजी आउनुभएको छ, उहाँको कुरा सुन्छु । तपाइँले मान्नुभएको छैन, प्रचण्डजीले मलाई प्रधानमन्त्री समर्थन गर्नुस् भन्नुभयो । 

जब प्रचण्डजी आउनुभयो र मलाई प्रधानमन्त्री समर्थन गर्नुस् भन्नुभयो र उहाँले रिपोर्टिङ गर्नुभयो । अघिसम्म देउवाजी ७६(३)मा हुनुहुन्थ्यो । जब प्रचण्डजी सहि गर्दै हुनुहुन्थ्यो देउवाले ल आउनुस् दुबैजना मिलेर राष्ट्रपतिकहाँ जाउँ भन्नुभयो । त्यसपछि त जाने कुरा भएन । त्यही नै हो ।

पछि एउटा कथा हालिएको मैले देखेको थिएँ कि बालुवाटारमा हाम्रो अध्यक्ष केपी शर्मा ओली ३ बजे आउँछु भनेर आउनुभएन भनेर भनियो भन्ने थियो । त्यो गलत कुरा हो । 

तपाइँहरु त्यस्तो ढुक्क चाहिँ कसरी हुनुहुन्थ्यो ?

आफैँ प्रधानमन्त्री हुने हुँदाखेरि पो टोपी हातमा लिएर कुद्छ त । तिमिहरुमध्ये को खाने प्रधानमन्त्री खान आउ, हामी समर्थन गर्छौँ । गठबन्धन रहेसम्म कसैसँग कुरा गर्दैनौँ भनेर त हामीले खुला भनेका छौँ त । 

जे भए पनि कांग्रेसले विश्वासको मत दिएपछि आशंका बढेको भनिएको छ । यसमा कांग्रेसले आशंका सिर्जना गरेको हो कि प्रचण्ड र ओलीकै बीचमा विश्वास कायम हुन सकेको छैन ?

अहिले एमाले, प्रचण्ड, सात दलीय गठबन्धन –त्यसमा शंका आशंका केही छैन । हामीले सहज ढंगले यस्तो यस्तो हुन्छ भनेर बसेका छौँ । त्यसमा शंका रहने कुरै छैन । कांग्रेसले चाहिँ एउटा चलाखी गर्न खोजेको छ । हाम्रो अध्यक्षले त संसदमै बोल्नुभयो नि ! 

सदासयतापूर्वक समर्थन गरेको भए ‘थ्यांक्यु भेरि मच’ । कुनै योजना अन्तर्गत बल्छी हानेको भए केही पर्ने वाला छैन भन्नुभयो नि ! कुरा त्यही हो । 

कांग्रेसले स्पेस क्रियट गर्न खोजेको हो । यो सबैले बुझ्ने कुरा हो । त्यो स्पेस भनेको दुई नेताका बीचमा अविश्वास पैदा गर्न सकियो भने लाभ भइहाल्छ कि भन्ने प्रयत्न हो । 

कांग्रेस खेलिरहेको अवस्थामा तपाइँहरु सभामुख र राष्ट्रपति जित्नेमा ढुक्क हुनुहुन्छ ?

एमालेले नजित्नुपर्ने कुनै कारण छ र ? तपाइँहरुलाई पनि यसमा आशंका छ र ? सत्ता समीकरणमा रहेकाहरुले एमालेका उमेदवार वा सत्ता समीकरणभित्रको उमेदवारलाई भोट हाल्नेमा कुनै शंका छ र ? यही आशंका सिर्जना गर्न खोजेको हो कांग्रेसले । त्यसकै जवाफ दिनुभएको हो हाम्रोअध्यक्षले । 

त्यसोभए कांग्रेसले बुद्धि नपुर्‍याएर सत्ता गुमायो बढी बुद्धि पुर्‍याएर विश्वासको मत दिँदा राजनीतिक इज्जत पनि गुमायो भन्ने निस्कर्ष हो ?

केही पाइन्छ, यो खालको अपेक्षा राखेर उहाँहरुले मतदान गर्नुभएको हो भने त्यो चाहिँ गलत गर्नुभयो भन्ने लाग्छ । 

किन, एमाले कांंग्रेसको स्थानमा थियो भने सहजतापूर्वक प्रमुख प्रतिपक्षको स्थानमा रहन्थ्यौँ र चाहिँ त्यसमा कुनै यो खालका खेती खेल्नेतिर लाग्ने थिएनौँ । 

जतिसुकै लोकतान्त्रिक भनिए पनि कांग्रेसले त लोकतान्त्रिक चरित्र त गुमाउँछ नि त बेलाबेलामा । कांग्रसले १७ महिना सरकार संचालन गरेको हेर्दा त्यहाँभित्र बढी नै उकुस् मुकुस् देखियो नि हैन र ?

हामी चाहि विपक्षी पार्टी हौँ । कांग्रेसको पराजयमा हामी हाम्रो जित देख्छौँ । यी दुईवटा पार्टीका बीचमा प्रतिस्पर्धा हो । नेताको हिसावले दुईवटा नेताका बीचमा प्रतिस्पर्धा हो– सीधा कुरा हो । यसमा लुकाउनुपर्ने कुनै कुरा नै छैन ।

कांग्रेससँग सत्ता साझेदारी चाहिँ अब गर्नुपर्दैन ?

कांग्रेससँग त सत्ता साझेदारी गर्नुपर्ने जरुरी नै भएन । कांग्रेस प्रमुख प्रतिपक्ष बन्नुपर्थ्यो । एकदम तातोपानीमा डुबेर चिसोपानीमा नुहाएर आएको विपक्षी जस्तो भयो कांग्रेस । किनभने उसले प्रमुख प्रतिपक्षको इज्जत पनि राखेन । उसले आफूलाई अझ गिराएर आयो । उसले जे हैसियत पाउने हो त्यहीमात्र पाउने हो अब । 

अन्तिममा प्रचण्डले ओलीसँग सुरक्षित महसुस गर्न सकेनन् भने राजनीति के हुन्छ नि ?

अहिले त प्रचण्ड र केपी शर्मा ओलीका बीचमा सहकार्य सुरु भएको छ– दुईवटा ठुला नेताका हिसावले । 

सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, जसपा र नागरिक उन्मुक्तिसहित सामेल छन् । सातवटा पार्टीका सात जना नेताका बीचमा एकप्रकारको समझदारी छ । त्योअनुसार नै उहाँहरु अघि बढ्नुभएको छ । त्यसमा धेरै ‘हाइपोथेटिकल’ प्रश्न खडा गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन । 
 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय